‘यो गठबन्धन संविधानको रक्षाका लागि हो’ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्दै संविधानको समयानुकुल परिमार्जन गर्ने उद्देश्यको जगमा पाँच दलीय गठबन्धन सम्भव भएको बताएका छन । बिहीबार सम्पादकहरूसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले विपक्षी दलहरू बीचको गठबन्धन सैद्धान्तिक, व्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई समेटेर बनाइएकाले लामो समयसम्म सँगसँगै जानसक्ने बताए । उनले संविधानको रक्षा गर्दै समयानुकुल परिमार्जन गर्दै लैजाने उद्देश्यमा केन्द्रीत रहेर गठबन्धन बनेको बताए । अहिलेको संघर्ष प्रधानमन्त्री कसलाई बनाउने भन्ने नभई राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको रहेको उनको भनाइ छ ।

अध्यक्ष दाहालले ०४६ साल र ०६२/६३ सालमा लोकतन्त्रवादी र वामपन्थीको मिलेमतोमा आन्दोलन सफल भएको उल्लेख गर्दै अहिले पनि केपी ओलीको निरंकुशताले लोकतन्त्रवादी र वामपन्थीलाई एकै ठाउँमा ल्याइपुर्याएकाले आन्दोलन सफल हुने बताए । ‘यो गठबन्धन कुनै अवसरवादी गठबन्धन होइन । प्रधानमन्त्रीको निम्ति भएको संघर्ष पनि होइन,’ उनले भने, ‘यो संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बिचको लडाइँ हो, सिस्टम बचाउने वा नबचाउने भन्ने बीचको लडाइँ हो ।’

अध्यक्ष दाहालले सर्वोच्च अदालतमा आफूहरूको कुनै सेटिङ नभएको बताए । मन्त्री नियुक्ति बदर गर्ने सर्वोच्चको फैसला अघि आफूले बोलेको कुरालाई सेटिङ भन्दै टिप्पणी गरिएको भन्दै उनले आफूहरू सेटिङ गरेर शासन गर्नेवाला नभएको स्पष्ट पारे ।

प्रतिक्रिया