तीन नेताको लञ्च मिटिङले कांग्रेसमा तरंग !

काठमाडौं । कांग्रेस नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच सोमबार ‘लञ्च’ सहित भएको बैठकले कांग्रेसभित्र नयाँ तरंग सिर्जना भएको छ । यी तीनैजना नेता आगामी महाधिवेशनमा सभापतिको दौडमा छन् । कांग्रेसका संस्थापकत्रय बीपी कोइराला, गणेशमान सिंह र महेन्द्र नारायण निधिका सुपुत्रसमेत रहेका तीन नेताबीचको ‘लञ्च’ मिटिङले तरंग सिर्जना गरेको हो । निधिको निवास बानेश्वरमा भएको बैठकमा आगामी दिनमा पनि अनौपचारिक छलफल जारी राख्ने सहमति भएको नेताहरुले बताए पनि बाँकी कुरा भने खोलेका छैनन् ।

निधि यसअघि १३ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको ‘समूह’ मा थिए भने कोइराला र सिँह रामचन्द्र पौडेलको समूहमा ।
निधिका प्रेस सल्लाहकार रामजी दाहालका अनुसार पार्टीका तीन नेताबीच आगामी महाधिवेशनमै केन्द्रित छलफल भएको छ । उनका अनुसार सातवटा विषयमा पार्टीका शीर्ष नेताको ध्यानाकर्षण गराउने विषयमा पनि उनीहरुबीच सहमति जुटेको छ । पार्टीका शीर्ष नेताको ध्यानाकर्षण गर्ने, जिल्ला सभापतिहरुलाई आफूहरुको बैठकबारे जानकारी गराउने, अनौपचारिक छलफल जारी राख्ने गरी सातवटा विषयमा समझदारी भएको छ ।

‘कोरोना संक्रमण व्यवस्थापन, सिन्धुपाल्चोकलगायतका स्थानमा बाढीले पु¥याएको क्षति र त्यसबाट जनजीवन सामान्यीकरण गर्ने, पार्टीको १४ औँ महाधिवेशन, आगामी निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्न गर्नुपर्ने काम र विपक्षी गठबन्धनका तर्फबाट प्रस्ताव गरिएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विषयमा उहाँहरुबीच छलफल भएको छ,’ निधिका प्रेस सल्लाहकार दाहालले भने, ‘यस विषयमा साझा धारणा बनाएर शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौसहितका शीर्ष तहका नेतालाई जानकारी गराउने सहमति भएको छ । तीनै विषयमा जिल्ला सभापतिलाई पनि जानकारी गराउने र तीन नेताबीच निरन्तर छलफल अघि बढाउने समझदारी भएको छ ।’

१३ औँ महाधिवेशनमा नै देउवाले अर्कोपटक तपाईं उठ्नुस् म एकीकृत कांग्रेसको सभापति भएर बिदा लिन्छु भनेपछि पछि हटेको बताउने निधि अहिले देउवाले आफूलाई सहयोग गर्नुपर्ने तर्क अघि सारेका छन् । शनिबार देउवाले निवासमै बोलाएर सभापतिमा आफैँ दोहोरिने भन्दै सहयोग गर्न आग्रह गरेपछि निधि छलफलबाट बाहिरिएका थिए ।

उनले समझदारीअनुसार आफू धेरै अघि बढिसकेको र विद्यार्थी कालदेखिको सहकार्यका कारण आफैँ देउवाको सहयोगको हकदार बताउँदा पनि देउवाले चुनाव लड्ने भए तपाईंको अधिकारको कुरा हो भन्दै निधिलाई सहयोग नगर्ने संकेत दिएका थिए । १३ औं महाधिवेशन अघि ‘नेतृत्व हस्तान्तरण गर्ने तपाईंलाई नै हो, अहिले मलाई सहयोग गर्नुस्’ भन्ने आश्वासन दिएका देउवा बचनबाट पछि हटेपछि निधि वैकल्पिक टिम बनाएर अघि बढ्ने गृहकार्यमा जुटेका हुन् ।

असार २ गते नै नेता कृष्णप्रसाद सिटौलाको निवास पुगेर सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरिसकेका थिए । उनले नेता बलबहादुर केसीसँग पनि गत शनिबार निवासमै पुगेर सहयोग मागेका थिए । यही असार ४ गते केन्द्रीय समिति बैठक सकिएपछि महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई आफ्नै कार्यकक्षमा डाकेर अब तीन नेताले सामूहिक प्रयास थाल्नुपर्ने बताएका थिए । सोही छलफलपछि आज ‘लञ्च’ मिटिङ भएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया