उपाध्यायले ल्याए ‘दुई मुटु’

काठमाडौं । गीतकार डा. डिआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ को भिडियो सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’ को स्वर तथा संगीत रहेको उक्त गीतमा सञ्जय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । माइकल चन्दले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री अनु शाह र गीतकार डा. उपाध्यायको अभिनय छ । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् ।

निर्देशक चन्दले भने, ‘गीत जत्तिकै उत्कृष्ट भिडियो पनि बनेको छ । गीतको भिडियोले दर्शकको मन जित्नेमा आशा समेत लिएको छु ।’ भिडियो डिआर म्युजिक एण्ड क्रिएसनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतमा अत्यधिक माया गर्ने श्रीमती गुमाउँदाको पीडालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । डा. उपाध्यायले विविध क्षेत्र, वर्ग, पेशा र समुदायका विषयमा गीत लेख्दै आएका छन् । उनका २४ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका विषयसमेत कलात्मक रुपमा उधिनिएको पाइन्छ । उनले चाडपर्व, छोरी बिदाई, पर्यटन, स्वास्थ्य तथा योगसम्बन्धी, महिला प्रताडनासम्बन्धी, मजदुर, किसान र भरियासम्बन्धी लगायतका विभिन्न परिवेशका गीत ल्याएका छन् । उनका ११ उपन्यास र तीन गीतिपुस्तक पनि प्रकाशित छन् ।

प्रतिक्रिया