जनताको स्वास्थ्य तथा सुरक्षा पहिलो प्राथमिकतामा

सल्यान । जिल्लाका १० वटै स्थानीयतहहरूले कोभिड लक्षित नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन् । जिल्ला दोस्रो चरणको कोरोना संक्रमणको प्रभाव व्यापक देखिएपछि कोरोना लक्षित नीति तथा कार्यक्रम ल्याउने भएका हुन् । आर्थिक वर्ष ०७८÷७९ का लागि सार्वजनिक गरिने नीति तथा कार्यक्रममा जनताको स्वास्थ्य तथा सुरक्षा पहिलो प्राथमिकतामा राखेर बजेट ल्याइने भएको छ । जिल्लाका सवै स्थानीय तहहरूले यही १० असारमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरी काम गरिरहेका छन् ।

शारदा नगरपालिकाले यो महामारीको बीचमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिँदै चालु आर्थिक वर्षका क्रमागत योजनाहरूलाई प्राथमिकता दिएर बजेट ल्याइने शारदा नगरपालिकाका नगर प्रमुख शुरेश अधिकारीले जानकारी दिए । ‘यसपटकको बजेटमा नयाँ योजना तय नगरेर क्रमागत योजनाहरूलाई पूरा गर्ने लक्ष छ यसका साथै कृषि, पशु, खानेपानी र पूर्वाधारलाई समेटेर बजेट ल्याउने तयारी छ’, नगरप्रमुख अधिकारीले भने । नगरपालिकाले ४९ करोड ९९ लाख रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको नगरपालिकाले जनाएको छ ।
यस्तै सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले आगामी आर्थिक वर्षका लागि कोभिड न्यूनीकरणलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको जानकारी दिए । चालु आर्थिक वर्षमा सम्पन्न नभएका योजनाहरूलाई सम्पन्न गर्ने तथा जनताको स्वास्थ्य उच्च प्राथमिकतामा राखिने अध्यक्ष चलाउनलेले जानकारी दिए ।

दार्मा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कोरोना रोकथाम तथा पूर्वाधार विकासलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएका नागरिकहरूलाई रोजगारीको अवसर सिर्जना गर्ने गरी नीति तथा कार्यक्रम ल्याइने दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए । ‘हामीले दोस्रो चरणको कोरोना संक्रमणको समयमा अक्सिजन सहितका आइसोलसनको अभाव भोग्यौँ त्यसैले पनि हामी आगामी बजेटमा यसलाई प्राथमिकतामा राख्छौँ, यसका साथै राहत वितरण, रोजगारी र उत्पादनलाई पनि प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ’, अध्यक्ष केसीले भने ।

यसैगरी त्रिवेणी गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोजगारीका अवसर सिर्जना गर्ने पहिलो प्राथमिकता रहने गरी बजेट ल्याइने गाउँपालिकाले जनाएको छ । ‘कोरोना संक्रमण र लामो निषेधाज्ञाका कारण धेरैले रोजगारी गुमाउनुपरेको छ । यस्तो बेला नागरिकहरूलाई रोजगारीका अवसरहरू सिर्जना गर्नु र स्वास्थ्य सुरक्षा गर्ने गाउँपालिकाले पहिलो प्राथमिकता राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ’, गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले भने ।

कोरोना संक्रमणले जिल्लामा प्रभाव पारेको भए पनि योजना तर्जुमा पनि वस्ती तथा वडास्तरबाटै गरिएको स्थानीयतहहरूले जनाएका छन् । कपुरकोट, कालीमाटी, कुमाख र छत्रेश्वरी गाउँपालिकाले पनि कोरोना संक्रमण नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने तयारी गरेको जनाएका छन् । यस्तै जिल्लाका दुई नगरपालिका बनगाड कुपिण्डे नगरपालिका र वागचौर नगरपालिकाले पनि स्वास्थ्य, शिक्षा तथा भौतिक पूर्वाधार निर्माण तथा क्रमागत योजनाहरूलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया