देउराली यातायातद्वारा व्यवसायीलाई राहत

अर्घाखाँची । कोरोना महामारीका कारण प्रत्यक्ष रूपमा प्रभावित भई समस्यामा परेका यातायात व्यवसायी चालक, सहचालकलाई देउराली यातायात प्राली अर्घाखाँचीले राहत दिने भएको छ । प्रालीको बुधबार बसेको बैठकले आफ्नो समितिमा आबद्ध गाडी धनी, चालक, सहचालक र कर्मचारीलाई करिब ७३ लाख रकम वितरण गर्ने निर्णय भएको संस्थाका अध्यक्ष गोविन्द बन्जाडेले जानकारी दिए ।

अध्यक्ष बन्जाडेले भने, ‘कोरोना महामारीका कारण पटकपटकको निषेधाज्ञाका कारण यातायात क्षेत्रमा ठूलो समस्या भयो, यस विषयमा राज्यको ध्यान पुगेन, व्यवसायी र कर्मचारीको समस्यालाई मध्यनजर गर्दै राहत दिने निर्णय गरेका छौँ, राहतले थोरै भए नि सहयोग पुग्ने अपेक्षा लिएका छौँ ।’

देउराली प्रालीले प्रतिगाडी धनी ४३ हजार, कर्मचारीका लागि प्रतिकर्मचारी पाँच हजार चालकका लागी प्रतिचालक पाँच हजार, सहचालकका लागि प्रतिव्यक्ति दुई हजारका दरले वितरण गर्न लागिएको संस्थाका महासचिव प्रेम पाण्डेले जानकारी दिए । पाण्डेले भने, ‘हामीहरू ब्यवसायीका समस्याप्रति उतरदायी छौँ, अरू थप के गर्न सकिन्छ भनि निरन्तर छलफलमा पनि छौँ ।’ कोरोना माहामारीले यातायात क्षेत्रमा ठूलो समस्या उत्पन्न भएको समितिका निवर्तमान अध्यक्ष योगेन्द्र खड्काले बताए । खड्काले भने, ‘मासिक किस्ता भुक्तानी गर्न निकै कठिन छ, अब यातायात क्षेत्र तथा व्यावसायिक सुरक्षाको लागि विशेष योजना बनाउनुपर्ने देखिन्छ ।’

समितिको निर्णयले व्यवसायीहरूलाई थोरै भए पनि राहत मिलेको समितिका सदस्य तथा व्यवसायी बामदेव गैरेले बताए । गैरेले भने, ‘कोरोनाले गाडी धनीलाई क्षतविक्षत बनाएको छ, यो सानो राहतले पनि ठूलो सहयोग भएको छ, व्यवसायीहरूलाई केही उत्साह थपेको छ ।’ गत वर्ष पनि देउराली यातायात समितिले प्रतिव्यवसायी ५० हजार, चालक, सहचालक र सम्वद्ध सबै कर्मचारीलाई समेत राहत, दिनुका साथै स्थानीय तहलाईसमेत सहयोग गरेको थियो । १ सय ६० भन्दा धेरै संख्यामा बलेरो जिप, हाइस तथा मिनीबसहरू देशका विभिन्न भागहरू काठमाडांै, पोखरा, वुटबल, दाङ, नेपालगञ्ज, कृष्णनगर लगायतका ठाउँहरूमा नियमित रूपमा गाडी सञ्चालन गर्दै आएको समितिले अहिले ठप्प हुँदै व्यवसायीहरूमा ठूलो समस्या आएको बताएको छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया