भारतीय सेनामा नेपाली महिला भर्ती

छिमेकी मुलुक भारतले नेपाली महिलालाई आफ्नो सेनामा भर्ती खुलाएको छ । गत जेठको दोस्रो साता नेपालस्थित भारतीय दूतावासले सार्वजनिक सूचना जारी गर्दै आवश्यक योग्यता तोकेर दरखास्त आह्वान गरिसकेको छ । अनलाइनमार्फत फर्म भर्न सकिने भन्दै आगामी साउन ५ गते सम्मका लागि दरखास्त दिने म्याद तोकेको छ । एसइई पास गरेका, १७ वर्ष ६ महिनादेखि २१ वर्षसम्मका महिलाहरूले भर्ती हुन आदेवन दिनसक्ने दूतावासले जनाएको छ । त्यस्तै, महिलाको उचाइ १ सय ५२ सेन्टिमिटर हुनुपर्ने भनिएको छ । वीर नारीहरूको हकमा भने ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ । भूपू सैनिक, वीर नारी र विधवा सैनिकका छोरीहरूका लागि तौलमा दुई किलो छुट र लिखित परीक्षामा २० अंकको बोनस जोडिने दूतावासले जनाएको छ । नेपाली युवकहरू भारतीय सेनामा भर्ती हुन थालेको बेलायतको उपनिवेश हुँदादेखि नै हो । तर, युवतीहरू भर्ना गर्ने भारतको प्रयास भने पहिलो हो । आफ्नो देशको युवा जनशक्तिलाई विदेशी सेनामा पठाउन उचित हुन्छ या हुन्न ? भन्ने विषयमा लामो समयदेखि नेपालमा बहस जारी छ ।

लामो इतिहास तथा विगतदेखिकै निरन्तरता भएकोले युवकहरूलाई भर्ती हुन छुट दिइए पनि युवतीहरूलाई भने छुट दिन नहुने धारणा विज्ञहरूले राख्दै आएका छन् । यस अघि बेलायतले पनि नेपाली युवतीलाई आफ्नो सेनामा भर्ती गर्न दुईपटकसम्म प्रयास गरेको थियो, तर नेपाल सरकारले असहमति जारी गरेपछि ती दुवै प्रयास असफल भए । सन् २००७ मा बेलायतले पहिलोपटक सार्वजनिक सूचना निकाल्दै नेपाली युवतीलाई भर्ती लिने जानकारी गराएको थियो । तर, नेपालले अनुमति दिएको थिएन । त्यसपछि दोस्रोपटक बेलायत सरकारले सन् २०२० मा नेपाली युवतीलाई भर्ती लिने सूचना निकाल्यो । तर, संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाली महिलालाई बेलायती सेनामा नपठाउन निर्देशन दिएपछि दोस्रो खेपको प्रयाससमेत असफल बन्यो । अब भारतीय प्रयास के हुन्छ हेर्न बाँकी छ । भारतीय सेनाका तुलनामा बेलायती सेनामा निकै आकर्षक सेवा सुविधा छ ।

नेपाल सरकारसँग संझौता गरी सुगौली सन्धिपछि बेलायतले गोर्खा भर्ती केन्द्र स्थापना गरेको हो । भारत स्वतन्त्र भएपछि गोर्खा भर्तीका सन्दर्भमा नेपाल, भारत र बेलायतबीच त्रिपक्षीय संझौता भएको थियो । तर, त्यो संझौतामा महिलालाई भर्ती गर्ने कुरा उल्लेख छैन । संझौतामा उल्लेख नभएको कदम चाल्नु हेपाहा प्रवृत्ति भएको भन्दै नेपालका तर्फबाट अस्वीकृत गरिएको हो । त्यतिबेला बेलायतले जस्तो हेपाहा प्रवृत्ति देखाएको थियो, यतिबेला भारतले पनि त्यस्तै हेपाहा प्रवृत्ति देखाएको छ । आफ्नो जनशक्ति रोजगारीका लागि विदेश पठाउनु कुनै पनि देशका लागि रहर नभएर वाध्यता हो । बेरोजगारीको समस्या धेरै नै रहेका कारण नेपाललाई यतिबेला त्यो वाध्यता टुड्कारो छ । असुरक्षित रोजगारीमा मलेशिया तथा खाडी मुलुकहरूमा जानुभन्दा भारतीय तथा बेलायती सेनाको रोजगारी धेरै नै राम्रो हो । यसको तुलना नै हुन सक्दैन । तर, छिमेकी मुलुकले सरकारलाई जानकारी नदिई आफ्नै तजबिजमा खुरुखुरु सेनामा भर्ती गर्न खोज्नु भनेको सार्वभौमिकता माथिको अपमान हो । यसो भन्दैमा भारतको यो प्रयास सजिलै रोकिने अवस्था छैन । खुला सीमा भएका कारण युवतीहरूलाई भारतीय सेनामा भर्ती रोक्न सजिलो छैन ।

नेपाली युवती भर्ती गर्ने औपचारिक प्रयास विफल भए पनि बेलायतले अनौपरिक रूपमा यो प्रक्रिया अघि बढाइरहेको छ । विदेशमा रहने नेपाली मुलका युवतीहरूको भर्ती बेलायतले गरिरहेको छ । नेपालले आपत्ति जनाए पनि भारतले बेलायतको जस्तै प्रक्रिया अपनाउन सक्छ । त्यतिबेला आर्थिक रूपमा घाटा पर्ने भनेको नेपाललाई नै हो । त्यसैले यो मामिलामा थाहा नपाएझैं गर्ने रणनीति सरकारले अवलम्वन गरेको देखिन्छ । के गर्दा हित हुन्छ ? भन्नेतर्फ देशभित्रका सबै पक्षको छलफल जरुरी छ ।

प्रतिक्रिया