विश्वलाई चिनियाँ राष्ट्रपतिको सन्देश : पृथ्वी एउटा घर हो, कसलै एक्लो महसुस गर्नु पर्दैन

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले राजनीतिक दलहरुले जनताको आवाज सुन्नुपर्ने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक नेताहरूको भर्चुअल शिखर सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिवसमेत रहेका सीले उक्त सम्मेलनमा सम्बोधन गर्दै विभिन्न देशका राजनीतिक दलहरूलाई नेतृत्व गर्ने जिम्मेवारी बहन गर्न पनि आग्रह गरे । उनले सम्बोधनका क्रममा दलहरुले जनताको आवाज सुन्नुपर्नेमा जोड दिए । सम्बोधनका क्रममा सीले विभिन्न देशहरूलाई मानवजातिको साझा भविष्यका लागि एउटा समुदाय निर्माणको दिशामा बढाउन आग्रह गरे । ‘सबै मानव एकै छन् । पृथ्वी एउटा घर हो । साझा चुनौती सामना गर्दै अघि बढ्नु जरुरी छ’, उनले भने, ‘कोही पनि नागरिक वा कुनै देशले एक्लो महसुस गरेर समस्याको सामना गर्नु पर्ने छैन ।’
उनले संसार सानो रहे पनि यहाँ सँधै कडा प्रतिस्पर्धा भइरहने बताए । सीले साझा गन्तव्य र साझेदारीको दृष्टिकोणबाट विश्व विशाल रहेको चर्चा गर्दै जताततै सहयोगका अवसरहरू रहेकोमा नेताहरुलाई सचेत गराए ।

सीले विभिन्न मुलुकबीचको इतिहास, संस्कृति, प्रणाली, विकासस्तर फरक फरक भए पनि शान्ति, विकास, न्याय, निष्पक्ष, लोकतन्त्र, स्वतन्त्रतासमेत समस्त मानव जातिको साझा मूल्यमा विभिन्न मुलुकका जनताको साझा लक्ष्य रहेको पनि बताए । उनले राजनीतिक दल मानव जातिको साझा मूल्यको वकालतकर्ता हुनुपर्ने तर्क गरे । यही राजनीतिक मूल्यलाई व्यवहारमा उतार्ने बाटोबारे विभिन्न मुलुकको छनोटको सम्मान गर्दै समस्त मानव जातिको हितलाई व्यवहारमा उतार्ने अभ्यास गर्नुपर्नेमा पनि जोड दिएका छन् । राष्ट्रपति सीले विकास नै विश्वका विभिन्न मुलुकको अधिकार रहेको चर्चा गरे । उनले विकास केही मुलुकको विशेष अधिकार रहेको पनि उल्लेख गरे । राजनीतिक दलले विभिन्न मुलुकबीचको सहयोगलाई मजबुत बनाउँदै विश्व विकासको निष्पक्षता, प्रभावकारिता र तालमेललाई उकास्नुपर्ने उनले व्याख्या गरे ।

सम्बोधनका क्रममा उनले कोरोना भाइरस महामारीको सामना गर्न विभिन्न देशका राजनीतिक दलहरूले सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले महामारीको राजनीतिकरणको विरोध गर्नुपर्ने पनि बताए । मानव स्वास्थ्य समुदायको निर्माणलाई संयुक्त रुपमा अघि बढाउनुपर्ने भन्दै आतंकवाद लगायत अन्य मानव जातिको शत्रुको सामनामा राजनीतिक दलहरूले हातेमालो गर्नुपर्नेमा पनि जोड दिएका छन् । सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना भएको बहुपक्षीय कुटनीतिक कार्यक्रम हो । १६० भन्दा बढी मुलुक र ५०० भन्दा बढी राजनीतिक पार्टी, संगठनका नेताहरु र १० हजारभन्दा बढी राजनीतिज्ञहरुले सम्मेलनमा भाग लिएका छन ्। यस सम्मेलनको मुख्य उद्धेश्य जनताका लागि सुखमय जीवन सिर्जना गर्नु रहेको चिनियाँ कम्युनिष्ट पार्टीले जनाएको छ । सम्मेलनमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका कयौँ नेताहरु भर्चुअल रुपमा सहभागी भएका थिए । उक्त सम्मेलनमा सहभागी नेताहरुलाई ५÷५ मिनेट समय बोल्न दिइएको थियो ।

प्रतिक्रिया