सेयर बजारप्रति बढ्दो आकर्षण र जोखिम

एनपी रिजाल

आर्थिक लाभ आर्जन गर्ने सबै लगानीकर्ताको उद्देश्य पूरा हुँदैन । कतिपय अवस्थामा विश्लेषण फेल खान्छ त कहिलेकाहीँ लगानीकर्ताले जोखिम थाहा पाउँदापाउँदै पनि पछारिन्छन् । सानो बजार र लगानीको जोखिम कायम भए पनि पछिल्लो समयमा नेपालमा सेयर बजारप्रतिको आकर्षण बढ्नुलाई पुँजी बजारप्रति नेपाली जनताको चेतना पनि बढ्दै गएको अनुमान सकिन्छ ।

केही वर्ष यता नेपाली जनतामा सेयर बजारको आकर्षण ह्वात्तै वृद्धि भएको छ । अझ कोरोना संक्रमण काल सुरु भएपछि सेयर कारोबारबारे थोरबहुत ज्ञान भएका नेपालीहरूले आफूले बचत गरेको केही रकम लगानी गर्न सुरक्षित क्षेत्रको रूपमा सेयर बजारलाई हेरेका छन् । सेकेन्डरी सेयर मार्केटमा महिला लगानीकर्ताको संख्या पनि तीन लाख कटेको छ । कोरोना महामारीको अन्त्यको निश्चित बाटो नदेखिएको र कोरोनाको नयाँ नयाँ भेरियन्ट देखा पर्ने क्रम जारी भएसँगै संक्रमण दरमा वृद्धि हुँदै जाँदा पुनः देश बन्दाबन्दीमा जाने कारण कहिले आर्थिक गतिविधि पुरानै लयमा फर्केला ? कहिले सुरक्षित रूपमा आफ्नो सीप र क्षमता अनुसारको व्यवसायमा लगानीे गरुँला ? जस्ता प्रश्नहरू उब्जिरहन्छन् तर स्पष्ट जवाफ कोहीसँग छैन । त्यस्तो अवस्थामा आफूसँग भएको रकम लगानी गरी कसरी सुरक्षित र छिटो लाभ लिने त्यस क्षेत्रको खोजीको उपज हो सेयर बजारप्रति नेपालीको बढ्दो आकर्षण ।

नेपालको सेयर बजारको आकार सानो छ । सेयर बजारमा विदेशी लगानीकर्ता र कम्पनी प्रवेशको ढोका बन्द रहेको कारण लगानीको क्षेत्र स्वदेशी कम्पनी हुन भने लगानीकर्ता नेपाली नागरिक मात्र हुन् । नेपालको अर्थतन्त्रको आकार पनि त्यति ठूलो छैन । आर्थिक वर्ष ०७७/७८ मा नेपालको कुल ग्रार्हस्थ उत्पादन ४२ खर्ब ६६ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । अर्कोतिर नेपालभित्र ठूला उत्पादनमूलक उद्योगको संख्या न्यून छ । कुल अन्तर्राष्ट्रिय व्यापारमा आयातको हिस्सा ज्यादा छ । लगानीकर्तालाई उद्योगधन्दामा लगानी गर्नुभन्दा विदेशबाट आयात गरी व्यापार गर्नु कम जोखिम धेरै मुुनाफा छ । सेयर बजारमा देखापर्ने उतारचढावले लगानीकर्ताको लगानी रकम कति सुरक्षित छ निर्धारण हुन्छ । सरकारको बित्तीय नीति (बजेट) देखि कस्तो व्यक्तित्व भएको नेता अर्थमन्त्रीमा नियुक्त भएको छ, कुन राजनीतिक दल सरकारमा छ, अन्तर्राष्ट्रिय जगतमा तेल र सुनको मूल्यमा आएको उतारचढावजस्ता तत्वहरूले लगानीकर्ताको मानसिकता प्रभावित हुने गर्छ ।

बढी विश्लेषक हुनुपर्छ
सेयर बजारमार्फत कुनै कम्पनीमा व्यक्तिले लगानी गरेर नाफा आर्जन गर्ने हो । कम्पनीले सर्वसाधारण जनताका लागि खुल्ला गरेको आइपिओको खरिद गर्दाको अवस्था होस् या सेकेन्डरी सेयरको खरिद गर्दाको अवस्था होस् सफल लगानीकर्ताले कुन कम्पनीको सेयरको अवस्था कस्तो किसिमको छ, भविष्य कस्तो छ जस्ता विषयमा धेरै विश्लेषण गर्छ । वृद्धिको दिशामा रहेको र केही राजनीतिक उतारचढाव, अन्तर्राष्ट्रिय क्षेत्रमा आएको आर्थिक हलचलबाट कम प्रभावित हुने कम्पनीप्रति बढी नै आकर्षण हुन्छ । लगानीकर्ताले वित्तीय कम्पनीमा लगानी गरुन् या हाइड्रोपावर कम्पनीमा लगानी गरुन् या त निर्माणसम्बन्धी कम्पनीमा नै लगानी गरुन्, उनीहरू उद्यमी होइनन् केबल पर बसेर विश्लेषण गर्ने विश्लेषक मात्र हुन । कम्पनीको सेयरको उतारचढावको विश्लेषण गरेर आफूसँग भएको पैसा लगानी गर्नेहरू कम्पनी नाफामा जाँदा उत्साहित हुन्छन् तर घाटामा जाने विश्लेषण गरे वा सुइको पाए रातारात सेयर बेच्न तत्पर हुन्छन् । कम्पनीको वास्तविक जोखिम बहन गर्ने हैसियत सेयर लगानीकर्ताले राख्दैनन् । सेयर लगानीबाट लाभ लिन लगानीकर्ता चतुर विश्लेषणकर्ता हुनु आवश्यक छ न कि कम्पनीप्रतिको भावनात्मक सम्बन्ध ।

