चलचित्रमा मेकअप’ माथिको प्रभाव

नारायण भट्टराई ‘सौन्दर्यविद्’

परापूर्वकालमा भारतबाट नेपालमा धेरै सभ्यताका कुराहरू भित्रिए अगाडि मैले लेखमा जनाइसके चलचित्र सँगसँगै विभिन्न प्रविधि भित्रिएसँगै मेकअप आर्टिस्टहरू पनि भित्रिएका थिए । नेपालीहरूलाई त्यससम्बन्धी ज्ञान पनि दिएका थिए र नेपालीहरू स्वयं त्यससम्बन्धी काममा आत्मनिर्भर हुन पुगेका थिए । आज पनि बर्सेनि मेक अपसम्बन्धी सयौँको संख्यामा भारतबाट अध्ययन पूरा गरी नेपाल आई आफूलाई स्वरोजगार बनाइरहेका छन् ।

 

नेपाली कथानक चलचित्रको आरम्भ र विकास सुरुदेखि नै भारतीय चलचित्रको प्रभावमा भएको इतिहास साक्षी छ । नेपालमा भन्दा झण्डै सय वर्ष अगाडिदेखि भारतीय चलचित्र बजारको विकास भएको देखिन्छ । सन् १९१३ मा दादासाहेब फालेकेले निर्माण तथा निर्देशन गरेको राजा हरिश्चन्द्र थियो भने नेपाली भाषामा बनेको पहिलो चलचित्रको नाम पनि सत्य हरिश्चन्द्र नै थियो जुन चलचित्र २००७ साल असोज ७ गतेका दिन टालिगन्ज कलकत्ता (भारत) मा शुभमुहूर्त गरिएको थियो । प्रथम प्रदर्शन पनि कलकत्ताकै जनता सिनेमा हलमा २००८ साल भदौ ३० गते गरिएको थियो । नेपालमा राणाशासनको अन्त्यको त्यो संघारमा पनि नेपाली भाषालाई माया गर्ने दार्जिलिङ, सिक्किम तथा पश्चिम बंगालमा बसोवास गरी चलचित्रसम्बन्धी थोरै ज्ञान भएता पनि मिहिनेत तथा नेपाली भाषाको विकास गर्नुपर्छ भन्ने मन भएर त होला भारतमा नेपाली चलचित्र बनेको ।

सत्य हरिश्चन्द्रको निर्माण गर्दा कुल २ लाख ८ हजार नेपाली रुपैयाँ खर्च भएको थियो भन्ने कुरा सुनिन्छ । धार्मिक चलचित्र भएको हुँदा प्राचीन राजप्रसादको सेट लगाउन, भेषभूषा, सिंगारपटारको खर्च, हातहतियारको व्यवस्थापन, गरगहनाको तथा दारी कपाल बनाउनमा धेरै खर्च भएको देखिन्छ । त्यो समयमा तत्कालीन युवराज श्री ५ महेन्द्र वीरविक्रम शाहले ५१ हजार रुपैयाँ सहयोग गरेका थिए भन्ने अपुष्ट कुरा पनि सुन्नमा आउँछ ।

हरिश्चन्द्र बनेको झण्डै १५ वर्षपछि नेपालमै पहिलोपटक सन् १९६४ अक्टोबर ७ मा ‘आमा’ नामक चलचित्र निर्माण भएको पाइन्छ । जसलाई निर्देशन हिरासिंह खत्रीले गरेका थिए । यसलाई राजा महेन्द्रले नेपाल सरकारको ब्यानरमा निर्माण गरेका थिए । नेपालमा चलचित्र निर्माण भए पनि प्राविधिक कामहरू प्रायः भारतबाट नै सम्पन्न भएका थिए । जे–जसरी त्यो समयमा चलचित्र निर्माण भए पनि आमजनतामा कुनै प्रभाव थिएन । यो त केवल जहानियाँ राणा परिवार तथा शाही परिवारमा मात्र यसको हेर्न मिल्ने प्रविधिको विकास भएको थियो भन्ने कुरा सुन्नमा आउँछ । सायद थियो पनि होला त्यस्तै । हामी नेपाली भएर नेपाल नामको देशको सीमाभित्र बस्नेहरूले भन्दा भारतीय नागरिक भइकन पनि नेपाली भाषाप्रतिको मोहकै कारण सत्य हरिश्चन्द्र दार्जिलिङको क्यापिटल सिनेमा हलमा चार÷पाँच हप्तासम्म हाउसफुल चलेको थियो ।
समयको खेल भनौँ या प्राकृतिक विकासको सिद्धान्त ०३५ सालभन्दा अगाडिको इतिहास हेर्दा नेपालमै चलचित्र बनेता पनि त्यसमा भाग लिने पात्रहरूलाई सिंगारपटार गर्नका निम्ति भने भारतबाट नै प्राविधिकहरू ल्याउने गरिन्थ्यो । यसबाट पनि चलचित्रको लागत आकासिन जान्थ्यो ।

इतिहास हेर्दा मेकअप आर्टिस्टको जन्मको अचम्म लाग्दो संयोग देखिन्छ, केही घटनापश्चात नेपाली चलचित्र क्षेत्रले एउटा पात्र पाउन जान्छ सन्तु तामाङ । तत्कालीन शाही चलचित्र संस्थानमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिए उनी । सामान्य परिवारमा जन्मिएर पारिवारिक समस्याका कारण १५ वर्षकै उमेरमा घर छाडेका सन्तु तामाङले नेपालको पहिलो मेक अप आर्टिस्टका रूपमा कीर्तिमानी कायम गरेका छन् । ०३५ सालतिर ‘जीवनरेखा’ नामक नेपाली चलचित्र निर्माणको क्रममा स्पटम्यानको रूपमा सुटिङ स्पटमा पुगेका सन्तु त्यो दिन सम्झेर अचम्ममा पर्छन् । अनि मनमा अठोट पनि त्यति नै बेला गरेको सम्झन्छन् उनी ।

‘जीवनरेखा’ फिल्म शाही चलचित्रकै ब्यानरमा निर्माण भएको थियो भने यसका निर्देशक थिए प्रकाश थापा । चलचित्रमा प्राविधिकको काम गर्न पाए जीवन रमाइलो तथा आर्थिक रूपमा सम्पन्न हुनजाला भन्ने सन्तुको कलिलै दिमागमा पर्न गएको थियो । मनमा सोचेर त्यसको पक्षमा लगातार लागिरहन्छ भने त्यो व्यक्ति आफ्नो लक्ष्यमा सजिलै पुग्न सक्छ भन्ने कुरा ध्रुव सत्य नै हो । सन्तु पनि त्यसरी नै सफल हुन पुगे । अनि नेपाली चलचित्र क्षेत्रले एक अर्गानिक इमानदार तथा मिहिनेती मेकअप आर्टिस्ट पाउन गयो । जुन समयमा नेपालमा सानातिनादेखि ठूला–ठूला ब्यानरमा चलचित्र बने पनि भारतीय बजारबाट मेकअप आर्टिस्ट ल्याउनुपर्ने बाध्यता थियो । त्यो समयमा बदलिँदो आकाशमा बाबुराओ, काम्ले तथा सन्लान फिल्ममा प्रकाश गश्वालसँग सन्तुले असिस्टेन्ट रहेर काम सिक्ने मौका पाएका थिए ।

यो लेखक जो मेकअप आर्टिस्टको रूपमा आज बजारमा राम्रै नाम कमाएको छ, जो सन्तु तामाङले संघर्ष गर्दा उम्रेको पनि थिएन । त्यो समयमा आजको जस्तो प्रविधि थिएन त्यो अवस्थामा काम गर्न त अवश्य पनि अप्ठेरो त थियो नै होला । पहिले त लुगाफटामा धेरै समस्या थियो किनकी आज जस्तो बजार थिएन त्यो बेला । सामान्य कपडामै धेरै काम गर्नुपर्ने बाध्यात्मक स्थिति थियो । मेकअपमा आज जुन एडभान्स केमिकलहरू छन त्यसको एक प्रतिशत पनि नेपाली चलचित्रका सुरुआती दिनमा थिएनन् । मानौँ एउटा राजाको भूमिकामा देखिने राजाजस्तो देखाउन मलाई लाग्छ मिनिमम थोरैमा पनि पाँच दिनको समय चाहिन्थ्यो, हुन त त्यो बीचको समयमा अरू सुटिङको काम त रोकिँदैन थियो होला । मलाई लाग्छ त्यो समयमा टच अप गर्नका लागि प्याडको पनि समस्या थिएन होला भन्न सकिँदैन । लाइट बढी हुँदा तथा लाइट कम हुँदा मिलाउनुपर्ने चिल्लो छालाको लागि जेल तथा सुक्खा छालाको लागि क्रिम बेसमा हुने फाउन्डेसनहरू पनि मलाई लाग्छ त्यो बेलामा समस्या नै थियो ।

यतिबेला कोरोना महामारीका कारण मेक अप म्यानहरूमा अत्यधिक समस्या सायद अरू क्षेत्रभन्दा भयावह बढी भएको महसुस हामी मेकअप आर्टिस्टहरूले गरेका छौँ । पहिलो भेरियन्टले लगभग पाँच÷६ महिना तर्साए पनि त्यसपछिका चार÷पाँच महिना अलिकति भए पनि राहत महसुस गरेको यो क्षेत्रलाई व्यावसायिक रूपमा अंगालेकाहरूको अनुभव छ । जब दोस्रो भेरियन्ट सुरु भयो तब त यो क्षेत्र तहसनहसकै रूपमा देखिन्छ । प्रत्यक्ष मानिसहरूको उपस्थितिमा मात्र काम सम्पन्न गर्न सकिने भएका कारण यस पेसा अंगालेका व्यक्तिहरू कोभिड–१९ बाट संक्रमित हुने सम्भावना तीव्र रहने गर्दछ । महामारीको पहिलो लहरदेखि नै प्रायः चलचित्र भवनहरू बन्द छन् यसको प्रत्यक्ष असर निर्माताहरूमा विकराल रूपमा देखिन्छ । कोभिड–१९ सुरु हुनुभन्दा पहिले निर्माण भएका लगभग २०/२५ वटा जति सानाठूला चलचित्रहरू हलको प्रतिक्षामा त्यसै थन्किएर बसेको अवस्थामा निर्माताहरूलाई पनि नयाँ चलचित्रमा हात हाल्न सोच्नुपर्ने अवस्था देखिन्छ । त्यसमा पनि लकडाउन कम भएको अवस्थामा ५०÷६० वटा जति म्युजिक भिडियो तथा पाँच वटा जति ठूलो पर्दाका चलचित्र निर्माण भए । म्युजिक भिडियोहरू त निर्माण भएको केही समयमा बजारको अवस्था हेरेर रिलिज भए यसमा १० प्रतिशतले राम्रो आम्दानी पनि गरे भने २५ प्रतिशत जतिले हल्का आम्दानी गरेका थिए, ५० प्रतिशतले आफ्नो लगानी मात्र उठाउन सफल भए भने बाँकी लगानी पनि उठाउन सकेनन् । ठूलो पर्दाका चलचित्र निर्माण भए पनि तिनीहरू हलको प्रतिक्षामा बसिरहेका छन् । श्याम खत्रीको लगानीमा बनेको ‘तिम्रो हुने कहिले’ नामक चलचित्रले यसै समयमा निर्माण गरी आफ्नो प्रिमियम सो पनि जय नेपाल हलमा गरिसकेको छ । तर, यो समयमा एक करोडभन्दा माथिका कुनै पनि चलचित्रहरू निर्माण भने भएनन् ।

पहिलो चरणको लकडाउनमा खासै मेकअपसम्बन्धी काम मेक अप आर्टिस्टबाट भएनन् तर लकडाउन खुकुलो भएपछि भने साधारण सुरक्षा मापदण्ड अपनाएर ब्युटी पार्लर भएकाहरूले आफ्नै पार्लरबाट तथा पार्लर नहुनेहरू फिल्डमा गएर म्युजिक भिडियो तथा ठूला चलचित्रहरूमा काम गरे । यो बीचको चार÷पाँच महिनाको समयमा ५१ जना मेकअप आर्टिस्टहरू कोभिड–१९ बाट संक्रमित हुन पुगे भने दुई जनाको यो बीचमा मृत्यु पनि भयो । यो ६÷७ महिना रोकिएका विवाह ब्रतबन्धजस्ता उत्सवका कार्यक्रहरू पनि यसै बीचमा भएका कारण मेक अप म्यानहरू बढी बिजी भएको देखिन्छ र त्यहीँबाट नै संक्रमण भएको अनुमान गर्न सकिन्छ हाम्रो पेसासँग सम्बन्धित व्यक्तिहरू यो महामारीमा ७५ प्रतिशतभन्दा माथि संक्रमित हुन पुग्नुभएको छ । काममै नफर्कीकनै संक्रमित हँुदा आमनेपालीलाई दुःख लागेको छ । ओहोदामा हुने व्यक्तिहरू आफ्नै पद तथा भ्रष्टाचारमा लिप्त भएको देखिन्छ । अस्पतालहरूमा अक्सिजनको, बेडको समस्या विकराल हुने अवस्था भयो तर यस बीचमा सरकारभन्दा पनि छिमेकी देश चाइना, अमेरिका जस्ता शक्ति सम्पन्न देशहरूले हात फैलाइरहनु भएको छ जसका कारण पछिल्ला दिनहरूमा उपचारमा केही सहजता देखिन थालेको छ ।

नेपालमा जसरी बलिउडको ठूलो बजार छ त्यसरी नै भारतमा फैलिएको कोरोनाको पनि ठूलो बजार हुन गयो । हाम्रो लापरबाही त्यतिबेला भयो जब भारतमा दोस्रो भेरियन्ट कन्ट्रोल नै गर्न नसकिने गरी फैलिरहेको थियो । सिमानामा मात्र कन्ट्रोल गर्न सकेको भए पनि मलाई लाग्छ नेपालले यति ठूलो नोक्सानी बेहोर्नु पर्दैनथ्यो । परापूर्वकालमा भारतबाट नेपालमा धेरै सभ्यताका कुराहरू भित्रिए अगाडि मैले लेखमा जनाइसके चलचित्र सँगसँगै विभिन्न प्रविधि भित्रिएसँगै मेकअप आर्टिस्टहरू पनि भित्रिएका थिए । नेपालीहरूलाई त्यससम्बन्धी ज्ञान पनि दिएका थिए र नेपालीहरू स्वयं त्यससम्बन्धी काममा आत्मनिर्भर हुन पुगेका थिए । आज पनि बर्सेनि मेक अप सम्बन्धी सयौको संख्यामा भारतबाट अध्ययन पूरा गरी नेपाल आई आपूmलाई स्वरोजगार बनाइरहेका छन् । अर्बांैको मूल्यमा नेपालले प्रत्येक वर्ष कस्मेटिक सामान भारतबाट खरिद गरिरहेको छ ।

प्रतिक्रिया