कैलालीमा स्वरूप परिवर्तन गर्दै निषेधाज्ञा थप

धनगढी । कैलालीमा जारी निषेधाज्ञा स्वरूप परिवर्तन गर्दै १५ असारसम्म थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रकोे बैठकले मंगलबारदेखि लागू हुने गरी १५ असारसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेकोे हो । मंगलबारबाट लागू हुने गरी निजी सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गरिने निजी सवारी साधन कार, जिप, भ्यानमा चालकसमेत बढीमा चार जना, ट्याक्सीमा चालकसमेत बढीमा तीन जना अटोमा चालकसमेत बढीमा तीन जना सवार गर्न मिल्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अटो, मोटरसाइकल र स्कुटीसमेत जोरबिजोर प्रणाली लागू गरी सञ्चालन गरिने जनाइएको छ ।

यसअघि बिहान ११ बजेसम्म सञ्चालन हुँदै आएका खाद्य सामग्री लगायतका पसल मंगलबारदेखि अपरान्ह ३ बजेसम्म स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ । मानिसको बढी भिडभाड हुने सभा, सम्मेलन, होटल, गोष्ठी, तालिम, पार्टी प्यालेसलगायत सञ्चालनमा भने अझै रोक लगाइएको छ । कोरोनाको दोस्रो लहर बढेसँगै कैलाली प्रशासनले गत १६ वैशाखदेखि क्रमिक रूपमा निषेधाज्ञा थप्दै आएमा १५ असारसम्म थप गरिएको हो ।

प्रतिक्रिया