फेसबुकको कुलत कति डरलाग्दो ?

डा. बुद्धिनाथ साह ‘सन्जीत’

सामाजिक सञ्जालले रक्सी/चुरोटको प्रयोगजस्तै क्षणिक सुख दिने ‘डोपामिन हार्मोन’ जस्तै तत्व निकाल्छ । यसले हामीलाई पलभरको लागि राम्रो महसुस गराए पनि यसको असर/प्रभाव हाम्रो मानसिक, सामाजिक र शारीरिक स्वास्थ्यमा एकदमै नकारात्मक हुन्छ । सामाजिक सञ्जालका कारण निरन्तरको मोबाइल प्रयोगले पूरै शरीर थाक्ने, हात गल्ने, टाउको/घाँटी दुख्ने, आँखा दुख्ने अनि आँखाको दृष्टिमा असर पर्ने, निन्द्रा नपुगेर ऊर्जा/ध्यानमा कमी आउने आदिजस्ता नकारात्मक शारीरिक असर/प्रभाव परिरहेको हुन्छ ।

सूचना, मनोरञ्जन, ज्ञान आर्जन र साथीहरूसँग सम्पर्क कायम राख्ने सजिलो माध्यम बनेको छ सामाजिक सञ्जाज । यस हिसाबले सामाजिक सञ्जाललाई फाइदाजनक रूपमा लिनु तर्कसंगत छ । तर, सकारात्मक पक्ष सँगसँगै यसका नकारात्मक पक्षहरू पनि प्रशस्त रहेका छन् । २१औँ शताब्दीमा प्रविधिको विकास तथा ल्यापटप÷मोबाइलको प्रयोगमा जनमानसको सहज पहुँच पुगेसँगै सामाजिक सञ्जाल (फेसबुक/टिकटक/इन्स्टाग्राम/ह्वाट्सएप) का प्रयोगकर्ता अत्यधिक बढेको यथार्थ हो ।

सामाजिक सञ्जालका कारण हाम्रो जीवनयापन, पढाइ अनि मानसिक स्वास्थ्यमा नकारात्मक असर/प्रभाव परेको कुरा हामीमध्ये धेरैले महसुस गरेको हुनुपर्छ । सामाजिक सञ्जालको लत र निरन्तर प्रयोगले समय बितेको थाहै हुँदैन । जसले गर्दा समयको उचित सदुपयोग नभएर बारम्बार समस्या भोग्नुपरेका हुन्छौँ । सामाजिक सञ्जालको विकास मानव जाति वा साथीभाइलाई जोड्नका लागि भएको जस्तो देखिन्छ । तर, अहिले यस्ता सञ्जाल व्यापारिक थलोको रूपमा परिणत भएका छन् । सामाजिक सञ्जालका सञ्चालक तथा यसका सफ्टवेयर निर्माताहरू मानिसहरूलाई कसरी बढीभन्दा बढी समय यसमा अल्झाएर राख्ने भन्नेमा केन्द्रित भएका छन् । जसले गर्दा मार्क जुकरबर्गजस्ता सामाजिक सञ्जालका मालिकहरूले आफ्नो सम्पत्ति बर्सेनि बढाइरहँदा त्यसका प्रयोगकर्ताहरूमा के–कस्ता प्रगति भए भनेर केलाउन जरुरी देखिन्छ ।
सामाजिक सञ्जालका कारण ‘फियर अफ मिसिङ आउट (एफओएमओ) सिन्ड्रोम’ बाट लाखौँलाख मानिस ग्रसित भएको देखिन्छ । केही नयाँ ‘नोटिफिकेसन’ आयो कि भनेर छिनछिनमा मोबाइल चेक गर्ने, सामाजिक सञ्जाल खोल्ने जमात समाजमा व्यापक बन्दै गएको छ । पाँच मिनेटका लागि भनेर ‘लग इन’ गरेको सामाजिक सञ्जालमा अल्झेर दुई÷चार घन्टा समय फजुलमा बितेको थाहै हुन्न । त्यसपछि बल्ल त्यो समयमा गर्नुपर्ने काम, पढ्नुपर्ने किताबका पानाहरू बाँकी नै रहेको अनि महत्वपूर्ण समय अनुत्पादक काममा बितेको महसुस हुन्छ । जसले गर्दा व्यक्तिमा डर, चिन्ता, निराशा तथा दुःखी भावना बढ्न पुग्दछ ।

सामाजिक सञ्जारमा प्रायः सबैले आफ्नो सुखद् पल, सुन्दर तस्बिर (सम्पादन गरिएका) अनि राम्रा समाचारहरू मात्र पोस्ट÷सेयर गर्ने गर्दछन् । अरूले सेयर गर्ने त्यस्ता पल, तस्बिर तथा समाचारहरूसँग आफ्नो यथार्थलाई अनावश्यक तरिकाले दाँज्दै हिनताबोध गर्ने र निराश बन्ने जमात पनि ठूलो छ । आफ्ना सामाजिक सञ्जाालको स्टाटस/पोस्ट/फोटो/भिडियोमा लाइक तथा कमेन्टको तुलना अरूसँग गर्ने प्रवृत्ति बढेका छन् । जसबाट पैदा हुने असन्तुष्टि र अनावश्यक होडबाजीमा अल्झिँदै जाँदा समय, ऊर्जा, पैसा, आफ्नो व्यक्तिगत खुसी पनि गुमाउनुपर्ने विकराल अवस्था पनि हाम्रो व्यक्तिगत, पारिवारिक अनि सामाजिक यथार्थ बन्दै गएको छ । यस्तै पोस्टहरूमा लाइकको तुलनाले पार्नसक्ने नकारात्मक असर देखेर इन्स्टाग्रामले अर्काको लाइक हेर्न नमिल्ने प्रावधान राखेको कुरा सराहनीय छ ।

कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण केही महिना घरमै थन्किएर बस्नुपर्दाको अवस्थामा धेरैजसो कामकाजी व्यक्तिहरू पनि नजानिँदो तवरले सामाजिक सञ्जालको चक्रब्यूहमा फस्न पुगे । अहिले त्यसबाट बाहिर निस्किन नसकेका व्यक्तिहरू अहिले आफ्नो कार्यक्षेत्रमा राम्ररी ध्यान दिन नसकेको दुःखद् अवस्था छ । साथै, कोरोनाकै कारण स्कुल बन्द हुँदा अनलाइन क्लासको बाध्यात्मक अवस्था आएर मोबाइल/ल्यापटप चलाउँदा बालबालिका र स्कुल/कलेजका विद्यार्थीहरूसम्म सामाजिक सञ्जारलको पहुँच बढ्न पुग्यो । अहिले फेरि कक्षाकोठामै पढाइ हुन थाल्दा पनि त्यो वर्गका विद्यार्थीहरू सामाजिक सञ्जालको लतबाट बाहिर आउन नसकेका धेरै उदाहरण हामीसँग छन् ।

अहिले यस्तै घटनाहरूका कारण पनि परिवारमा अन्तद्र्वन्द्व, मनमुटाव, असमझदारी बढ्नुका साथै समाजमा विकृति बढेको देखिन्छ । फेसबुकमा अकाउन्ट (खाता) खोल्न कम्तीमा १३ वर्ष उमेरको हुनुपर्ने प्रावधान छ । तर, झुटो विवरण राखेर स्कुलका बालबालिकाहरूले पनि खाता खोलेर चलाउन थालेको डरलाग्दो यथार्थ हाम्रोसामु नै छ । यस्तो अवस्थामा हामीले एकपटक गम्भीर भएर सोच्नुपर्ने आवश्यकता देखिन्छ । बालबालिकाहरूका कलिला दिमागमा कस्तो असर/प्रभाव पर्दै होलान् ? घरमा अभिभावकहरू पनि बालबालिकाको पढाइलेखाइमा सहयोग गर्नुभन्दा बढी समय आफ्नो क्षणभरको सुखका लागि सामाजिक सञ्जालमा बिताउने गरेका छन् । अभिभावकको यस्तो गतिविधि हेरिरहने बालबालिकाले के सिक्दै होलान् अथवा के गर्न प्रेरित भइरहेका होलान् भनेर सोच्न जरुरी देखिँदैन त ?

बिहान उठेपछिको महत्वपूर्ण र ऊर्जाशील समय हामीले पहिलो कार्य मोबाइल चलाउँदै गर्दा अनावश्यक समाचार, कुराकानी, अनि फोटाहरू हेर्नुपर्ने अवस्थामा फस्दा हाम्रो ऊर्जामा नकारात्मक असर पुगिरहेको हुन्छ । जसले हाम्रो दिनचर्यालाई नै कठिन बनाइरहेको हुन्छ । राति सुत्ने बेलामा पनि हामी सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्ने गरेका हुन्छौँ । जसले गर्दा ढिलो सुत्नासाथ, निन्द्रा नलाग्ने, आवश्यक निन्द्रा राम्ररी नपुगेर भोलिपल्ट दिनभर थकित, चिन्तित, फ्रेस नभएको जस्तो महसुस गर्नुपर्ने हुनसक्छ । यसले पारिवारिक मनमुटाव, पढाइमा कमजोरी, काम गर्ने ऊर्जा र ध्यानमा कमी हुने अवस्था आउँदा आर्थिक, सामाजिक समस्या भोग्नु परिरहेको हुन्छ ।

दिनभरि पनि समयसमयमा खुद्रा समय निकाल्दै हामी त्यही सामाजिक सञ्जालकै प्रयोग जानी–नजानी गरिरहेका हुन्छौँ । यस्तो लत किन लाग्यो त ? सामाजिक सञ्जालले रक्सी÷चुरोटको प्रयोग जस्तै क्षणिक सुख दिने ‘डोपामिन हार्मोन’ जस्तै तत्व निकाल्छ । यसले हामीलाई पलभरको लागि राम्रो महसुस गराए पनि यसको असर/प्रभाव हाम्रो मानसिक, सामाजिक र शारीरिक स्वास्थ्यमा एकदमै नकारात्मक हुन्छ । सामाजिक सञ्जालका कारण निरन्तरको मोबाइल प्रयोगले पूरै शरीर थाक्ने, हात गल्ने, टाउको/घाँटी दुख्ने, आँखा दुख्ने अनि आँखाको दृष्टिमा असर पर्ने, निन्द्रा नपुगेर ऊर्जा/ध्यानमा कमी आउने आदिजस्ता नकारात्मक शारीरिक असर/प्रभाव परिरहेको हुन्छ । अनावश्यक तुलना गर्दा, दुःखलाग्दो/चिन्तालाग्दो समाचार हेरिरहँदा, हिनताबोध, नैरास्यता, एक्लोपन आदिजस्ता मानसिक स्वास्थ्यमा नकारात्मक असर/प्रभाव परिरहेको हुन्छ । यसले डिप्रेसन तथा आत्महत्यासम्मको अवस्थामा पनि पु¥याउन सक्ने जोखिम रहेको हुन्छ । अत्यधिक समय/ऊर्जा सामाजिक सञ्जालमा प्रयोग गर्ने बानी (लत) का कारण हाम्रो पढाइ, घरायसी र अफिसको कामकाजमा, सामाजिक दायित्व निर्वाहमा अनि पारिवारिक सम्बन्धमा पनि एकदमै डरलाग्दो असर÷प्रभाव परिरहेको हुन्छ । जसले घुमिफिरि फेरि हाम्रो मानसिक स्वास्थ्यमा असर पार्न थाल्छ ।
सामाजिक सञ्जालको अत्यधिक प्रयोगको लतले हाम्रो स्वास्थ्यमा पार्ने नकारात्मक असर÷प्रभावको बारेमा चर्चा गर्न खोजिएता पनि त्यसको प्रयोग नै गर्नु हुँदैन भन्ने अर्थमा यो लेख तयार पारिएको पक्कै पनि होइन । तर, हामीले आफ्नो शारीरिक÷सामाजिक÷मानसिक स्वास्थ्यमा पनि उचित ध्यान दिँदै अनि आफ्नो पढाइ, काम, सम्बन्धमा असर नपर्नेगरी मात्र सामाजिक सञ्जालको उचित र सन्तुलित प्रयोग गर्नुपर्दछ । सामाजिक सञ्जाल प्रयोगको पहुँच बालबालिकाबाट टाढा राख्ने, त्यसका निम्ति आफू पनि सही उदाहरण बन्दै जान बालबालिकासँग हुँदा मोबाइलभन्दा बढी ध्यान उनीहरूमा दिने गर्नु पर्दछ । दिनभरि बारम्बार सामाजिक सञ्जालको प्रायोग गर्नुभन्दा त्यसका लागि केही निश्चित समय छुट्ट्याउने अनि केही आवश्यक कामपश्चात मोबाइललाई आफूबाट टाढा राख्ने बानी बसाल्नु पनि जरुरी छ । सामाजिक सञ्जालको लतबाट मुक्त हुन त्यसको प्रयोग गर्ने बेला अलार्म लगाएर चलाउने, दिनको कुनै खास समयमा मात्र चलाउने, अनि बाँकी खाली समय अरू सकारात्मक तथा सिर्जनात्मक काममा अनि व्यायाम र पारिवारिक काममा बिताउने गर्नु पर्दछ । यस्तो गर्न सके मात्र पनि हामीले आफूलाई स्वस्थ, ऊर्जाशील, प्रगतिशील अनि खुसी राख्न सफल हुनेछौँ ।

प्रतिक्रिया