चार दशकदेखि मानव–हात्ती द्वन्द्व जारी

१५ दिन अघि मात्र शम्भु थापा र दुर्गा थापाको भागी बिहे भएको थियो । रातको मस्त निन्द्रामा थिए नव दम्पती । भारतबाट छिरेको जंगली हात्तीको बथानले ओछ्यानमै आक्रमण गर्दा दुवैको एक चिहान भयो । यो घटना ०५९ असारमा झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा भएको हो । त्यही रात सोही गाउँका रणबहादुर दियालीको पनि हात्तीको आक्रमणमा मृत्यु भयो । सधैँझैँ त्यसरात पनि नजीकको भारतीय जंगलबाट सयौँको बथानमा मेची नदी तरेर हात्ती गाउँ पसेका थिए । हात्तीले गरेको मानवीय क्षतिमध्येको एउटा भयानक घटना थियो त्यो । चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । हात्तीको आक्रमणबाट मानवीय क्षति रोकिएको छैन न त पारिबाट आउने गरेका हूलका हूल हात्ती रोक्ने भरपर्दाे प्रयास नै भएको छ ।

मेचीपारि भारतमा महानन्द वन्यजन्तु निकुञ्ज छ । पश्चिम बंगालको वन्यजन्तु संरक्षण गरिने उक्त जंगलमा आसामदेखि आउने हात्तीले बासस्थान बनाउने गरेका छन् । भारतको पश्चिम बंगाल र आसामसम्म फैलिएको करिडरमा हात्तीको कैयौँ पुस्ताले नेपालको कोसीटप्पुसम्म विचरण गर्दै आएको छ । त्यहाँ दिनभर आराम गरी हात्तीको बथान साँझ आहारको खोजीमा सीमा तरेर बाहुनडाँगी आइपुग्थे । खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनाश गर्ने हात्तीले मानिसलाई आक्रमणको निशाना बनाउँथे । आक्रमणबाट धेरैले अकालमा ज्यान गुमाए । चार दशकदेखि गुज्रिरहेको जंगली हात्ती र मानवबीच द्वन्द्वबाट अहिले पनि झापा आक्रान्त छ । मृत्युको ताण्डव रोकिएको छैन । यो अवधिमा कति मानिसको ज्यान गयो भन्ने पूर्ण तथ्यांक छैन । तथापि सरकारी निकायहरूले ५० भन्दा बढीको मृत्यु भएको र ३० भन्दा बढी हात्ती मारिएको जनाएका छन् । द्वन्द्वमा मारिएका सर्वसाधारण र हात्तीको वास्तविक आँकडा सरकारले बताएभन्दा दोब्बर हुनसक्ने मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च बाहुनडाँगीका संस्थापक अध्यक्ष ढुण्डीराज पौडेलको दाबी छ ।

डिभिजन वन कार्यालय झापाको तथ्यांकअनुसार ०६८ देखि ०७८ जेठ मसान्तसम्ममा झापामा ४७ जनाको मृत्यु भइसकेको छ । यसमा पाँच जना गैरनेपाली छन् । हात्ती छेक्न घरवरिपरि आफैँले लगाएको करेन्टमा परेर चार जनाले मृत्युवरण गरे । एक दशकमा ५९ जना हात्तीको आक्रमणमा घाइते भएको वन कार्यालयले जनाएको छ । ‘०४९ सालउता कति मान्छे मरे, कति हात्ती मारिए भन्ने यकिन रेकर्ड कहीँकतै भेटिँदैन,’ विगत ५० वर्षदेखि हात्तीको उपद्रो देख्दै आएका ८४ वर्षीय पौडेलले ने, ‘प्रजातन्त्र आएपछि मात्र मृतकको तथ्यांक राख्न थालिएको हो ।’ उनका अनुसार जननिर्वाचित जनप्रतिनिधिले नै मृतकका परिवारलाई काजकिरिया खर्च दिने व्यवस्थाको सुरुआत गरेका थिए ।

