पोखरा स्पोर्ट्स अवार्ड भर्चुअलबाट

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ‘पाँचौँ पोखरा स्पोर्ट्स अवार्ड २०७६÷०७७’ भर्चुअलमार्फत आयोजना गर्ने भएको छ । विश्वभर फैलिएको कोरोनाभाइरस संक्रमण प्रभावका कारण गत वर्ष र यस वर्ष पनि अवार्ड समारोह स्थगन भएकामा मञ्चले यही असार १८ गते अवार्ड समारोह आयोजना गर्ने निर्णय गरेको हो । मञ्चको मंगलबार बसेको बैठकले सो दिन विश्व खेलकुद पत्रकार दिवससमेत परेकाले भर्चुअलबाटै भए पनि अवार्ड वितरण समारोह गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअलमार्फत अवार्ड समारोह गर्न स्वीकृत दिएबमोजिम अवार्ड कार्यक्रम तयारी अघि बढाइएको हो ।

यस वर्ष गत वैशाख २० का लागि तयारी गरिएकामा निषेधाज्ञाका कारण अन्तिम समयमा आएर स्थगन गरिएको थियो । समारोहमा विगतमा झैँ यसपटक विभिन्न सात विधामा अवार्ड वितरण गरिनेछ । मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई नगदसहित अवार्ड वितरण गरिने महासचिव विजय नेपालले जानकारी दिए । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको उत्कृष्ट तीन मनोनयन सूची सार्वजनिक भइसकेको छ ।

खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ । दुई वर्षको अवधिमा खेलाडीले प्रस्तुत गरेको आफ्नो प्रतिभा प्रदर्शनका आधारमा अवार्ड प्रदान गरिनेछ । मञ्चले कोरोनाका कारण ज्यान गुमाएका पत्रकारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमित पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षितसाथ सञ्चारकर्ममा लाग्न पनि मञ्चले आग्रह गरेको छ ।

प्रतिक्रिया