हवाई उडान खोल्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै बन्द गरेको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर शर्तसहित हवाई उडान खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालनका लागि अनुमति दिइएको छ । यसको तालिका र मिति भने मन्त्रालयले तय गर्ने जनाइएको छ । मन्त्रालयले बुधबारसम्म तालिका तय गर्ने तयारी गरेको छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको हो ।

अब काठमाडौँ–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौँ–इस्तानबुलमा साताको २, काठमाडौँ–दुबई रुटमा समेत सातामा चार उडान हुने भएको छ । काठमाडौँ दमाम रुटमा साताको २, काठमाडौँ–कुवेतमा साताको दुई, काठमाडौँ–मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ । दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला गर्ने निर्णय भएको छ । यस्तै, काठमाडौँ–छेन्दु र ग्वाङझाओ रुटमा साताको एक–एक उडान हुने गरी सेवा खुला गरिएको छ । हाल सातामा एक/एक उडान भइरहेको कतारको दोहा, टर्कीको स्तानबुलको उडान भने दोब्बर पारिएको छ । जसअनुसार काठमाडौँ–दोहा सातामा ४ उडान हुनेछन् ।

प्रतिक्रिया