१९ हजार जनसंख्या भएको तत्कालीन बाहुनडाँगी गाविसमा त्यस्तो कुनै टोल छैन, जहाँ हात्तीले बाली नचरेको र मानिसको ज्यान लिएको वा अंगभंग नबनाएको होस् । ०५२ देखि एक दशकसम्म चलेको माओवादी सशस्त्र द्वन्द्व कालमा बाहुनडाँगीका बासिन्दा जंगदी हात्ती र माओवादी जनयुद्धको दोहोरो चपेटामा परे । यही अवधिमा सयौँ परिवार बाहुनडाँगीबाट विस्थापित भएर अन्यत्रै बसाइँ सरे ।

माओवादी द्वन्द्वकालमा कहालिलाग्दो अवस्था भोगे बाहुनडाँगीका बासिन्दाले । माओवादीको त्रासले तिरिङ, बाहुनडाँगी र नकलबन्दाको प्रहरी चौकी विस्थापित भएका थिए । दिनभरि बन्दुक बोकेका माओवादी पाल्नुपथ्र्यो भने रातभरि भारतबाट आउने हात्तीको उपद्रो सहनुपथ्र्यो । सीमामै हात्ती छेक्न गरिएको अन्तिम उपाय विद्युतीय तारबारले सफलता पाएपछि मात्र बाहुनडाँगीमा भारतबाट हात्ती हम्मेसी आउन सकेका छैनन् । रैथाने हात्तीको छिटपुट उपद्रो जारी रहे पनि दिनहुँ सयको संख्यामा बालबच्चा लिएर हात्ती आउने क्रम अहिले रोकिएको थियो । ०६६ सालदेखि बाहुनडाँगीको उत्तरी पहाडी क्षेत्र तिरिङदेखि दक्षिणी नकलबन्दासम्म १८ किलोमिटर लामो विद्युतीय तारबार सीमामा लगाइयो ।
लामो समयसम्म रोकिएका हात्तीको बथान तारबार भत्काएर ०७८ सालको मध्य जेठदेखि फेरि आउन थालेको डिभिजन बन कार्यालय झापाका प्रमुख युवराज मास्केले बताए । दैनिक ७० देखि डेढ सयसम्मको संख्यामा आउने हात्तीलाई सशस्त्र गस्ती टोलीले मेचीको बगरबाटै भारततिर फर्काउने गरेको उनले बताए ।

०७७ जेठ १२ गते राति दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा हात्ती लखेट्दै भारतबाट नेपाल छिरेका २५ वर्षीय साइलो मुर्मुको हात्तीको आक्रमणबाट ज्यान गयो । प्रहरीका अनुसार उनको लाश दशगजाको मकैबारीमा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बच्चासहित जलथल जंगलबाट गाउँ पसेको ढोइ हात्तीले मुर्मुलाई उल्टै लखेट्यो र कुल्चेर मा¥यो । नेपालको जंगलमा बस्ने केही हात्ती स्थलसीमा पार गरेर भारतको बिहारका गाउँमा समेत आहाराको खोजीमा जाने गर्छन् । त्यही क्रममा भारतीय सीमावर्ती गाउँबाट ‘नेपालको हात्ती’ भन्दै धपाउन आउने क्रममा दशगजा क्षेत्रमा मुर्मु हात्तीको आक्रमण परेका थिए ।

भारतबाट रातारात नेपाल भित्रिने हात्तीको बथानले पहिले पहिले धेरै जनधनको क्षति पु¥याएको भए पनि एक दशकयता नेपालकै जंगलमा बस्दै आएका रैथाने हात्तीले मानिसको ज्यान लिने गरेको बुद्धशान्ति गाउँपालिका–३ का मोहन वाँस्तोलाले बताए । एक्लै र हुलमा हिँड्ने रैथाने हात्ती मानव बस्तीको भित्री भागसम्म पुग्छन् । धपाउने क्रममा कहिलेकाहिँ धारिलो भाला, बाँसको पुल्ठो र पटाका आदिले प्रहार गर्ने भएकाले यिनीहरू मानिससँग बढी आक्रामक हुन्छन् ।

जंगलमा निगुरो र च्याउ खोज्न जाँदा हात्तीसँग सर्वसाधारणको जम्काभेट हुन्छन भाग्न सके बान्चे नत्र हात्तीले झम्टेर मानिसलाई मार्ने गर्छ । जंगलमा दिउँसो दाउरा र घाँस खोज्न गएका महिला र बालवालिका समेत चपेटामा पर्ने गरेका छन् । झापाको भारतसँग सीमा जोडिएको बाहुनडाँगीदेखि दक्षिणी क्षेत्र कचनकबल र गौरीगञ्जसम्म प्राकृतिक जंगल र सामुदायिक बन छ । उत्तरी चुरे पहाडसँग जोडिएको भेगमा पनि जंगल नै भएको हुँदा हात्ती विचरणका लागि सहज छ । झापाका अधिकांश पालिकामा अहिले हात्तीको त्रास छ । बाहुनडाँगीबाट ५० किलोमिटर पश्चिम कमल गाउँपालिका–३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको बनमा एकाविहानै ५ बजेतिर च्याउ खोज्न गएका ४४ वर्षीय जितबहादुर लिम्बु हात्तीको आक्रमणमा परे । भाग्न नपाउँदै हात्तीले कुल्चेर उनको घटनास्थलमै मृत्यु भयो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार रैथाने हात्ती रहेछ भने जुनसुकै कामले जंगल जाने सर्वसाधारणको ज्यान जोखिममा पर्ने गरेको छ । हात्तीले आक्रमण गरेको अधिकांश घटनामा प्रहरी र स्थानीयवासीले तत्कालै उद्धार गर्न सक्ने अवस्था हुँदैन । जो पर्यो उसले ज्यान गुमायो भन्ने अवस्था छ । हात्ती जंगलको कता बसेको छ भन्ने थाहा हुने प्रविधि उपलब्ध नभएका कारण आक्रमणबाट जोगिन सजगता अपनाउन सकिएको छैन ।


सरकारले बन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्ति रकम दिने कानूनी व्यवस्था गरेको छ । तर अधिकांश पीडितले बेलैमा उक्त राहत पाउँदैनन् । मेचीनगर नगरपालिका–९ का ६५ वर्षीय श्याम राईको यही जेठ ४ गते घरछेउमा हात्तीको आक्रमणमा मृत्यु भयो । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको उनकोे आश्रित परिवारले एक महिना बितिसक्दा समेत नगरपालिकाबाट काजकिरिया खर्च पाएनन् । जबकि नगरपालिकाले बन्यजन्तुबाट मृत्यु भएका परिवारलाई १३ दिनभित्रै किरिया खर्च भनेर २५ हजार रुपैयाँ दिने नियम बनाएको थियो ।

मृतककी पत्नी जुनबिरा राईले परिवारको भरणपोषणका लागि मजदुरी गर्दै आएका पतिको मृत्युपछि संकट बढेको बताइन् । उनले नगरपालिका र बन कार्यालय धाउँदा धाउँदा हैरान भइसकेकोले राहतमा ढिलासुस्ती नगरिदिन आग्रह गरिन् । बन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–२०७५ मा हात्तीको आक्रमणमा मृत्यु भएको परिवारलाई १० लाख रुपैयाँ राहत दिने व्यवस्था छ । सख्त घाइतेको उपचार सम्पूर्ण व्यहोर्ने र सामान्य घाइतेलाई उपचार खर्च वापत२० हजारसम्म दिने कानूनी व्यवस्था छ । घरगोठ भत्काएको, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्यबालीमा क्षति पु¥याएको अवस्थामा १० हजारसम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको डिभिजन बन कार्यालय झापाका प्रमुख मास्केले बताए ।

