डा. पीताम्बर शर्माको ओली विरोधी अस्त्र ?

प्राडा बद्रीविशाल पोखरेल

माओले भनेझैँ पढ्नु भनेको देश र जनताको सेवा हो भन्ने तिनले पढेका छैनन् । पढे पनि माओत्सेतुङलाई राम्ररी बुझेका छैनन् । बुझे पनि त्यसलाई आत्मसात् गरेका छैनन् । माओबारे नबुझ्ने यस खालका मानवलाई यो लेखक ह्रस्व बुद्धिजीवी मान्छ ती दीर्घ र प्लुत्त त हुँदै होइनन् ।

प्रसिद्ध दार्शनिक सुकरातले भन्नुभएको थियो, ‘म एउटै कुरा जान्दछु त्यो के हो भने म केही जान्दिनँ ।’ तर यो देशका प्राडा पीताम्बर शर्मा नामका कथित प्राज्ञ भने भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीजस्तो राजनेतालाई इतिहास नबुझ्ने, नपढ्ने भन्दै महाअज्ञानी भनेर एक छापा पत्रिकामा बिलकुल सफेद झुट र पीत प्रवचन गरेर आफ्नै बौद्धिक हुर्मत लिँदै थिए । अझ शर्माले अझ अघि बढेर ओलीजस्ता इतिहास नपढ्ने र नबुझ्ने मानिस इतिहासबाट सरापिन्छन् र यो कुरा ओली बुझ्दैनन् भन्दै आफू मात्र महाज्ञानी र बुझ्झकी भएको एक पीत, प्रलाप प्रवचन गर्दै थिए । एउटा क्ुरा पीताम्बर शर्माजस्ता नामका अगाडि अनेक सिङ र पुच्छर जोडेका केही प्राडा र प्राज्ञहरू सौरभजस्ता बहुआयामिक विशिष्ट विद्वान्हरूका अगाडि घुँडाभन्दा माथि देखिँदैनन् । तर, यो कुरा सबैमा लागू हुन्छ भन्ने कुरा किमार्थ होइन ।

यस्ता उच्च विज्ञ डिग्रीयुक्त सिङहरूलाई डा. शर्माले पशुझैँ प्रयोग गरेको देख्दा यस लेखकलाई हुनसम्मको लाज र सरम भयो । केही मान्छे भातका लागि मात्र पढ्छन् । यस्ता मानिसहरू नामका अगाडि वा पछाडि जुन सिङपुच्छर जोड्छन् । त्यो पनि घिउभात, मासु भात खान र पदोन्नतिका लागि गर्ने गर्छन् । माओले भनेझैँ पढ्नु भनेको देश र जनताको सेवा हो भन्ने तिनले पढेका छैनन् । पढे पनि माओत्सेतुङलाई राम्ररी बुझेका छैनन् । बुझे पनि त्यसलाई आत्मसात् गरेका छैनन् । माओबारे नबुझ्ने यस खालका मानवलाई यो लेखक ह्रस्व बुद्धिजीवी मान्छ ती दीर्घ र प्लुत्त त हुँदै होइनन् । ती र त्यस्ता मनुवाहरू कुनै एक विषयमा विद्यार्थीका लागि जान्ने सुन्ने कहलिएर जहाँत्यहाँ जव अनावश्यक रूपमा आधा गाग्रोझैँ छचल्किन्छन् तव के बुझ्नु भने ती खासै जान्दैनन् ।

तर, राजनेता ओलीले पीताम्बर शर्माले झैँ भातका लागि, व्यक्तिगत सुख सयल गर्नका लागि, पदोन्नतिका लागि पारिवारिक सुखका लागि, प्रमाण पत्र प्राप्त गर्नका खातिर पढ्नु भएको होइन । ओलीको अध्ययन, गहन विवेचन वा विश्लेषण कुनै परीक्षा पास गर्न होइन । कुनै क्लासको परीक्षामा मेरिट वा डिस्टिक्सन ल्याउन होइन । उहाँको अध्ययन देश, जनता र जनजीविका हितका खातिर हो । उहाँले कुनै वृत्ति विकासका लागि पढेको पनि होइन । सेवा निवृत्त भएपछि निवृत्तिभरण खाएर चुपचाप हात बाँधेर बस्न त झन् हुँदै होइन । उहाँको पढाइ देश र जनताको सर्वोपरि हितका लागि हो । उहाँको बहुआयामिक ज्ञानका अगाडि मैँ हुँ भन्ने शर्माजस्ता उच्च डिग्रीधारी लिलिपुट सावित हुन्छन् र भएका छन् । अहिले त प्राडा शर्माजस्ता पढेका भनिएका व्यक्तिहरू ओलीको बहुआयामिक गहन ज्ञानका अगाडि उभिँदा मात्र तिनको माथबाट खलखली पसिना छुट्छ । कि एकपटक हिम्मत गर्ने हो डा. साहेब ?

शर्माका बारेमा यति साह्रो यस लेखकले लेख्ने थिएन तर तारन्तार ओली विरोधी अतथ्य, अवास्तविक र एक हिसावले कु तर्करूपी अस्त्र बर्साउन थालेपछि नेपालका कतिपय प्राडा, प्राज्ञ र विज्ञकै इज्जतका लागि पनि गम्भीर तीर झैँ कटाक्ष आलेख लेखिएको हो । शर्माले झैँ सबै विज्ञले यसरी मुख छाड्दैनन् । तिनले कलमलाई झट्टी, लौरो र कटबाँसका रूपमा प्रयोग गर्दैनन् । तिनको गालीको पनि शिष्ट, विनम्र र शालीन भाषा हुन्छ ।
नेपालका हरेक डिग्रीधारी मै हुँ भन्नेलाई औपचारिक शिक्षा वा प्रमाण पत्र नभएका प्रकाण्ड विज्ञ नयराज पन्तको नाम सुझाउन चाहन्छु । त्यस्तै पन्तका शिष्यहरू क्रमशः महेशराज पन्त, दिनेशराज पन्त, ज्ञानमणि नेपालजस्ता नामहरू प्राडा पीताम्बर शर्मालाई सम्झाउन चाहन्छु । यिनले शर्मा जस्ता घमण्डी व्यक्तिहरूलाई विषयगत ज्ञानमा एक छिन पनि टिक्नखान दिँदैनन् । बोल्दा अलि होस गर्नुपर्छ ।

ओलीले कर्णाली प्रदेशको एमाले पार्टीगत आन्तरिक विवादमा देशभित्र प्रदेश हुन्छ भन्ने आशय अभिव्यक्त गर्नुभएको थियो तर पीताम्बर शर्माले यस कुरालाई जवर्जस्ती बटारेर ओलीलाई संघीयता विरोधी भन्ने दुस्साहस गरे आफ्नो अल्प ज्ञान प्रदर्शन गरे । के नेपालको संघीयता भनेको रुसको झैँ हो ? अनि प्रदेश देशभित्र हुन्छ कि छुट्टै हुन्छ प्रभु ?

बिबिसी नेपाली कार्यक्रमको एक अन्तर्वार्तामा शर्माले ओली सरकारले विकासका नाममा केही पनि नगरेको सम्म पनि बीच मुखबाटै प्याच्च बोले । विगतका अरू सरकारले झैँ निमयित रूपमा विकासे काम गरेको अयथार्थवादी कुरा गरे । तर उनले विकास निर्माणका नाममा पञ्चमीका पाइला घिसारेझैँ चरम अल्छी गर्ने विगत सरकार र अत्यन्त द्रुतगति र तेज रफ्तारमा तत्कालीन, अल्पकालीन र दीर्घकालीन देश विकासका क्षेत्रमा गरेका कामहरू देख्न सकेनन् । केही बुद्धिजीवी, लेखक, विश्लेषक र सम्पादक भनाउँदाहरू ओलीको बौद्धिक, प्राज्ञिक तथा गहन चिन्तनगत महान् क्षमताबाट अत्यन्त त्रसित, भयभित तथा मूच्र्छित भएझैँ देखिन्छन् । नत्र यसरी यतिविधि ओली विरोधी कुतर्क गर्ने थिएनन् । शर्माले प्रधानमन्त्री ओलीको विरोध गरे, त्यसमा धरै आपत्ति पनि नगरौँ तर शर्मा र उनीजस्ता ज्ञान र विज्ञानका केही पण्डितहरूले अत्यन्त दुराग्रह बस सम्मानित राष्ट्रपतिलाई समेत कटुआलोचना गर्न बाँकी राखेनन् । शर्माले परमादेशबाट प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको फैसलामा ठाउँठाउँ ल्याप्चे लगाउँदै नैतिकता भए राष्ट्रपतिले राजीनामा गर्नुपर्ने हो पनि भने । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति मदनमणि दीक्षितले उतिबेलै पूर्वराजा वीरेन्द्र शाहले भेटेर उहाँलाई तपाईं भनेर सम्बोधन गरेर कुराकानी गर्दा दीक्षित फुरुक्क परेर ०४६ सालको आन्दोलनको पूर्व सन्ध्यामा राजालाई सबै अधिकार जनतालाई दिनुहुन्नसम्म भनेको जननेता मदन भण्डारीको एक वक्तव्यमा उल्लेख छ । त्यसैले रैतान हुन बानी परेकाहरू, दास संस्कृतिमा अभ्यस्तहरू, राजालाई ख्वामित प्रभु तथा गरिवप्रचर भन्न बानी परेकाहरू र आपूmलाई अनुचर, भृत्य, भरौटे र हुक्केबैठकै हुन र भन्न रुचाउनेहरूलाई लोकतान्त्रिक गणतन्त्र अपाच्य भएको होला । सप्तकोसीमा पैसा चढाउने र अत्यन्त रुढीग्रस्त पछौटे चिन्तन पक्षधर केही पठित, विज्ञ वा विद्वान्हरू गणतन्त्र विरोधी हुँदैमा आमसचेत जनता र बौद्धिक समुदाय गणतन्त्र विरोधी हुँदैनन् तिनीहरू स्वाधीन नागरिक हुन नै चाहन्छन् । पीताम्बर शर्माले ओलीलाई सबैभन्दा अहंकार र दम्भ देखाउने धेरै उद्घाटन गर्ने, गफाडी, आदि भनेर गाली गरिरहँदा रहेछन् । यस्तै गाली गर्नका लागि मात्र शर्माले यति धेरै पढ्नुपर्ने पनि थिएन । र पुच्छर मात्र बल्ने जुनकिरीले झलमल्ल झुल्किने जुन देखेर रिसले मुर्छा पर्ने शर्मासित धेरै के लेखिरहनु र ?

प्रतिक्रिया