नमोबुद्धका कृषकलाई अनुदानमा मौरीघार

काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिकाले नगरका कृषकलाई अनुदानमा मौरीघार वितरण गरेको छ । नगरपालिकाले नगरलाई मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको मौरीघार वितरण गरेको हो । मंगलबार कृषकलाई मौरीपालनसम्वन्धी तालिमसहित घार वितरण गरिएको नगरपालिका कृषि शाखा प्रमुख रेशम दाहालले जानकारी दिए । चालु आर्थिक वर्षको कार्यक्रमअनुसार ५६ वटा मौरीको घार वितरण गरिएको छ ।

कृषकहरूलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र वडा–१० का वडाध्यक्ष रामकृष्ण अधिकारीले मौरीघार हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरका कृषकलाई आत्मनिर्भर बनाउने अभियानअन्तर्गत मौरीघार वितरण गरिएको र आगामी वर्ष पनि यसले निरन्तरता पाउने बताए । उनले यसै वर्षदेखि अनुदानमा भैँसी तथा वाख्रा वितरण अभियानको सुरुआत भइसकेको र त्यसको प्रभावकारिता हेरेर आगामी बर्ष थप बजेटको व्यवस्थासहित कार्यक्रम अघि बढाउने जानकारी दिए ।

यस्तै वडा–१० का वडाध्यक्ष रामकृष्ण अधिकारीले नगरका ९० प्रतिशत जनता कृषिमा निर्भर रहेकाले कृषिमै आत्मनिर्भर बनाउन अभियान थालिएको बताए । नमोबुद्ध नगरलाई अर्गानिक कृषिको केन्द्र बनाउने उद्देश्य रहेको भन्दै अधिकारीले त्यसमा कृषकहरूको साथ र सहयोग आवश्यक रहेको बताएका थिए । कार्यक्रममा कृषक रामप्रसाद घिमिरेले आफूहरूले मौरीघारसहित तालिमसमेत प्राप्त गरेको र व्यवस्थित एवं व्यावसायिकरूपमा मौरीपालन कार्यलाई अघि बढाउन हौसला मिलेको बताए । नगरपालिकाले मौरीपालनका लागि पकेट क्षेत्र नै बनाएर अन्य पालिका र जिल्लामा मौरी र मौरीघार निर्यात गर्ने योजना बनाएको छ । यस्तै नगरमा उत्पादिन महको बजारीकरणको वयवस्थासमेत गरिने योजना तय भएको छ ।

नमोबुद्ध नगरपालिकाले यसअघि विभिन्न वडाका कृषकका लागि ८० प्रतिशत अनुदानमा १ सय ५५ वडा पाडी वितरण गरिसकेको छ भने चालु आर्थिक वर्षमै बाख्रा वितरण गर्दैछ । कृषि शाखामार्फत ७५ प्रतिशत अनुदानमा भुसा काट्ने मेसिन (च्यापकटर) ५० प्रतिशत अनुदानमा मिनिटिलर, इलेक्ट्रिक पम्प, फलफूलको बिरुवा वितरण गर्दैछ ।

प्रतिक्रिया