पीडितलाई सहयोग गर्न हमालको आग्रह

काठमाडौं । अभिनेता राजेश हमालले हालै सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न स्थानका बाढी प्रभावितलाई नागरिकलाई सहयोग गर्न आग्रह गरेका छन् । हमालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सेयर गर्दै बाढी प्रभावित नागरिकलाई सक्दो सहयोग गर्न सबैलाई अनुरोध गरेका हुन् । बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ लगायतका विभिनन जिल्ला प्रभावित छन् । धेरै घरपरिवार प्रभावित भएका छन् भने लाखौं धनजनको क्षति भएको छ । गाँस र बासकै समस्या भएकाले यस्तो अवस्थामा पीडितलाई सबैले सहयोग गर्नुपर्ने राजेशले बताएका हुन् । उनले भनेका छन्, ‘पीडितलाई हामी सबैले सहयोग गर्नुपर्छ । हामी नेपाली दाजुभाई, दिदीबहिनी, सरकार, देश–विदेशमा भएका नेपालीले हातेमालो गरेर जो व्यक्तिहरु पीडित हुनुहुन्छ उहाँहरुको घाउमा मल्हम लगाउने वा उहाँहरुको जीवनलाई केही हदसम्म सहज बनाउने कोशिस हामी सबैबाट हुनुपर्छ ।’

बिपत्को बेलामा सबैले हातेमालो गर्दै पीडामा रहेका नागरिकलाई सहयोग गर्नु सबै कर्तव्य भएको बताउँदै हमालले दैवीप्रकोप प्रभावितलाई दीर्घकालीन व्यवस्थापनका लागि पनि सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । अभिनेता हमालले त्यसका लागि सबैले ध्यान दिनुपर्ने सुझाव दिँदै भनेका छन्, ‘हामी सबैले हातेमालो ग¥यौ भने पीडामा परेका दाजुभाई–दिदीबहिनीलाई उकास्न सक्छौं ।’ उनले दैवीप्रकोपका कारण गएको बाढीपहिरो अत्यन्तै दुःखदायी घटना भएको जनाउँदै यस्ता घट्ना घट्नुमा मानवीय भूमिका पनि छ कि भनेर मनन् पनि गर्नुपर्ने जिकिर गरेका छन् ।

हमालले मानवीय गतिविधि कतै प्रकृति र वातावरणको खिलापमा त गरिरहेको छैन भन्दै त्यसको मर्यादामा आँच आउने किसिमले हामी हाम्रो जीवनशैली, संरचना त बनाइरहेका छैनौं भनेर प्रश्नसमेत गरेका छन् । उनले त्यस्तो पक्षमा ध्यान दिनुपर्ने बताउँदै भने, ‘जबसम्म प्रकृतिलाई हामीले सम्मान गर्दैनौं, प्रकृतिले हाम्रो सम्मान कहिल्यै पनि गर्दैन् । त्यो भन्दैमा दैवीप्रकोप आउँदै नआउने भन्ने होइन् । तर, दैवीप्रकोप आउँछ र यसले यस्तो क्षति गर्छ भन्नेमा हामी सजग र होसियार हुनुपर्ने हुन्छ । त्यो होसियारिता हामीले आफ्नै व्यवहारबाट देखाउनुपर्ने हुन्छ ।’
उनले कतै हामीले वातावरण र प्रकृतिलाई चाहिनेभन्दा बढी बिथोलिरहेका छौं कि भन्ने कुरा सबैले मनन गर्नुपर्ने बताएका छन् । बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपबाट सबैले पाठ सिक्दै वातावरणको संरक्षणमा ध्यान दिनुपर्ने कुरामा जोड दिएका छन् । उनले सुझाव दिइका छन्, ‘वातावरणको संरक्षण गरौं, प्रकृतिको सम्मान गरौं । सँगसँगै आफ्नो जीवनशैली, कार्यहरु प्रकृतिलाई नबिथोल्ने किसिमले सञ्चालन गरौं ।’

प्रतिक्रिया