पोखरेलको कविता पहिलो

काठमाडौं । अन्तर विद्यालयस्तरीय कविता प्रतियोगितामा भ्याली भ्यु बोर्डिङ स्कुल काठमाडौंकी छात्रा समृद्धि पोखरेल पहिलो भएकी छन् । ज्येष्ठ नागरिक कोष र नेसनल प्याब्सन काठमाडौं जिल्लाको संयुक्त आयोजनामा भएको अन्तर विद्यालयस्तरीय प्रतियोगिताको बुधबार सार्वजनिक परिणामअनुसार पोखरेल पहिलो भएकी हुन् । पूर्णचण्डी बोर्डिङ स्कुल ललितपुरकी सानिया लामा दोस्रो र पिस प्वाइन्ट एकेडेमी ललितपुरका शुभम कार्की तेस्रो भएका छन् । यस्तै, कामना आवासीय माविका अर्पन सिग्देल, पिक प्वाइन्ट बोर्डिङका सारिका लिम्बू, सेन्ट जेभियर स्कुलका इभाष पोखरेल र ग्रिनफिल्ड नेसनल स्कुलका सुस्मिता सापकोटाले सान्त्वना पुरस्कार पाएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई आठ हजार, दोस्रो हुनेलाई छ हजार, तृतीय हुनेलाई चार हजार र सान्वना चार जनालाई जनही एक हजार, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले यस्ता प्रतियोगिताले बालबालिकाले ज्येष्ठ नागरिकप्रति गर्ने व्यवहारमा परिवर्तन आउने विश्वास व्यक्त गरिन् । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । कोषका अध्यक्ष वसन्तराज कार्की, नेसनल प्याब्सन काठमाडौंका अध्यक्ष खड्गबहादुर बस्नेत, नेसनल प्याब्सनका सञ्चार विभाग प्रमुख राजन श्रेष्ठ लगायतले यस किसिमका प्रतियोगिताले ज्येष्ठ नागरिकप्रति सम्मान बढ्ने र थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया