इन्दिराको बायोपिकमा कंगना

मुम्बई । बेलाबेलामा विवादमा आइरहने बलिउड अभिनेत्री कंगना रनौट इन्दिरा गान्धीको बायोपिकको तयारीमा जुटेकी छन् । आफ्नो अभिनय र विवादित बयानका कारण चर्चामा आइरहने कंगना पछिल्लो समय एकपछि अर्को बायोपिकमा काम गरिरहेकी छन् । उनले यसअघि जयललिताको बायोपिकमा काम गरिसकेकी छन् । यो चलचित्र प्रदर्शनका लागि तयारी अवस्थामा छ ।

यसैबीच उनले इन्दिरा गान्धीको बायोपिकका लागि पनि तयारी सुरु गरेको जनाइएको छ । यसबारेमा अभिनेत्री कंगनाले सामाजिक सञ्जालमा भिडियो र तस्बिर सार्वजनिक गर्दै प्रास्थेटिकका लागि तयार भइरहेको जनाएकी छन् । सई कविरले निर्देशन गर्ने यस चलचित्रमा भारतको राजनीतिमा प्रभाव जमाएकी गान्धीलाई उतारिदंैछ । कंगनाले तस्बिर सार्वजनिक गर्दै आफ्ना लागि हरेक नयाँ भूमिका नयाँ यात्राको सुन्दर सुरुवात् भएको जिकिर गरेकी छन् । साथै यस चलचित्रका लागि उनले शरीर र अनुहारको स्क्यानसमेत गरेकी छन् । उनले कुनै पनि चर्चित व्यक्तिको बायोपिकमा काम गर्दा पर्दामा उसको चरित्र जीवन्त रुपमा उतार्न आवश्यक रहेको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

उनी अभिनीत तमिलनाडुकी मुख्यमन्त्री जयललिताको बायोपिक ‘थलाइवी २३’ अप्रिल महिनामा रिलिजको तयारीमा थियो । तर, कोरोनाको दोसो लहरका कारण यो चलचित्रको प्रदर्शन मिति हाललाई स्थगित गरिएको छ । यस्तै, अभिनेत्री कंगना चलचित्र ‘धाकड’ र ‘तेजस’ मा पनि काम गर्ने तयारीमा छन् । कंगनाको बलिउडका निर्माता, निर्देशक तथा कलाकारसँग विवादमा रहे पनि उनका हातमा कामको अभाव भने छैन ।

प्रतिक्रिया