अस्मिताको मृत्यु प्रकरण : मोबाइल फेला पर्याे, दोषी अझै भेटिएन

डडेलधुरा । कोरोना बिरुद्धको खोप बोकेर जोगबुडा अस्पताल हिडेकी परशुराम नगरपालिका –८ स्थित जमेरानी आधारभुत स्वास्थ्य सेवा केन्द्रकी कार्यालय सहयोगी अस्मिता धामीको हत्या भएको भन्दै स्थानीयले परशुराम नगरपालिका घेराउ गरेका छन् । पीडित घरपरिवार तथा आफन्तले अस्मिताको अस्मिता लुटियो भन्दै दोषी पत्ता लगाउन माग गरिरहेका छन् । २६ वर्षीया कार्यालय सहयोगी अस्मिताको घरबाट हिँडेको चार दिनपश्चात विभत्स अवस्थामा जंगलमा ५ गते शनिबार शव भेटिएको थियो । शव भेटिएको तीन दिनपछि सोमबार जोगबुडा अस्पतालमा शव परीक्षण गरिएको छ ।

शवको पोस्टमार्टम रिर्पोटमा उनको बलात्कार र हत्या भएको भन्ने विषयमा कुनै तथ्य फेला नपरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिएका छन् । अब उनको भिसेरा परीक्षण गरिने जनाएको छ । २ असारमा आधारभूत स्वास्थ्य इकाइ केन्द्र जमरानीबाट कोरोनाको वचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनि निस्केकी अस्मिताको शव शनिबार परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो । मंगलबार आफन्तले शव बुझेर हिन्दु धार्मिक परम्पराअनुसार अन्त्येष्टी गरेपछि प्रहरीले बल्ल २६ वर्षीया अस्मिता धामी हत्या प्रकरणको अनुसन्धान सुरु गरेको हो । २ असारमा कोरोना बिरुद्धको खोप बोकेर घरबाट हिँडेकी अस्मिताको चार दिनपछि गत शनिबार विभत्स ढंगले हत्या गरेको अवस्थामा जंगलमा शव भेटिएपछि संघीय प्रहरी, सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान टोली जोगबुडा पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट डिएसपीको नेतृत्वको टोली पनि सोही दिन जोगबुडा पुगे पनि चार दिनपछि मात्रै प्रहरीले मंगलबारदेखि घटनाको सुक्ष्म अनुसन्धान सुरु गरेको हो । ‘आफन्तहरूले शव नबुझुन्जेलसम्म दिनहँुजसो कार्यालय घेराउ र आन्दोलनका कार्यक्रमहरू भइरहेकाले हामीले अनुसन्धान सुरु गर्न सकेनौँ,’ संघीय प्रहरी इकाई कार्यालय महेन्द्रनगरबाट अनुसन्धान टोलीको नेतृत्व गरिरहेका डिएसपी शाहीले भने, ‘पोस्टमार्टमपछि शवको अन्त्येष्टी भएकाले मंगलबारदेखि विभिन्न समूहमा प्रहरी टोली परिचालन गरेर अनुसन्धान थालनी गरेका छाँै ।’

पहिलो दिनको अनुसन्धानका क्रममा प्रहरीले मृतक अस्मिता धामीले प्रयोग गरिरहेको मोबाइल भेट्टाएको छ । शव भेटिएको स्थानबाट झण्डै १ सय ५० मिटरको दुरीमा अस्मिताको मोबाइल भेटिएपछि कलडिटेलका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाउन सहज हुने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । अस्मिताको बलात्कारपछि हत्या भएको आशंकामा गरिएको अवस्थामा पोष्टमार्टम रिपोर्टले त्यस्तो नदेखाएको प्रारम्भीक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ । ‘तर, पोस्टमार्टम रिपोर्टका सबै कुरा हामीले बताउन मिल्दैन,’ अस्मिता हत्या प्रकरणको अनुसन्धानका क्रममा अनुसन्धान टोलीका तर्फबाट प्रवक्ता तोकिएका इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक रमेश अवस्थीले भने, ‘मृतक अस्मिताको भिसेरा परीक्षणका लागि केन्द्रमा पठाएका छौँ ।’

प्रहरीले घटनास्थल र आसपासका बस्तीहरूमा दर्जनौँ समूह बनाएर अनुसन्धान टोली खटाएको छ । यसक्रममा सयौं स्थानीयसँग घटनाका विषयमा सोधपुछ गरिसकेको प्रहरीले जनाएको छ । अस्मिताको विभत्स हत्या भएको घटनास्थल परशुराम नगरपालिका–९ स्थित हट्वानी सामुदायिक वन क्षेत्र र आसपासका सबै बस्तीमा छुट्टाछुट्टै टोली बनाएर व्यापक प्रहरी परिचालन गरिएको छ ।

परशुराम नगरपालिकाले मृतकका परिवारलाई १० लाख नगद क्षतिपूर्ति दिने, मृतकका दुई छोरीहरूलाई मासिक एक हजारका दरले पढाई खर्च बेहोर्ने र मृतक परिवारका एक जनालाई जागिर लगाइदिने सहमति भएपछि मंगलबार आफन्तले शव बुझेर दाहसंस्कार गरिएको हो । चाँडै घटनाको वास्तविकता ल्याउने गरी अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी प्रमुख डिएसपी नेपालले बताए ।

प्रतिक्रिया