कविता ‘आजभोलि’

           अग्निराज पौडेल ‘अराप’

खोई केभाको छ आजभोलि
जताततै नराम्रो मात्र देख्छु
आँखा बिग्रेका हुन की !
म ?
या गुमेको हो मानसिक सन्तुलन ?

नयाँ व्यवस्था, नयाँ संविधान
नयाँ नयाँ ठूला योजना, ठूलै बजेट
ठूलाठूला सभा सम्मेलन
बजेट अनुसारको ठेक्कापट्टा
इच्छाशक्ति भएका, मनकारी
दर्जा अनुसारका ठेकेदार
साथमा
देशी–विदेशीहरूको गतिलो भिड ।

भिडमा नियाल्छु, खोज्छु
काखीमा पुस्तक च्यापेर
तुइनमा झुन्डिएका विद्यार्थी
आँखा रसिलो पारेर खाडी हिडेका युवा
पिठ्युँमा लादेको अर्धचेत बिरामी ।
देखिएन कतै पनि !
जेलको चिसो छिँडीले बढाएको बाथ
प्रहरीले बजारेको कठबाँसको निलडाम
नमिता–सुनिता, निर्मला र
सम्झनाका पीडा र चित्कार
आमाको झुत्रो पछ्यौरी
श्रीमतीका चिरिएका पैताला
देखिएन
सुकेनास लागेको नाबालकको रुवाइ ।

जता हे¥यो उस्तै देख्छु
भुँडी सुम्सुम्याउँदै मुख मिठ्याउँदै
सुकिला पहिरनमा पुटुस्स जुम्रा,
उडुस र किर्नाजस्तै मान्छे
साथमा देख्छु
कठोर काराबास खेपेर
नाफाको जिन्दगी बाँचेका
हामीले नै जिताएका
जनप्रतिनिधि भनौं या नेता !

जे जे भने पनि
धनी उग्राइरहँदा
गरिब नटोलाओस् रित्तो थालमा
नपरोस् सामुदायिक विद्यालय
निजी क्षेत्रको ओसमा
नगुमोस् घरखेत अस्पताल धाउँदा !
नदेखियोस् अन्तर हुनेखाने र
हुदाँखानेका बीचमा
चाहेको यति नै त हो ।

घाम–जुन छर्लङ्ग देखिने छानामुनी
सँगै बसेर खाएको ढिडो र गुन्द्रुक
सुखको कल्पनामा रमाउँदै
देखेको क्षितिज पारीको मिठो सपना
जनतासामु गरेको वाचा
फगत नाटक जस्तो लाग्न थाल्छ ।
अझ बढी खरानी घसेर
वर्ग दुस्मनसँग जोडेको घाँटी
जोगीको भेषमा थपिएको अर्को लुटेरा ।

पुनः चोरलाई चावी सुम्पेको आभास हुन्छ ।
धिक्कार्न मनलाग्छ आफैलाई
झनक्क रिस उठ्छ धैर्यको बाँध फुट्छ
मुठ्ठी कसिएर आउँछ
अनि
कुटौँ कुटौँ लाग्छ सबैलाई एकैठाउँ बाँधेर ।

हो,
आलस्य ओढेका उदास अनुहारलाई
निराशाको बादल च्यातेर
हक र अधिकारका लागि लड्न सिकायौ ।
माक्र्स, लेनिन, माओ पढायौ
बिपी, पुष्पलाल चिनायौ
सपनालाई आशा,
आशालाई भरोसामा बदल्ने
लामालामा प्रवचन सुनायौं ।
राणा, पञ्च र राजाले सबै सिद्धाए भन्यौ
सामन्तवादको अवशेष रहुञ्जेल
देश बन्दैन भन्थ्यौ
विभेदरहित लोकतान्त्रिक, गणतन्त्र
अनि विधिको शासन भन्यौ ।

तिम्रा हरेक शब्दलाई मनन गर्दै
आफू घाइते भएर पनि
तिमीहरूलाई जोगाएकै हो !
गाँस काटेर खुवाएकै हो !
दुश्मनलाई छक्याएर
कति दिनसम्म लुकाएकै हो !
छोराछोरीको पढाइ शुल्क काटेर
बाटो खर्च दिए कै हो !
व्यवस्था परिवर्तनसँगै
निर्वाचित पनि त गराएकै हो ।

तर
जसका विरुद्धमा लड्न सिकायौ
बेच्यौ सपना, पसिना र भरोसा
आशाको बिस्कुनमा
भँगेराका बथान छोडेर
नोट र भोटका पछाडि
वेदनाको भारीले थिचिएका
निर्वस्त्र ढाडहरू कुल्चिँदै हिडेका
सपना र भरोसाका मलामी देख्दा
उज्यालोको खोजीमा बालेको
धिपधिपे टुकी
झ्याप्प निभेजस्तो लाग्छ
चारैतिर अँध्यारो देख्छु
जसलाई भरोसा गरियो
र्छयान चाट्दै सर्वाङ्ग
लडिबडी खेलेको देख्छु
अनि
दलौं दलौं लाग्छ कालोमोसो
यिनको अनुहारमा
थेचारौं थेचारौं लाग्छ
कठालो समाएर बिच चौराहमा ।

टाउकोमाथि मडारिएको कालो बादललाई
लाचार, विवश चुपचाप सहिरहनु ।
राष्ट्रियताको माला जप्दै बेचिएका सम्पदा
देश डुवाएर बनेका आलिसान निजी महल
हरेक वर्ष थोपरिएको
ऋणको भारी बोकेर टुलुटुलु हेरिरहनु ।
सुन्दर पहिरनमा सजिएका
बारुला र अरिगांलका निर्वस्त्र नाइकेलाई नै
निर्विकल्प मौरीको रानी मानेर
स्वागत गरिरहनु !

अति भो !
लोकतन्त्र, गणतन्त्रको आवरणमा
सामन्तवादका नयाँ अवतार
निगम पुँजीवादी दलाल
विदेशीका प्रतिनिधि गुप्तचर
स्वाधीनता, समृद्धि र
राष्ट्रियताको खोक्रो प्रवचन !

भरोसा गरेर मानेका हात्ती
जब देखिन थाल्छन्, हात्तीछाप चप्पल
जुनै जोगी आए पनि
कानै चिरिएका भनेझंै
फेरि पनि लुट र झुटलाई अँगालेको देख्दा
सपना मरेको आभास हुन्छ
सोझा सुलीमा, चोर चौतारोमा देख्छु ।
अनि
फरक छुट्याउन खोज्छु
हिजो र आज
सम्झन्छु सहिदका सपना
बेपत्ता योद्धाका अठोट
तत्कालीन राज्यसत्ताले
मचाएको नरसंहार
विगतले झक्झक्याउँछ
छाती चसक्क दुख्छ
शरीर थरथरी काप्छ
दिमाग शून्य हुन्छ
उठाउ उठाउ लाग्छ
ती बिसाएका हतियार !
दागौ दागौ लाग्छ यिनका छातीमा
पुरौं–पुरौं लाग्छ यिनलाई
एउटै खाल्डो खनेर ।

खोई केभाको छ आजभोलि
जताततै लोभी पापीको भिड मात्र देख्छु
आखा बिग्रेका हुन कि ! म ?
या गुमेको हो मानसिक सन्तुलन ?

प्रतिक्रिया