यसरी भयो शाह वंशीय राजसंस्थाको शिलान्यास

मुक्तिनाथ घिमिरे

राज्य सञ्चालन गर्दा कतै कमीकमजोरी भएको छ कि, रैतीदुनियाँले के महसुस गरेका छन्, उनीहरूको प्रतिक्रिया के छ भनेर गोप्य रूपमा बुझ्नका लागि कुश्माखर घिमिरेले आफ्नै भतिजो सुन्दरप्रसाद घिमिरेलाई कानफट्टा जोगी बनाएर दुनियाँको प्रतिक्रिया बुझ्न पठाएका थिए । उनले रातीमा शंख बजाएर गोरखनाथको गाथा भट्याउँदै घरघरमा डुल्न थाले । यसरी गोप्य रूपमा दुनियाँको प्रतिक्रिया बुझेर सुन्दरप्रसादले त्यसको रिपोर्ट दरबारमा बुझाउने काम गरेका थिए ।

माध्यमिककालीन नेपालको लमजुङ राज्यमा घले शासकहरूले राज्य गर्दथे । जनचाहना अनुसार राज्यको नेतृत्व परिवर्तन गर्नुपर्ने अवस्था देखियो । शेषान्त भाइ र खसान्त भाइ मिलेर कास्कीकोटका राजा कुलमण्डन शाहका साहिँला छोरा यशोब्रह्म शाहलाई घिमिरेको काम्लो र दुराको नाम्लो गरी लमजुङमा ल्याए । ठूलोस्वाँरामा अवस्थित एउटा ठूलो ढुंगामा राजकुमारलाई बसाले । राजगुरु कुश्माखर घिमिरेले उनलाई अभिमन्त्रित जलले अभिषेक गरिदिए । त्यो दिन १५५० असार १५ गते रविबार थियो । तत्पश्चात उनी राजकुमारबाट राजा भए ।

नयाँ राजालाई केही समय तुर्लुङकोटमा राखियो । अनि गाउँसहरमा लगेर व्यवस्थित ढंगले राजा स्थापना गर्ने काम भयो । राजा यशोब्रह्म शाह, राजगुरु कुश्माखर घिमिरे र भारदारिया खजे दुरा यी तीन जना मिलेर लमजुङ राज्यमा रचनात्मक काम गर्न थाले । पुरानोकोटको धर्मसभा, लमजुङ दरबारको नीतिसभाजस्ता उच्चस्तरीय मिटिङ बसालेर जनचाहना र राज्यको आवश्यकताअनुसार काम गर्न थाले । आवश्यकताअनुसार विभिन्न ठाउँमा कोट स्थापना गर्ने कार्यक्रम अघि बढाए । सबैभन्दा पहिले स्थापना गरिएको कोटचाहिँ पुरानोकोट हो ।

त्यसपछि अरू कोट क्रमशः स्थापना गरिएका थिए । ती सबै कोटहरूको नाउँ यस प्रकार छ :

१. पुरानोकोट २. तुर्लुङकोट ३. जिताकोट ४. तान्द्राङकोट, ५. याङ्जाकोट ६ बजारकोट ७. तार्कुकोट ८. राइनासकोट । ०३२ सालसम्म याङ्जाकोट लमजुङमा थियो । त्यसपछि मात्र जिल्ला काटछाँट गर्दा कास्कीतर्फ गाभिएको हो । ती कोटका उमराउ, गुरुपुरोहित तथा त्यहाँको पूजाव्यवस्थापनसमेत मिलाए । राज्यको आन्तरिक तथा बाह्य सुरक्षाका लागि प्रत्येक कोटमा सेनाको टुकुडी पनि राख्ने व्यवस्था मिलाए । जसबाट शान्ति सुरक्षा भएको थियो । गाउँसहरमा कालिकारूपी शक्तिपीठ स्थापना र पूजाव्यवस्थापन पनि मिलाए । त्यसैगरी वेँशीसहरमा लक्ष्मीनारायणरूपी शक्तिपीठ स्थापना तथा पूजाव्यवस्थापन पनि मिलाए । ती सबै कोट र शक्तिपीठको पूजाव्यवस्थापन ऊ समयमा जसरी मिलाइएको थियो अहिलेसम्म उसैगरी पूजा चल्दै छन् । त्यस्तै उमराउ तथा गुरुपुरोहित पनि जो जो नियुक्त भएका थिए उनै उनैका सन्तानहरूले त्यो काम चलाइरहेकै छन् ।

