हेलिकोप्टर चार्टर गरी सुरक्षित स्थानमा जाँदै मनाङवासी

लमजुङ । मनाङका स्थानीय हेलिकोप्टर चार्टर गरेर सुरक्षित स्थानमा जान थालेका छन् । यही १ असारदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिराले गाउँमा सुरक्षित नभएपछि सुरक्षित स्थानमा हिँडेका हुन् । हालसम्म पनि वर्षा र जोखिम कायम रहेपछि मनाङेहरू लमजुङ, काठमाडौं, पोखरातर्फ आउन थालेका हुन् । नासो गाउँपालिका–८ ताचे ओडारका ३५ वर्षीय विष्णु घले, ३२ वर्षीय चन्द्रकाशी गुरुङ, ३१ वर्षीय सञ्जय गुरुङ, १४ वर्षीय सविना गुरुङ र सोही हेलिकोप्टरमा गोरखा सिरनचोकका २२ वर्षीय पुकार गुरुङ शनिबार मनाङबाट हेलिकोप्टर रिजर्भ गरेर लमजुङ आइपुगेका छन् ।

पुकार गुरुङ भने गत २६ जेठमा मनाङ ताचे घुम्न गएको र पहिराका कारण रोकिएर बसेका थिए । ‘मनाङ ताचेबाट हेलिकोप्टरमा हामीले प्रतिव्यक्ति २० हजारका दरले तिरेर बेँसीसहर आएका हौँ । यसरी आउनु हाम्रो रहर होइन बाध्यता हो’, घलेले भने, ‘गाउँभन्दा तल नै सुरक्षित छ, मनाङका गाउँहरूमा वारिपारि पहिरो अझै पनि गइरहेको छ । गाउँमा बिजुली लाइन छैन, वाइफाई छैन, बाटो छैन, मोबाइलमा चार्ज गर्न पाएको छैन यतिबेला त्यहाँ धेरै समस्या रहेको छ ।’

हामीमध्ये लमजुङमा कोही शिक्षक कोही विद्यार्थी रहेको र सोका लागि पनि आएको चन्द्रकाशी गुरुङले बताए । उनले भने, ‘हिँडेर आउनलाई बाटो छैन, जोखिम बढी छ, नआऔँ भने यता काम पनि गर्न पाइँदैन ।’ यसरी आउने हामी मात्र होइन गाउँका अन्य स्थानीयवासी पनि हेलिकोप्टरबाट लमजुङ काठमाडौं जान थालेको उनीहरूको भनाइ छ ।

मनाङ घर भए पनि रोजगारीलगायत विभिन्न कामले जिल्लाबाहिर बस्नेहरू यतिबेला काठमाडौं, लमजुङ हेलिकोप्टरबाट जाने क्रम जारी रहेको विष्णु घलेले बताए । उनले भने, ‘यसरी जाँदा त्यहाँभन्दा तल नै सुरक्षित हुन्छ, आफ्नो काम पनि गर्न पाउँछन् । गाउँमा हुँदा अब मर्छौं होला, हाम्रो गाउँ वरिपरि पहिरो गएको छ, पानी रोकिएको छैन, गाउँबाट कतै जानलाई पनि बाटोसमेत सबै भत्किसकेकाले डरमा थियौँ तर अब भने बाँचिन्छ खुसी लाग्यो ।’

मनाङमा जोखिम अझै पनि कायम रहेकाले आफूखुसी र पैसा भएकाहरूले निजी हेलिकोप्टरमार्फत पनि जिल्ला बाहिरका विभिन्न ठाउँमा गइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । आज पनि वर्षा भएकाले मस्र्याङ्दी नदीमा पानीको बहाव बढेर चामेबाट माथिल्लो मनाङ जाने पुलसमेत उच्च जोखिम बनाएको उनको भनाइ छ । हेलिकोप्टर लमजुङ हुँदै मनाङ आवतजावत गरिरहेको छ । यसरी आवजावत गर्दा यहाँका स्थानीयवासीको समेत सोतर्फ ध्यान केन्द्रित हुने गरेको छ ।

प्रतिक्रिया