राष्ट्रनिर्माता भानुभक्त आचार्य

नेपालीहरूका लागि हरेक वर्षको असार २९ गते विशेष दिन हो । १८७१ असार २९ गते राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्म भएको थियो । भानुभक्तलाई राष्ट्रिय विभूतिका अतिरिक्त आदिकविको सम्मान पनि दिइएको छ । उनको जन्मदिनका अवसरमा हरेक वर्ष सरकारीस्तरमै विभिन्न कार्यक्रमहरू गरिन्छ । नेपालमा मात्रै होइन विश्वभरी जहाँजहाँ नेपाली छन्, त्यहाँत्यहाँ भानु जयन्ती विशेष कार्यक्रमका साथ मनाइन्छ । नेपाली भाषा साहित्यका क्षेत्रमा काम गर्नेहरूले अझ विशेष रूपमा भानुभक्तको स्मरण गर्छन् । कुनै पनि महान व्यक्तिको स्मरण गर्दै विविध कार्यक्रम गर्नुको उद्देश्य नयाँ पुस्तालाई प्रेरणा दिँदै जानु हो । भानुभक्तको योगदानबारे नयाँ पुस्तालाई जानकारी दिँदै जाने उद्देश्यले सरकारले हरेक वर्ष भानु जयन्ती मनाउने परम्परा सुरु गरेको हो । तर, भानुभक्तको खास योगदानलाई भने ओझेलमा पारिएको देखिन्छ । आदिकविका रूपमा मात्रै उनको स्मरण गर्ने गरिएको छ । यथार्थमा भानुभक्त कवि मात्र नभएर नेपाली भाषाका ढुकढुकी हुन् । भानुभक्तले भन्दा बेजोड कविता लक्ष्मीप्रसाद देवकोटाले लेखेका छन् । भानुभक्तभन्दा पहिला पनि नेपाली भाषामा कविता लेखिएका थिए । त्यसैले आदी कविको रूपमा मात्रै भानुभक्तको स्मरण गर्नु नेपाल निर्माणको मर्म नबुझ्नु हो ।

कुनै पनि देश निर्माण हुनका लागि भूगोलको महत्व जति हुन्छ, त्यो भूगोलभित्र बस्ने जनताको साझा भाषाको महत्व त्यो भन्दा बढी हुन्छ । भूगोल र जनताको साझा भाषाले नै देश निर्माण हुने हो । वर्तमान नेपालको भौगोलिक संरचना निर्माण गर्न पृथ्वीनारायण शाहको जति योगदान छ, तत्कालीन ‘खस कुरा’लाई सबै नेपालीको साझा भाषाका रूपमा ‘नेपाली भाषा’ निर्माण गर्न भानुभक्त आचार्यको अझ ठूलो योगदान छ । नेपालको वर्तमान भौगोलिक स्वरूपको निर्माण गर्ने क्रममा पृथ्वीनारायण शाहको नेतृत्वमा धेरैको बलिदानी भएको छ । सामूहिक प्रयत्नलाई पृथ्वीनारायण शाहले नेतृत्व दिएका हुन् । तर खस कुरालाई सबै नेपालीको साझा भाषा बनाउन भानुभक्त आचार्यको सर्वोपरी भूमिका छ, अझ एकल भूमिका छ भन्दा पनि धेरै ज्यादा अतिसयुक्ति हुँदैन । जसरी नेपाल एकीकरणका योगदाताका रूपमा पृथ्वीनारायण शाहको स्मरण गर्दा हज्जारौं वीर योद्धाहरूको नाम आउँछ, त्यसरी नै खस कुरालाई नेपालीको साझा भाषा बनाउने योगदाता भानुभक्तको चर्चा गर्दा मोतिराम भट्टको नाम छुटाउनै मिल्दैन । स्पष्ट रूपमा भन्नुपर्दा पृथ्वीनारायण शाह राज्यनिर्माता हुन्, भानुभक्त आचार्य राष्ट्रनिर्माता हुन् । दुवैको योगदानले देश निर्माण भएको हो ।

करिव ५४ वर्ष उमेर बाँचेका भानुभक्त आचार्यले खस कुरामा रचना गरेका कीर्तिहरू जनजिब्रोमा झुन्डिँदै जाँदा नेपाली भाषाको रूप लिएको यथार्थतालाई बिर्सनु हुन्न । उनका भन्दा धेरै साहित्यिक कीर्ति लेख्नेहरू नेपालमा प्रसस्त छन् । तर, भानुभक्तको जमानाको तनहुँको त्यो दुर्गम गाउँमा कलम, मसी तथा कागज नै दुर्लभ थियो । ध्वा“सोको मसी बनाएर निगालोको कप्टेरामा चोप्दै बाँसको सुप्लोमा लेख्नुपर्ने, धुलौटे पार्टीमा लेख्नुपर्ने युग थियो त्यो । यसरी नै भानुभक्तले कविता लेख्दै आफ्ना आसपासमा बस्नेहरूलाई सुनाउने गर्थे । घरमै बसेको बेला नेपाली कागजमा पनि लेखे होलान् । तर भौतिक रूपमा संग्रहित भएनन् । भानुभक्तका कविता जसले एकपटक सुन्थ्यो, उसको दिमागमा बसिहाल्थ्यो । केही दशकसम्म भानुभक्तका रचना कागजी अभिलेखमा होइन मान्छेहरूको स्मरण तथा जनजिब्रोमा जीवित रहे । भानुभक्तको निधन भएको करिब दुई दशकपछि मोतिराम भट्टले जनजिब्रोबाट संकलन गरी कागजमा अभिलेख गराए । छापाखानाबाट प्रकाशित गराए । दशकौंसम्म जनजिब्रोमा झुन्डिने यति धेरै कविता रचना गर्नसक्नु चानचुने प्रतिभा थिएन ।

त्यो पनि समाजले अलि हेय ठान्ने खस कुरामा । केबल खस–आर्य समुदायभित्र पनि दलितले बाहेक अरूले औपचारिक रूपमा साहित्य सिर्जना गर्न हच्किनुपर्ने अवस्थाको भाषा आज नेपालका सबैजसो जातजाति तथा समुदायको भित्री तहसम्म फैलिएका कारण नेपाली पहिचान बृहत हुँदै गएको छ । आज नेपाली भाषाका लोक साहित्यमा डुब्नेहरूको सूची पल्टाउने हो भने खस–आर्य समुदाय भन्दा जनजातिहरूको नाम धेरै देखिन्छ । हाम्रो राष्ट्रिय गानका रचयिता नै प्रदीपकुमार राई हुन् । उदाहरणका रूपमा यहाँभन्दा धेरै नाम प्रस्तुत गर्नु आवश्यक छैन । त्यसैले भानुभक्तलाई आदकविका रुपमा मात्रै होइन राष्ट्रनिर्माताका रूपमा समेत सम्मान गर्नु आवश्यक छ ।

प्रतिक्रिया