त्रिकोणात्मक पताका, माथिल्लो पताकामा आठकोण भएको सूर्य र तल्लो पताकामा आठै कोण भएको चन्द्रमा भएको लमजुङ राज्यको झण्डा तयार गरे । हिउँदे दरबार बेसीसहरमा र बर्खेदरबार गाउँसहरमा बनाए । दरबारको पटांगिनीमा उभिएर सर्वसाधारणलाई राज्यको सूचना प्रवाह गराउनका लागि भीमसेन परियारलाई कटुवाल पदमा नियुक्त गर्ने काम पनि त्यसै समयमा भएको थियो । गाउँको पटांगिनीमा उभिएर ‘अब गर्मी सकिएर जाडो बढ्दै आएको हँुदा भोलिदेखि गाउँका दरबारिया जति सबै बेँसी सर…’ भन्ने र ‘अब जाडो बढ्दै आएको हँुदा बेँसीका दरबारीया जति भोलिदेखि सबै गाउँ सर…’ भनेर सूचना प्रवाह गर्दथे । सोही उर्दी अनुसार गाउँबाट बेँसी र बँेसीबाट गाउँ सर्ने काम हुन्थ्यो । त्यति बेला सहर थिएनन् । शब्द अपभ्रंश भएर पछि गाउँसहर तथा बेँसीसहर भन्न थालिएको हो । पछिल्लो समयमा दुइटै सहर नै भए । सहरको अर्थ केन्द्र या मुकाम पनि हो । सहरको अर्थ जित्नु पनि हो । सहरको अर्थ अनुकूल पनि हो ।

त्यसैगरी राज्य सञ्चालन गर्दा कतै कमीकमजोरी भएको छ कि, रैतीदुनियाँले के महसुस गरेका छन्, उनीहरूको प्रतिक्रिया के छ भनेर गोप्य रूपमा बुझ्नका लागि कुश्माखर घिमिरेले आफ्नै भतिजो सुन्दरप्रसाद घिमिरेलाई कानफट्टा जोगी बनाएर दुनियाँको प्रतिक्रिया बुझ्न पठाएका थिए । उनले रातीमा शंख बजाएर गोरखनाथको गाथा भट्याउँदै घरघरमा डुल्न थाले । यसरी गोप्य रूपमा दुनियाँको प्रतिक्रिया बुझेर सुन्दरप्रसादले त्यसको रिपोर्ट दरबारमा बुझाउने काम गरेका थिए । अनि आवश्यकताअनुसार राज्यको कार्यशैलीलाई सुधार्ने काम पनि गरेका थिए । त्यसरी लमजुङ राज्यमा शान्ति र सुव्यवस्था कायम गरेका थिए । थुमथुममा जिम्मुवाल तथा मुखिया नियुक्त गरी रैतीदुनियाँबाट रैरकम उठाएर राज्यको ढुकुटी बढाउने र परिचालन गर्ने गरेका थिए । गाउँघरमा झैझगडा तथा मुद्दामामिला परेमा तिनै जिम्मुवाल र मुखियाले नियानिसाफ दिने व्यवस्था पनि मिलाएका थिए । चन्द्रसूर्य अंकित झण्डाका रचनाकार कुश्माखर घिमिरे हुन् भने आठ ओटा कोटको रेखदेख र सुरक्षा दिलाउने काम खजे दुराले गर्दथे । द्रव्य शाह गोरखाका राजा भएपछि चन्द्रमा माथि र सूर्य तल राखेर गोरखा राज्यलाई स्वाधीन राज्यको रूपमा खडा गरेको पाइन्छ । पछि पृथ्वीनारायण शाहले त्यसै झण्डाको बिँड (ह्यान्डल) थपेका हुन् ।

यी तीन जना तत्कालीन लमजुङका शक्तिशाली त्रिमूर्ति हुन् । लमजुङ दरबार परिसरमा यी तीनै जनाको सालिक बनाएर राख्नुपर्ने देखिन्छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको नेतृत्वमा लमजुङ दरबार परिसरमा यशोब्रह्म शाहको सालिक खडा गरिएको छ । सो रचनात्मक कार्य गरेकामा प्रधानसेनापति थापा धन्यवादका पात्र हुनुहुन्छ । अब त्यसैगरी कुश्माखर घिमिरे र खजे दुराको सालिक बनाउनुपर्ने अवस्था देखिन्छ । त्यसका लागि घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपाल, दुरा सेवा समाज, बेँसीसहर नगरपालिका, बेँसीशहर न.पा.–३ तथा बाहुनबँेसीका घिमिरेहरूको पहिलो दायित्व रहन्छ । त्यसपछि अन्य सहयोगीहरूको पनि दायित्व रहन्छ । त्यसो भए मात्र पुर्खाको सम्मान हुन्छ ।

सन्दर्भ सामग्री :
१. गुरुङ, जगमानः(२०६४)गण्डकी प्रस्रवण क्षेत्रको सांस्कृतिक सम्पदा,पश्चिमाञ्चल विकास मञ्च,काठमाडौं । २. घिमिरे, मुक्तिनाथ (२०७५)ः नेपाली राष्ट्रियताको परिवेशमा दुरा समुदायको सांस्कृतिक जीवन, नेपाल संस्कृत वि.वि., राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र । ३. तखतहरण ठेली, राजराजेश्वरी मन्दिर, बाङ्ग्रे, लमजुङ । ४. शाक्तपत्र, राजराजेश्वरी मन्दिर, बाङ्ग्रे, लमजुङ । ५. सालिक स्तम्भ, (२०३३)ः खजे दुरा, दुराडाँडा, लमजुङ । ६. सालिक स्तम्भ (२०७१)ः कुश्माखर घिमिरे, पुस्तुन,बाहुनडाँडा, लमजुङ ७. सालिक स्तम्भ (२०७५) यशोब्रह्म शाह, गाउँशहर, लमजुङ ।

प्रतिक्रिया