चल्न सकेन कर्णाली प्रदेशसभाको बाह्रौँ बैठक

सुर्खेत । कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको बाह्रौँ बैठक आज पनि चल्न सकेन । असार १ गते यता चारपटक स्थगित भएको सदन आज शुरु भएलगतै नेकपा (एमाले)ले अवरोध गरेको थियो । बैठक आरम्भ भएसँगै एमाले प्रदेशसभा दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले असार १ गते बजेट प्रस्तुत गरेको १० दिन बितिसके पनि सरकारले संसद्को गाम्भीर्य नबुझेको बरु सरकार प्रमुख मुख्यमन्त्रीले एमालेभित्रको आन्तरिक किचलोले संसद् चल्न नसकेको भ्रम छरेको भन्दै उनीप्रति रोष प्रकट गरे ।

एमालेको सांसदहरूको कारण संसद् अवरुद्ध नभएको प्रष्ट्याउँदै सचेतक शाहीले भने, ‘एमालेको राजनीतिक मुद्दा संसद्मा राख्दा सरकारले सुनुवाइ गरेन । फरक परिस्थितिमा मन्त्री भएकाले सर्वोच्च अदालतले पुनर्बहाली गरिसकेपछि एमालेको दलको सदस्यको रूपमा उपस्थिति हुन गरेको निर्देशन सरकार र सदनले लागु गरेन ।’

सचेतक शाहले सरकारले स्थानीय तहमा समपूरक, समानीकरण, विशेष अनुदान घटाएको तर सशर्त अनुदान प्रदेशको पैसा भएकाले बढाएर रु एक अर्ब २९ करोड ९९ लाख पुर्याएको र कार्यकर्ता भरणपोषण गर्नका लागि योजना बाँडेको टिप्पणी गरे । अवरुद्ध बैठक अगाडि बढ्न नसकेपछि सभामुख राजबहादुर शाहीले यही १३ गते दिउसो २ः०० बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।
– रासस

प्रतिक्रिया