इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधान न्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् । न्यून मतदान भएको यस पटकको राष्ट्रपति निर्वाचनमा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त राइसीले भारी मत प्राप्त गरेका थिए ।

सन् १९८८ मा हजारौँ राजनीतिक बन्दीहरुको सामूहिक हत्याको आरोप खेप्दै आएका राइसीमाथि संयुक्तराज्य अमेरिकाले प्रतिबन्धहरु लगाइरहेको छ । साथै उनिमाथि सर्वोच्च अदालतको प्रधान न्यायाधीश हुँदा धेरै मानिसलाई मृत्युदण्ड दिनेगरी फैसलाहरु गरेको आरोप छ ।

यस पटकको राष्ट्रपति निर्वाचनमा सुधारवादी पक्षधरहरुको उम्मेदवारी नै रद्द गरिएका कारण पनि राइसीले चुनाव सहजै जित्ने अनुमान गरिएको थियो । यसपटक चार जना मात्र चुनावी मैदानमा थिए । इरानी सर्वोच्च नेता खामेनीको संयोजकत्वमा गठित समितिले उम्मेदवार छनौटमा मनोमानी गरेको भन्दै त्यसको विपक्षमा रहेकाहरुले मतदान बहिस्कार गर्न आह्वान गरेका कम मतदान भएको अड्कल गरिएको छ ।

धेरै मानिस मतदान गर्न जानुको साटो घरमै बसेका थिए । इरानमा कूल पाँच करोड ९० लाख मतदाता मध्ये करिब दुई करोड ८९ लाखले मात्र मतदान गरेका थिए । मतदानमा सहभागीमध्ये पनि करिब ३७ लाखको मतपत्र बदर भएको छ । इरानी राज्य नियन्त्रित टेलिभिजनले कम मतदाता सहभागी हुनुमा कोरोना भाइरस महामारी र अमेरिकी प्रतिबन्धहरु मुख्य रुपमा जिम्मेवार रहेको बताएको छ ।

एम्नेस्टी इन्टरनेसनलका महासचिव आग्नेस कालामार्डले इब्राहिम राइसीमाथि मानव हत्या, जबर्जस्ती बेपत्ता र यातनाजस्ता मानवता विरोधी अपराधको अनुसन्धान हुनुको साटो राष्ट्रपतिमा निर्वाचित हुनु बिडम्बना रहेको बताएका छन् । आधिकारिक घोषणामा राइसीले समग्रमा एक करोड ७९ लाख मत प्राप्त गरेको देखाइएको छ । कूल मतदान भएको मध्ये राइसीले झण्डै ६२ प्रतिशत मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका पूर्व कट्टरपन्थी रिभोल्युसनरी गार्डका कमान्डर मोहसेन रेजाईले ३४ लाख मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपति हस्सन रौहानीको समर्थनप्राप्त केन्द्रीय बैंकका पूर्वप्रमुख अब्दोलनास्सेर हेम्माटीले २४ लाख मत प्राप्त गरी तेस्रो स्थानमा रहे । अमिरहोसेन घाजीजादेह हाशेमीले १० लाखभन्दा कम मत प्राप्त गरेका थिए ।

मतगणनाको नतिजा सार्वजनिक गर्दै गृहमन्त्री अब्दोलरेजा रहमानी फाज्लीले बदर भएको मतको संख्या खुलाएका थिएनन् । सन् २०१७ र २०१२ मा भएका मतदानमा करिब १२ लाख मत बदर भएका थिए । इरानमा चुनावमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुगमनका लागि अनुमति दिइएको छैन ।

सिरियाका राष्ट्रपति बसार असादले राइसीलाई राष्ट्रपति पदमा निर्वाचित भएको भन्दै तत्कालै बधाई दिएका छन् । इरानका राष्ट्रपतिहरु प्रायः सबै दुई कार्यकाल पदमा रहेका छन् । इरानमा राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ ।

प्रतिक्रिया