अनलाइनमा शिशिरका चित्र

बाँके । कोरोना कहरबीच कलाकार विक्रम शिशिरको अनलाइन चित्रकला प्रदर्शनी भएको छ । कोरोनाले निम्त्याएका मानसिक, सामाजिक तथा सांस्कृतिक समस्यासँगै दिनदैनिकीका विषयलाई कलात्मक रुपमा उधिनिएका कलाकृति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीको शुभारम्भ गर्दै साहित्यकार महानन्द ढकालले कलाले मानव र समाजका विषयलाई सापेक्षित ढंगले उतार्नुपर्ने विचार व्यक्त गरे । उनले भने, ‘कोरोना महामारीका बीच कलाकार शिशिरले आफूलाई सिर्जनशील ढंगले प्रस्तुत गर्नुभएको छ । यसले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास लिन सकिन्छ ।’

साहित्यकार ढकालले शिशिरको सिर्जनात्मक योगदानको चर्चा गर्दै कला र संस्कृतिले समाजलाई उन्नत बनाउने भएकाले कला प्रदर्शनी हुनु निकै महत्वपूर्ण विषय भएको बताए । उनले कलाकारिता कर्म निकै चुनौतीपूर्ण रहे पनि संघर्ष गर्दै निरन्तरता दिनसक्नु महत्वपूर्ण पक्ष भएको विचार व्यक्त गरे । उनले थपे, ‘सबै खालका चुनौतीसँग संघर्ष गर्दै कलाकर्मलाई सफल रुपमा अगाडि बढाउनसक्नु नै शिशिरको सफलताको कारण हो ।’


४७ वटा कलाकृति राखिएको उक्त प्रदर्शनीको आयोजना नगेन आर्ट डटकमले गरेको हो । सो अवसरमा नगेन न्यूज डटकमका सञ्चालक ज्योति हमालले कलाकार शिशिरको प्रदर्शनी ३० दिनेसम्म चल्ने जानकारी दिइन् । उनले कलामार्फत मोफसलमा बसेर कलाकर्म गर्ने कलाकारलाई प्रोत्साहन र अवसर प्रदान गर्ने हेतुले अनलाइन कला प्रदर्शनी गरिएको बताइन् । यस्तै, कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी अमृतले कलामार्फत शिशिरले मानवीय संवेगलाई प्रस्तुत गरेको धारणा व्यक्त गरे । कलाकार नगेन सिंह ठकुरीले शान्ति, पर्यटन र कला प्रवद्र्धनको नाराका साथ आफूहरुले प्रदर्शनीको आयोजना गरेको बताए । उनले भने, ‘कला क्षेत्रमा लामो समय योगदान गरेका शिशिरका कलाकृतिका हामी पारखी पनि हौ । दैनिकजसो चित्र बनाउने भएकाले अब कस्तो खालको आउँछ होला भन्ने कौतुहलता हुन्छ ।’ उनले शिशिरले कोरोना कहरका बीच आफूलाई एक सिजर्नशील कलाकारको रुपमा प्रस्तुत गर्न सफल भएको जिकिर गरे ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका उपाध्यक्ष तथा कथाकार सुमित्रा न्यौपानेले संघर्षको बीचबाट उदाएका कलाकार शिशिरका चित्रले बोक्ने मानसिक, सामाजिक, सांस्कृतिक तथा प्राकृतिक विषय निकै घत लाग्दा रहेको बताइन् । उनले कलाले मानवतासँगै समाज तथा प्रकृति बोक्न सक्नुपर्ने बताउँदै उनले भनिन्, ‘कलाकार शिशिरका कलामा मानवीय संवेग र आवेगलाई अनुभूत गर्न सकिन्छ ।’ उनले प्रदर्शनीमार्फत शिशिरको मात्र नभइ सिंगो कोहलपुरको समेत चिनारी हुने भएकोमा खुसी लागेको बताइन् । कलाकार विक्रम शिशिरले आफूले कोरोना कहरका बीच बनाएका कलाकृति पनि प्रदर्शनीमा राखेको बताए ।

उनले भने, ‘यस्तो सन्त्रासका बेला कला प्रदर्शनी गर्नु निकै चुनौतीपूर्ण रहे पनि प्रविधिमार्फत सहज भएको छ । यसले कला र कलाकारलाई जागरुक बनाउन महत्वपूर्ण सहयोग पुगेको छ ।’ कलाकार शिशिरले समाज रुपान्तरणका लागि कलाको भूमिका विशिष्ट हुने भएकाले यसमार्फत सिर्जनशील कर्मलाई आफूले अगाडि बढाएको भनाइ राखे । सो कार्यक्रममा साहित्यकार केशवराज शाही निमेष, कलाकार आयुष्मा ढकाल, आश्विन कोइरालाले प्रदर्शनीको सफलताका कामना गर्दै कलाकर्मलाई निरन्तरता दिन आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण गर्दै कलाकार उषा सुवेदीले कलाले मानिसलाई सिर्जनशील बनाउन अभिप्रेरित गर्ने बताइन् ।

प्रतिक्रिया