कोरोनाको तेस्रो लहर र बाल कुपोषणबाट मुक्त हुने कुरा

लोकनारायण सुबेदी

नेपालको २ करोड ९१ लाख ६ हजार ८ सय ८ जनसंख्या मध्ये १८ वर्षमुनि उमेर समूहका बालबालिकाहरू ४० प्रतिशत रहेको तथ्यांकले बताउँछ । यस स्थितिमा बालबालिकामाथि झम्टिने कोरोनाको तेस्रो लहरको प्रकोपलाई रोक्न, फैलिन नदिन र फैलिहालेमा आवश्यक सबै सावधानी र खोप लगायतको उपाय गर्न राज्य र यससँग सम्बन्धित निकायहरूले अहिलेदेखि नै व्यापक तयारी गर्नु अत्यन्तै आवश्यक छ ।

कोरोनाजस्तो महामारीले हाम्रो देशको स्वास्थ्य र रोग प्रतिरोधक क्षमता के कति रहेको छ भन्ने कुरा अवगत गराइदिएको छ । पहिलो लहरको कोरोनाका बेला के कस्तो तयारी गरिएको रहेछ र दोस्रो लहर व्यापक रूपमा फैलिँदा अक्सिजन, भेन्टिलेटर, अस्पतालका बेडहरूको अवस्था अस्पतालहरूमा के कस्तो स्थिति रहेको थियो र कसरी संक्रमणमा परेका मानिसहरू स्थिति दयनीय बन्न पुग्यो र ज्यानसमेत गुमाउनुपरेको थियो भन्ने कुरा पनि जगजाहेर नै छ ।

अहिले फेरि आउँदो सेप्टेम्बर–अक्टोबरतिर कोरोनाको तेस्रो लहर आउने र त्यो बालबालिकाहरूका लागि बढी घातक हुने कुरा बिज्ञहरूले विश्वव्यापीरूपमा नै औँल्याइरहेका छन् । यस्तो संवेदनशील र नाजुक स्थितिमा हामीले गर्नुपर्ने पूर्वतयारी अहिले र आजैदेखि गर्न र बालबालिकाहरूलाई कोरोनाको सिकार हुनबाट जोगाउन आवश्यक सबै उपायहरू गर्नु गराउनु जरुरी छ । नेपालको २ करोड ९१ लाख ६ हजार ८ सय ८ जनसंख्या मध्ये १८ वर्षमुनि उमेर समूहका बालबालिकाहरू ४० प्रतिशत रहेको तथ्यांकले बताउँछ ।

यस स्थितिमा बालबालिकामाथि झम्टिने कोरोनाको तेस्रो लहरको प्रकोपलाई रोक्न, फैलिन नदिन र फैलिहालेमा आवश्यक सबै सावधानी र खोप लगायतको उपाय गर्न राज्य र यससँग सम्बन्धित निकायहरूले अहिलेदेखि नै व्यापक तयारी गर्नु अत्यन्तै आवश्यक छ । भारतमा फैलिने यो प्रकोपले नेपालमा समेत तीव्र गतिमा असर पुग्ने गरेको विगतका दुइटा लहरको कोरोनाको प्रकोपले प्रष्ट पारिसकेको र पारिरहेको छ । त्यसमा पनि धेरै बालबच्चाहरू अल्पपोषण र रोग प्रतिरोधी क्षमता कम रहेको अवस्थाबाट गुज्रिरहेका छन् । खासगरी विपन्न परिवारका अधिकांश बच्चाहरू वास्तवमा यस्तै स्थितिबाट गुज्रिरहेको स्थिति रहेको विज्ञहरूले औँल्याउने गर्दै आएका छन् । अनि यो कुपोषण केवल स्वास्थ्य समस्या मात्रै होइन, समय छँदै यसको निदान तथा उपचार खोजिएन भने यो आर्थिक तथा सामाजिक समस्याको रूपमा समेत खडा हुन जानेछ ।

विश्व स्वास्थ्य संगठनले लामो गम्भीर कुपोषणको लम्बाइको अनुपातमा धेरै कम तौल भएका बच्चा हुने या पाखुराको बीचको माथिल्लो भागको परिधि १ सय १५ मिलिमिटरभन्दा कम रहेको हुने या पोषक तत्वको कमीले हुने सुनिने रोग आदिकोरूपमा परिभाषित गर्ने गर्दछ । गम्भीर कुपोषणको सिकार भएका बालबच्चाहरूको तौल तिनको लम्बाइको हिसाबले बहुत कम हुने गर्दछ । अनि शरीरको प्रतिरक्षा तन्त्र कमजोर हुनका कारणले कुनै पनि रोगका कारण उनीहरूको मृत्यु हुन पुग्ने स्थिति सामान्य अवस्थाका बच्चाहरूको अनुपातमा नौ दोब्बर बढी हुने गर्दछ भनिएको छ ।

दुई वर्षअघि २०१९ मा ‘द लेसेन्ट’ भन्ने प्रसिद्ध पत्रिकाले जारी गरेको प्रतिवेदनमा के कुरा प्रकाशमा आएको थियो भने विश्वका विभिन्न देशहरूमा करोडौँ बालबच्चाहरू कुपोषणको सिकार हुने गरेका छन् । स्वास्थ्य विज्ञहरूका अनुसार बालबच्चाहरूलाई लामो समयसम्म सन्तुलित भोजन नमिल्नाले उनीहरूको रोगप्रतिरोधक क्षमतामाथि नकारात्मक असर पर्न जान्छ । त्यस स्थितिमा उनीहरू कुनै पनि बेला कुनै पनि रोगबाट आक्रान्त हुन पुग्दछन् । कुपोषणका विरुद्ध काम गर्ने गरेका सरकारी तथा संयुक्त राष्ट्र संघजस्ता संस्थाहरूले समेत के जोड दिँदै आएका छन् भने बच्चाहरूलाई आयोडिन, आइरन र भिटामिन ‘ए’ जस्ता औषधिको थोपा खुवाउनु पर्दछ । तिनको यो ध्यान बच्चाहरूका लागि चाहिने अति सुक्ष्मतत्वहरूप्रतिको हो । तर बच्चाहरूको समस्या यो भन्दा अझ बढी छ । आइरन चक्की खाएर कुपोषणबाट निजात पाउन सकिँदैन । त्यसका आफ्नै सीमा छन् । त्यसैले बच्चाहरूको स्वास्थ्यलाई खाद्य सुरक्षासँग जोडेर हेर्नुपर्ने हुन्छ भन्ने बिज्ञहरूको राय छ । खाद्य सुरक्षा तथा खाद्य पदार्थमा विविधा कुपोषण हटाउनका लागि आवश्यक छ । यी दुबै कुरा सोझै किसिमले ब्यक्ति वा परिवारको आयसँग सम्वन्धित छन् । स्पष्ट छ, आय छैन भने पोषण पनि हुँदैन । त्यसैले विश्वका कतिपय देशहरूले पोषण कोषको पनि व्यवस्था गरेर यो समस्यको समाधान खोज्न ध्यान दिएको देखिन्छ । यसका लागि उपयोगी बहुबाली उत्पादन पद्धतिको विकास गर्नुपर्ने आवश्यकता हुन्छ । त्यस्तो उत्पादन बढाउन बहुजलवायु र बहुक्षेत्रीय उत्पादनमा जोड दिने पनि गरिएको छ ।

विशेषज्ञहरूले कृषिलाई कुपोषणसम्बन्धी समस्याहरूको सम्बोधन गर्ने राम्रो तरिका र क्षेत्र मान्दछन् । तर,  प्रायःजसो पोषणमा आधारित योजना परियोजनाहरूले यस कुरामा ध्यान दिएको पाइँदैन । हाम्रोजस्तो कृषि आधारित अधिकांश ग्रामीण जनताको परिप्रेक्षमा यस कुरामा विशेष ध्यान दिइनु अत्यावश्यक छ । किन पनि भने अधिकांश कुपोषणको समस्या ग्रामीण क्षेत्रमै पाइने गरेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको अनुभव रहेको छ ।

अहिलेको कोभिड कालको समस्याले त यो कुरालाई अझ बढी गम्भीर बनाइदिएको छ । पहिलादेखि नै गरिबीको खाडलमा परेका अधिकांश मानिसहरूको रोजगारीमाथि कोरोनाले ठूलो असर पुग्न गएको छ भने स्वास्थ्य खर्च पनि बढेको छ । यस असन्तुलनले एउटा अर्को दुष्चक्रको निर्माण गर्दछ र त्यसको केन्द्रमा बालबालिकाहरू नै पर्नेछन् । त्यसैले यतिबेला एकातिर कोरोनाको तेस्रो लहर आउने र त्यसको चपेटामा बालबच्चाहरू बढी पर्ने कुरा आइरहेको छ । अर्कोतिर नराम्रोसँग खस्कँदो आय र गरीबीका कारण पहिलादेखि नै कुपोषणको सिकार बालबच्चाहरूका लागि एउटा यस्तो खाडल बन्न जाँदैछ जसबाट बाहिर निस्कन अत्यन्तै कठिन हुने प्रतीत हुन्छ ।

आज विश्वमा बालबच्चा र किशोर उमेर समूहका गरेर मानवताको एकतिहाइ जति हिस्सा रहेको उल्लेख गरिन्छ । हुन पनि बिश्वको मानिसले आफ्नो जीवनको एकतिहाइ हिस्सा बच्चाकै रूपमा बाँच्ने गरेको तथ्यांक छ । बच्चाहरू ठूला भएर मानिस भएर मानिस बनेका होइनन्, उनीहरू पहिलादेखि नै मानिस हुन् । त्यसैले भनिन्छ हामीले बच्चाका रूपमा रहेको मानिसलाई जिउँदो जाग्दो राख्नु पर्दछ । तर के छ भने जन्मिएका सबै बालबच्चा ठूलो हुन पाउँछन् कि पाउँदैनन् प्रश्न यही छ । उनीहरूमध्ये कैयौँ कुपोषणको सिकार भए भने कमजोर बनेर कैयाँै बिमारीबाट आक्रान्त हुने कुरा निश्चित छ । त्यसैले बालबालिकालाई कुपोषणबाट बचाउने र रोगमुक्त राख्न उनीहरूको प्रतिरोधी क्षमता बढाउन एकदमै जरुरी छ । यसमा राज्य र सम्बन्धी सबैको ध्यान केन्द्रित होस् । तेस्रो लहरको कोरोनाबाट बालबालिका बचाउने उपाय नै वास्तवमा यही हो । समय छँदै उपायहरू नअपनाएपछि पछुताउने स्थिति पनि नरहन सक्छ ।

प्रतिक्रिया