इटाली दुर्लभ कीर्तिमानको नजिक

पेरिस । युरोपेली च्याम्पियनसिप अन्तर्गत इटालीले समूह ए को अन्तिम खेलमा आइतबार वेल्सलाई हरायो । अन्तिम १६ मा स्थान पक्का भएको इटालीले दोस्रो रोजाइको टोली उतारेपनि १–० को जित दर्ता गर्न सफल रहयो । अन्तर्राष्ट्रिय फुटबलमा इटाली लगातार ३० खेल अपराजित रहेर दुर्लभ कीर्तिमानको नजिक पुगेको छ । युरोको सुरुवाती तीन खेल नै जितेको इटालीले अब अन्तिम १६ को खेल जितेमा नयाँ किर्तिमान राख्नेछ । इटालीले वेल्समाथि जितसँगै ८२ वर्ष पुरानो कीर्तिमान बराबरी गरेको छ ।

इटालीले सन् १९३५ अक्टोबर देखि सन् १९३९ जुलाईसम्म ३० खेल अपराजित रहने कीर्तिमान राखेको थियो । त्यसबेला टोलीका प्रशिक्षक भिटोरियो पोज्जो थिए । उनको नेतृत्वमा टोलीले लगातार दोस्रो विश्वकप तथा सन् १९३६ को ओलम्पिकमा स्वर्ण पदक समेत जितेको थियो ।
इटालीले सन् २०१८ मा रोबर्टो मान्सिनीलाई प्रशिक्षकको जिम्मेवारी दिएपछि जाममा २ खेल हारेको छ । पछिल्लो पटक टोलले सन् २०१८ को नेसन्स लिगको खेलमा पोर्चुगलसँग पराजय बेहोरेको थियो । त्यसयता टोलीले ३० खेल जितेको छ । अझ पछिल्लो ११ खेलमा टोलीले गोल पनि खाएको छैन र ३२ गोल गरेको छ ।

इटालीले अब अन्तिम १६ मा समूह सी को उपविजेतासँग खेल्नेछ । इक्त खेल लण्डनको वेम्बली रंगशालामा हुनेछ । समूह सी मा युक्रेन र अष्ट्रियाको दोस्रो हुने सम्भावना रहेको छ । यी दुई टोली आज प्रतिस्पर्धा गर्दैछन् । प्रशिक्षक मान्सिनी ८२ वर्षअघि पोज्जोको नेतृत्वमा रहेको टोलीले हासिल गरेको सफलताबाट टोली धेरै टाढा रहेको बताउँछन् । ‘ पोज्जोले अपराजित यात्रा कायम राख्दा महत्त्वपूर्ण उपाधि पनि जितेका थिए । हामी त्यो स्तरभन्दा धेरै टाढा छौं । जुन टोलीले अन्तिम १६ को यात्रा पार गर्छ, त्यो टोलीले उपाधि जित्नसक्छ,’ उनले भने । ‘हरेक खेल कठिन हुन्छ । हामीले कुनैपनि खेललाई हल्का रुपमा लिएर जित्न सकिन्छ भन्ने सोच राख्नुहुन्न,’ उनले भने, ‘हामी रोमका समर्थकलाई धन्यवाद दिन चाहन्छौं । आशा छ आउने दिनमा पनि हामीले खुसी राख्ने नतिजा दिन सक्छौं ।’

प्रतिक्रिया