‘राष्ट्र गम्भीर संकटमा धकेलियो, उपलब्धि गुम्ने खतरा छ’ : विपक्षी ५ दल

काठमाडौं । विपक्षी ५ दलका शीर्ष नेताहरुले मुलुक गम्भीर संकटतर्फ धकेलिएको बताएका छन्‍। २० मन्त्रीको पद जानेगरि सर्वोच्च अदालतले आदेश गरेलगत्तै गठबन्धनका तर्फबाट विज्ञप्ति जारी गर्दै नेताहरुले निर्णायक कदमका लागि आफूहरु प्रतिवद्ध भएको बताएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल,जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले साझा विज्ञप्ति जारी गर्दै निर्णायक कदमका लागि तयार रहेको बताएका हुन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान मिचेको र अदालतलाई धम्काएको उनीहरुको आरोप छ। ‘स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

ओलीले स्वार्थका लागि जस्तोसुकै काम गर्न पनि तयार भएको गठबन्धनको आरोप छ। ओलीको कदमले संविधानमार्फत् प्राप्त उपलब्धि गुम्ने खतरा देखिएको नेताहरुको दाबी छ । ‘प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगीकार गरेका छन् । नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धि नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको छ । राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया