सुरुआतमै वितण्डा

मनसुनको सुरुआतमै बाढीपहिरोले मुलुकभरी वितण्डा मच्चाएको छ । बाढी तथा पहिरोले सबैजसो जिल्ला प्रभावित देखिए पनि सिन्धुपाल्चोक, मनाङ, लमजुङ लगायतका केही जिल्ला धेरै नै प्रभावित भएका छन् । धेरै ठूलो धनजनको क्षति भएको छ । थोरै भए पनि पूर्वसूचना पाएका कारण बाढीपहिरो आउनुभन्दा पहिले नै घर छाडेर सुरक्षित ठाउँमा जान भ्याएका कारण धेरै मानिसहरूको ज्यान जोगिएको छ । तर, घर, खेत, पशु चौपाया, तथा अन्न बालीको भने धेरै ठूलो क्षति भएको छ । हज्जारौं परिवार घरबारविहीन भएका छन् । सडक तथा पुल बगाएकोले उद्धार तथा राहतमा कठिनाई उत्पन्न भएको छ । मौसममा सुधार नभइसकेकाले हेलिकोप्टरद्वारा राहत तथा उद्धार हुन सकिरहेको छैन । वर्षा अझै जारी भएका कारण थप जोखिमको संभावना पनि त्यतिकै छ ।

विगतको तुलनामा यस वर्ष धेरै पानी पर्ने र मनसुनको सुरुआत पनि छिटै हुने प्रक्षेपण जन तथा मौसम विज्ञान विभागले १५ दिनअघि नै गरेको थियो । यस वर्ष बाढी तथा पहिरोको चपेटामा परी करिब १८ लाख नागरिक प्रभावित हुन सक्ने अनुमान गर्दै राहत र उद्धारका लागि पूर्व तयारीमा जुट्न जल तथा मौसम विज्ञान विभागले सरकार तथा संबन्धित निकायलाई पहिले नै सचेत गराइसकेको थियो । कुन कुन क्षेत्रमा भीषण वर्षा हुँदै छ ? भन्ने पूर्वसूचनाका आधारमा मौसम विज्ञान विभागले सर्वसाधाराण जनतालाई एसएमएस पठाएर सचेतसमेत गराएको थियो । यसपटक जन तथा मौसम विज्ञान विभागले निकै सह्राहनीय काम गरेको देखिन्छ । तर, राहत तथा उद्धारको पूर्वतयारीका लागि भने सरकारले समयमै आफ्नो संयन्त्रलाई सतर्क गराएको देखिएन । अहिले त सुरुआत मात्रै हो । मनसुनी सिजन सिंगै बाँकी छ । असोजको पहिलो सातासम्म बाढीपहिरोको खतरा नै मानिन्छ । त्यसैले बाढीपहिरोको महामारीलाई पनि कोभिडको महामारीजस्तै खतराको सूचीमा राखेर सरकारले युद्धकालीन रणनीति अपनाउनु जरुरी छ ।

यस वर्ष सुरुआती चरणमै वितण्डा मच्चिएका कारण धेरै डर त्रास उत्पन्न भएको हो । विगत केही दशकदेखि नेपालमा बाढीपहिरोले ठूलो क्षति पु¥याउँदै आएको छ । हरेक वर्ष क्षेत्र क्षतिको मात्रा बढ्दो छ । पूर्वानुमान गर्न सकिने प्रविधि बढ्दा बढ्दै पनि क्षतिको मात्रासमेत बढ्नु भनेको खतराको संकेत हो । एकातिर धनजनको क्षति बढ्दै गएको छ भने अर्कातिर राहत । उद्धार र पुनस्र्थापनाका लागि हरेक वर्ष राज्यको ढुकुटीबाट हुने खर्च पनि बढ्दै गएको छ । मुलुक थप कंगाल हुँदै जाने संकेत हो यो । यो संकटलाई कम गर्नका लागि दीर्घकालीन रणनीति अवलम्वन गर्नु जरुरी भइसकेको छ । चुरे क्षेत्र र हिमाली क्षेत्रका पहाडहरू ज्यादै कमजोर भएका कारण हाम्रो मुलुकमा बाढी तथा पहिरोले क्षति पु¥याउने गरेको हो । सुक्खा सिजनमा समेत पहिरो जाने भू–धरातल भएका चुरे तथा हिमाली क्षेत्र पहाडहरू संरक्षण गर्न विशेष रणनीतिको खाँचो छ ।

पहिलो कुरा त चुरे क्षेत्रका पहाडको फेदीदेखि कम्तिमा दुई किलोमिटर टाढासम्म छुन पनि हुँदैन । हराभरा जंगल बनाउनु पर्छ । हिमाली क्षेत्रमा सडक यातायातको सट्टा रोप वे निर्माण गर्नुपर्छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रमा यतिबेला पहिरोले मच्चाएको वितण्डाको मुख्य कारण डोजर लगाएर जथाभावी सडक निर्माण गर्नु हो । मेलम्ची खानेपानी आयोजनासँग बार्गेनिङ गरेर हेलम्बु गाउँपालिकाका बासिन्दाले हरेक घरघरमा सडक यातायात पु¥याए । तर, त्यही सडक अहिले अभिशाप बनेको हो । मनाङ र लमजुङको मात्रै होइन अधिकांश हिमाली क्षेत्रमा पहिरो जानुको मुख्य कारण भनेको भिरालो पहाड खोपेर सडक निर्माण गर्नु नै हो । महाभारत पहाडलाई टुप्पोदेखि काटेर निर्माण सामग्रीको जोहो गर्ने र हिमाली क्षेत्रमा केबुलकार तथा रोपवेको प्रबन्ध गर्नेतर्फ मुलुकका नीति निर्माताहरूले ध्यान दिनु जरुरी छ । मनसुन हाम्रा लागि वरदान हो । मनसुनलाई नसरापौं, बरु पूजा गरौं । विपत्ति निम्त्याएको हामी आफँैले हो मनसुनले होइन ।

प्रतिक्रिया