२०७७ फागुन २५ गते राती घरछेउमा हात्तीसँगको मुठभेडमा ज्यान जोगाउन सफल भद्रपुर नगरपालिका–२ का आशबहादुर राईले घाइते भए पनि कुनै राहत तथा उपचार सहयोग नपाएको गुनासो गरे । हात्ती धपाउन सहयोग पुग्ने एउटा फगी लाइट माग्दासमेत नपाएको उनले बताए ।
डिभिजन बन कार्यालय झापाले ०६२ सालदेखि हालसम्ममा हात्तीपीडित २ हजार ७ सय ९५ जनालाई विभिन्न शीर्षकमा ४ करोड ४७ लाख १४ हजार ४ सय ४० राहत वितरण गरिएको जानकारी दिएको छ ।

चारकोशे झाडीको रूपमा परिचित जलथल जंगल झापाका रैथाने हात्तीको मूल वासस्थान हो । दक्षिण झापाको हल्दिबारी, कचनकबल, बाह्रदशी र झापा गाउँपालिकाले छोएको यो जंगल बनस्पति, चरा र बन्यजन्तुको बाक्लो उपस्थिति रहेको जैविक विविधतायुक्त बन क्षेत्र भएको हल्दिबारीस्थित पाथिभरा कालिका सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष चिरञ्जीवी पौडेलले बताए । यस बाहेक मेचीनगर, विर्तामोड, भद्रपुर र अर्जुनधारा नगरपालिकाले छोएको निचाझोडा बन क्षेत्र पनि हात्तीको बासस्थान मानिएको छ । यहाँभित्र पिउने पानी र नुहाउने जलाशयको पर्याप्त स्रोत भएकाले हात्ती बस्ने गर्छन् ।

झापाको जंगलमा बस्दै आएका रैथाने हात्तीको औपचारिक गणना भएको छैन । बन संरक्षणमा लागेका निकाय र अभियन्ताहरू रैथाने हात्तीको संख्या बढिरहेको बताउँछन् । जिल्ला बन कार्यालय झापाका प्रमुख युवराज मास्केका अनुसार जिल्लामा ९ देखि १३ वटासम्म रैथाने हात्ती छन् ।
‘भारतबाट ओहोरदोहोर भइरहेको अवस्थामा कति हात्ती कता बस्थे भन्ने पत्तो हुँदैनथ्यो,’ मानव हात्ती द्वन्द्व न्यूनीकरणका लागि अभियान सञ्चालन गरिरहेका प्रकृति संरक्षण समाज झापाका अध्यक्ष अर्जुन कार्कीले भने, ‘सीमापारिबाट अहिले आउन छाडेका छन्, अब रैथाने हात्तीको वैज्ञानिक गणना गर्ने हो भने वास्तविकता पत्ता लाग्नसक्छ ।’

मानव हात्ती द्वन्द्व न्यूनीकरण गर्नका लागि मेची नदीको दुबै किनारमा नेपाल र भारतले हात्तीलाई मनपर्ने आहारको व्यवस्थासहित ग्रीनबेल्ट निर्माण गर्नुपर्ने उनले बताए । यसो गर्दा हात्ती आहारको खोजीमा वस्तीमा नपस्ने र पर्यटकीय आकर्षण समेत बढाउन सकिने उनी बताउछन् ।
झापाका बन्यजन्तुको संरक्षणको जिम्मेवारी कोसी टप्पु बन्यजन्तु आरक्षणले लिएको छ । आरक्षणले हात्तीबाट जनधनको क्षति हुँदा त्यसको क्षतिपूर्ति दिँदै आएको छ । तर हात्तीको गणना भने गरेको छैन । अभियन्ता कार्की झापामा एक दर्जनको संख्यामा रैथाने हात्ती हुनसक्ने बताउछन् ।

