सदस्य सचिवसंग सदस्यहरूको आक्रोश

काठमाडौं । खेलकुदको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) नयाँ बोर्ड पछिल्लो पटक गठन भएको वर्ष दिन पनि पुगेको छैन । यसबीचमा एकपटक पनि बोर्ड बैठक बस्न नसकेको अवस्थामा नेतृत्वका पदाधिकारीबीच एक आपसमा खिचातानी भने सुरु भइसकेको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएपछि राखेपमा सदस्य सचिव देखि सदस्यहरुको नियुक्ती भएको थियो । राखेप बोर्ड ३७ सदस्य रहेको छ । पदेनहरुको पत्र राखेपलाई प्राप्त हुन बाँकी भएपनि नियुक्तीहरु गत वर्ष नै भइसकेका हुन् । बोर्ड गठन भएपछि अहिले पनि बैठक बस्न सकेको छैन । वर्षमा दुई पटक बोर्ड बैठक बस्ने ऐनमा उल्लेख छ ।

कोभिड १९ का कारण सबै क्षेत्र जस्तै खेल क्षेत्र पनि प्रभावित छ । शून्य प्राय खेलकुदमा राखेपको नेतृत्व पनि अलमलमा देखिन्छ । राखेपका सदस्य सचिवमा दोस्रो पटक रमेशकुमार सिलवाल नियुक्त भएका थिए । कार्यकारी प्रमुख भएका कारण राखेपमा बढी जिम्मेवारी हुनु स्वभाविक पनि हो । तर उनकै कार्यशैली बोर्डका सबै सदस्यलाई चित्त नबुझेको खेलकुदमा चर्चा चल्ने गरेको थियो । सदस्यहरुले सिलवालको कार्यशैली मन नपराएको बुझ्न कठिन छैन । केहि सदस्यले सार्वजनिक रुपमै सदस्य सचिवको आलोचना गरेको देखिन्छ ।

तर, राखेपमा सोमबार फरक दृश्य देखियो । सदस्य सचिव सिलवालसँग जम्काभेट हुँदा राखेप सदस्यद्वय सुवास श्रेष्ठ र सम्पन्न श्रेष्ठले उनको कार्यशैलीको विरोध गर्दा चर्काचर्की भएको थियो । राखेप कार्यकारी समितिका सचिव समेत रहेका प्रशासकिय प्रमुख कुलबहादुर थापाको कोठामा उनीहरु विवाद भएको थियो । खास गरि सदस्यहरुले सिलवालको कार्यशैलीको आलोचना गरेका थिए ।

संयोगवश भएको भेटमा एकै पटक सदस्यहरुले सिलवालसँग विभिन्न विषयमा असन्तुष्टी पाखेको एक प्रत्यक्षदर्शी राखेप कर्मचारीले बताए । प्रत्यक्षदर्शी कर्मचारीले भने, ‘उहाँहरुको भनाई हामीलाई नसोधी मनलागी काम गर्नुहुन्छ । बोर्ड बैठक नराखी मनलाग्दी ढंगले चल्नु भएको आरोप लगाउनु भयो ।’ जवाफमा सदस्य सचिवले कार्यकारी प्रमुख नै म हुँ त कसलाई सोध्नु भन्दै जवाफ फर्काएका थिए ।

राखेपकै अर्का सदस्य सुवर्ण श्रेष्ठको नेतृत्वमा काठमाडौं उपत्यकाका तीन जिल्लाको राखेपको भौतिक पूर्वाधार उपयोगको निर्देशिका तयार पार्नका लागि जिम्मा दिएकोमा पनि सदस्यहरुले असन्तुष्टी पोखेका थिए । केहि सदस्यहरुलाई मात्र आफू खुसी जिम्मेवारी दिएकोमा उनीहरुले आक्रोश पोखेका थिए । प्रत्यक्षदर्शीका अनुसार त्यसको जवाफमा सदस्य सचिव सिलवालले सबै सदस्यहरुलाई जिम्मेवारी दिने योजनामा रहेको सुनाएका थिए ।

सदस्य सचिव सिलवाल आफ्नो कार्यकक्षमा जानुअघि थापाको कार्यकक्षमा पसेका थिए । दिउँसो १२ बजेको आसपासमा सिलवाल पुगेको केहि समयमा नै दुई सदस्य थापाको कार्यकक्ष पुगेका थिए । उनीहरु त्यहाँ सदस्य सचिव छन् भनेर नभई थापासँग खेलाडीहरुको सुची लिन पुगेका थिए । त्यहि क्रममा सदस्य सचिवसँग उनीहरुको विवाद भएको थियो ।

प्रतिक्रिया