पछ्याउने प्रवृत्ति हावी छ
नेपालीको एउटा गज्जबको स्वभाव छ अरूको देखासिखी गर्ने । कसैले कुनै व्यवसायबाट आर्थिक लाभ आर्जन गर्दैछ भने अन्य व्यक्तिले पनि त्यही व्यवसाय गर्नुपर्छ । त्यस व्यवसायको संरचना, उक्त व्यवसाय सञ्चालन गर्ने क्षमता छ या छैन ज्ञानको कमी छ । तर उसले खाली आर्थिक लाभ आर्जन गर्ने लक्ष्य राखेको हुन्छ । नेपालमा पछिल्लो समयमा सेयर बजारमा लगानी गर्नेहरू मध्ये धेरै लगानीकर्ता सही विश्लेषक नभएर पछ्याउने प्रवृत्ति भएका छन् । आपूmसँगैको साथी या छिमेकीले सेयर बजारबाट प्राप्त लाभ देखेको लगानीकर्ताले पनि त्यसरी नै आर्थिक लाभ लिन खोज्छ । विनाउद्यम कम्पनीमा लगानी गरी सबै व्यक्तिले आर्थिक लाभ आर्जन गर्न खोज्ने देखाबटी प्रवृत्ति छ भने उक्त लगानीकर्ताको लगानी जोखिममा पर्छ ।

दीर्घकाल कि अल्पकाल निर्धारण गर्नुपर्छ
सेयर बजारभित्र डुब्दै जाने, मुख्य पेसा नै सेयर कारोबार गर्ने बनाउने र दीर्घकालसम्म सेयरबजारमा डुब्ने कि छोटो समयमा नै सेयर बजारबाट नाफा आर्जन गर्ने त्यस कुरामा लगानीकर्ता निश्चित हुनुपर्छ । कतिपय लगानीकर्तामा धैर्यताको कमी हुन्छ । एउटा पेसाबाट दीगो रुपमा काम गर्न नसक्ने र आर्थिक लाभ आर्जन गर्नका लागि पर्खन नसक्ने लगानीकर्ताका लागि सेयर बजारमा लगानी दीगो नहुन सक्छ । कुनै एउटा कम्पनीमा सेयर लगानी गर्ने अनि चुप लागेर बस्ने, विभिन्न कम्पनीको सेयर मूल्यको प्रवृत्तिको विश्लेषण गरी त्यही अनुसार आफ्नो चाल चल्ने या एकभन्दा बढी कम्पनीमा लगानी गरी दीर्घकालसम्म सेयर बजारमा टिकेर खेलाडी बन्ने मानसिकता निर्धारण हुनुपर्छ ।

जीविकोपार्जनको दह्रो पेसा हुनुपर्छ
कुनै पनि व्यवसाय नगरी या कहीँकतै जागिर नै नखाई खाली पैसा ब्याजमा लगानी गरी जीविकोपार्जन गर्ने मानिसहरू जस्तै सेयर बजारमा मात्र लगानी गर्ने अनि त्यसबाट नै जीविकोपार्जन पनि गर्ने सोच पनि गलत हुन सक्छ । बिनाधितो व्यक्तिलाई उच्च ब्याजमा पैसा ऋण दिने अनि आर्थिक लाभ आर्जन गर्नेहरूको पैसा डुबेजस्तै कम्पनीको सेयरमा गरेको लगानी पनि डुब्न सक्छ । एक÷दुईवटा कम्पनीमा गरेको लगानी डुबे पनि जीवन निर्वाह गर्न कुनै समस्या छैन भने लगानीकर्ता पर्ख र हेरको नीतिले सेयर बजारमा लगानी गर्न सक्छ । कतिपय कम्पनीको सेयर मूल्यमा वृद्धि हुन वर्षौं कुर्नुपर्ने हुन्छ भने कुनै कम्पनीको सेयर एक वर्षभित्र नै उच्च बिन्दुमा पुग्न सक्छ । ठूला लगानीकर्तालाई सेयर बजारको जोडघटाउले जीवन निर्वाहमा असर नपारे पनि निम्न आर्थिक अवस्था भएका, अन्य वैकल्पिक आयको दीगो स्रोत नभएका र नयाँ लगानीकर्ताको हकमा ऋण खोजेर सेयरमा लगानी गर्नु बढी जोखिमयुक्त हुन्छ ।

आर्थिक लाभ आर्जन गर्ने सबै लगानीकर्ताको उद्देश्य पूरा हुँदैन । कतिपय अवस्थामा विश्लेषण फेल खान्छ त कहिलेकाहीँ लगानीकर्ताले जोखिम थाहा पाउँदापाउँदै पनि पछारिन्छन् । सानो बजार र लगानीको जोखिम कायम भए पनि पछिल्लो समयमा नेपालमा सेयर बजारप्रतिको आकर्षण बढ्नुलाई पुँजी बजारप्रति नेपाली जनताको चेतना पनि बढ्दै गएको अनुमान सकिन्छ ।

[email protected]

प्रतिक्रिया