दक्षिणी झापामा रैथाने हात्तीको सानो बथानमा बच्चाहरू पनि देखिएको जिल्ला सामुदायिक बन महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले बताए । जलथल जंगल र बाहुनडाँगीतिरको सामुदायिक बनमा बस्ने रैथाने हात्तीको बेग्लाबेग्लै बथान रहेको उनी बताउछन् । बाहुनडाँगीको बथान मेचीनगर, अर्जुनधारा, शिवसताक्षी, कन्काई र दमकसम्म डुल्ने गरेको छ भने जलथलका हात्ती मोरङतिर पनि पुग्ने गरेका छन् ।
फरेस्ट एक्सन नेपाल नामक गैरसरकारी संस्थाका संरक्षणविद् डा. लीलानाथ शर्माका अनुसार जंगलमा आहार मासिदै गएकाले हात्ती आहार खोज्न गाउँवस्ती पस्ने गरेको हन । मानिससँगको द्वन्द्वमा हात्ती मासिदै गएको र हात्ती पनि धेरै आक्रामक बन्दै गएको उनको ठम्याई छ । बच्चा साथमा भएको बेला पोथी हात्ती र मधुमासका बेला भाले हात्ती बढी आक्रामक हुने उनी बताउँछन् ।

०७६ माघ ११ गते दक्षिण झापाको सीमान्त क्षेत्र कचनकबल गाउँपालिका–३ को हरियाली सामुदायिक बनमा वयस्क हात्ती मृत भेटिएको थियो । यसअघि उत्तरी झापातिर मात्रै मरेका हात्ती भेटिने गरेका थिए । दक्षिणतिर पनि अब हात्ती मरेको अवस्थामा हात्ती भेटिन थालेका छन् । हात्ती संरक्षित बन्यजन्तु भएको हुँदा यसलाई मार्न पाइँदैन तर मान्छे नै मारिने अवस्था आएको भन्दै हात्तीलाई गोली हान्ने र लुकेर शिकार गर्ने क्रम चलिरहेकै छ । बाहुनडाँगी, मागुरमाडी, पाँचपोखरी, जुकेखाडी, जलथल र निचाझोडाको जंगलभित्र पटकपटक मृत हात्ती भेटिने गरेको छ । शरीर कुहिन थालिसकेको अवस्थामा भेटिएका ती हात्तीको दाँत र पुच्छरको रौं भने भेटिएन । यसले हात्तीको शिकार हुने गरेको अनुमानमा बल पुगेको छ ।

जिल्ला बन कार्यालय झापाका अधिकृत ओम भट्टराई जंगली हात्ती घाइते भएर र रोगाएर मर्ने गरेको बताउँछन् । पछिल्लो समय करेन्ट लागेर समेत हात्तीले ज्यान गुमाएका छन् । हात्तीलाई छेक्न घर वरिपरि रातमा प्रवाह गरिएका करेन्ट लागेर हात्ती घटनास्थलमै मर्ने गरेका छन् भने कतिपय अवस्थामा गाउँमा होचो स्थानबाट लगिएका उच्च भोल्टेज भएका विजुलीका नांगो तारमा छुँदा हात्ती मरेका छन् ।

उहाँका अनुसार झापामा ०६२ देखि ०७७ सालसम्म विभिन्न कारणले १३ वटा जंगली हात्ती मृत फेला परे । मरेको हात्तीलाई घटनास्थलमै पोस्टमार्टम जाँच गरेर खाल्डोमा पुर्ने गरिएको छ । दाह्रा, खुर र पुच्छरको रौँ रहेछ भने बनका पदाधिकारीले कार्यालयमै लैजाने गरेका छन् । हात्तीको पोस्टमार्टम जाँचबाट हात्तीको मृत्युको कारण पत्ता लगाउने गरिएको छ । जंगलभित्र सिमसार र सेपिलो क्षेत्रमा मृत हात्ती भेटिने गरेका छन् । अन्यत्रै गोली लागेर वा अन्य कारणले घाइते भएर हात्ती चिसो र सेपिलो ठाउँमा पुग्ने गर्छन् । त्यहीँ तिनको मृत्यु हुने गरेको छ ।

गत वर्ष बाहुनडाँगीको तेलपानी जंगल क्षेत्रमा घाइते हात्ती भेटिएपछि बन कार्यालयको पहलमा चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीको उपचार गर्ने डाक्टर ल्याएर उपचार गरिएको थियो तर उक्त हात्ती लामो समय बाँचेन । केही महिनापश्चात् जंगलभित्रै मरेको थियो । बहुमूल्य दाह्राका लागि हात्तीको सिकार हुने गरेको शंका पनि उत्तिकै छ । मृत हात्तीको शरीरमा गोलीका दाग भेटिनु र दाह्रा नभेटिनुले शंकामा बल पुग्छ ।
तत्कालीन बाहुनडाँगी गाविसका अध्यक्ष निलकण्ठ तिवारीले मानवसँगको द्वन्द्वमा हात्ती समेत मारिने गरेको बताए । ०४५ सालतिर बाहुनडाँगी र बुधवारे गाविसको सीमानामा पर्ने पाँचपोखरी सामुदायिक बन क्षेत्रमा लुकेर बसेका हात्तीको बथानमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकैठाउँमा कम्तीमा चार वटा हात्ती मारिएका थिए । हात्तीले मान्छे मारेपछि उक्त प्रतिशोधात्मक घटना भएको थियो ।

बाहुनडाँगीकी सावित्रा विक हात्तीको आक्रमणमा मृत्युवरण गर्ने पहिलो व्यक्ति हुन् । त्यसभन्दा अघि हात्ती सीमापारिबाट आउने र जाने गरेको थाहा हुँदैनथ्यो । किनकि उबेला मानव बस्ती कम र जंगली क्षेत्र धेरै हुन्थ्यो । ०३६ सालमा बन विनाश तीव्र भएपछि बन क्षेत्रमा मानव बस्ती बसाउन थालियो । बासस्थान र विचरण क्षेत्र संकुचित हुँदै जाँदा हात्तीसँग मान्छेको द्वन्द्व बढ्न थालेको हात्ती विषयमा विद्यावारिधि गरेका डा. दिनेश न्यौपानेले बताए ।

‘भारतको आसामदेखि नेपालको कोसी टप्पुसम्म हात्तीको पुख्र्यौली विचरण क्षेत्र हो,’ न्यौपानेले भने, ‘हात्तीको कुनै देश हुँदैन, बाहुनडाँगीमा आउने हात्तीलाई लामो समयसम्म भारतका हात्ती भन्ने गरियो । यी कैयौँ पुस्तादेखि सीमापार ओहोरदोहोर गरिरहेका वन्यजन्तु हुन् ।’ उनका अनुसार जमिनमा पाइने धरतीकै सबैभन्दा ठूलो स्तनधारी जनावर हात्ती अहिले संकटापन्न अवस्थाबाट गुज्रिरहेको र मानवसँगको द्वन्द्व न्यूनीकरण गर्न हात्तीको बासस्थानको संरक्षण, लहरे तथा झाडी प्रजातिका बनस्पतिको जगेर्ना र घाँसे मैदान बढाउनुपर्छ । नेपालमा सबैभन्दा धेरै हात्ती आउने र बढी मानवीय क्षति हुने जिल्ला झापा नै भएको उनले बताए । बाहुनडाँगीदेखि कोसीटप्पुसम्मको चुरे क्षेत्रमा हात्ती करिडर विकास गरिनुपर्ने उनले बताए । कोसीटप्पुका र रैथाने हात्तीसँग भारतबाट आउने हात्तीको सम्बन्ध भएको उनी बताउछन् ।सयको संख्यामा भारतबाट रातारात आउने र विहान उतैतिर फर्किने गर्नाले यी हात्ती भारतका हुन् भन्ने सर्वसाधारणलाई लाग्नु स्वाभाविकै थियो । हात्तीले मानिस मार्न थालेपछिको तीन दशकसम्म भारतलाई हात्ती नियन्त्रणका लागि नेपाल सरकारले दवाव दिनुपर्ने आवाज उठ्यो । नेपाल र भारतका सीमावर्ती जिल्लाका प्रशासनिक अधिकारीहरूका बीच हुने बैठकमा हात्ती नियन्त्रणको विषयले प्रवेश पाउने गरेको छ ।

प्रतिक्रिया