नेपाल–अमेरिका चलचित्र महोत्सव

काठमाडौं । नेपाल र अमेरिकाको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने लक्ष्य राखेर चार दिने चलचित्र महोत्सवको आयोजना हुने भएको छ । बिहीबारदेखि अमेरिकाको मेरिल्यान्ड राज्यमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुन लागेको हो । भौतिक रुपमा आयोजना हुँदै आएको महोत्सव कोरोना महामारीका कारण भर्चुअल हुने आयोजकले जनाएको छ । नेपाल र अमेरिकालगायत विश्वका १४ देशका ३० वटा चलचित्र प्रदर्शन हुने प्रेस वक्तव्यमार्फत जानकारी दिइएको छ ।

जुन १७ तारिखको साँझ भर्चुअल रुपमा महोत्सवको उद्घाटन भएर २० तारिख आइतबार समापन समारोह तथा पुरस्कार वितरण हुने जनाइएको छ । महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत निःशुल्क हेर्न सकिनेछ । प्रदर्शन भएका चलचित्रबारे दर्शक र निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने आयोजकले जानकारी दिएको छ । प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट चलचित्रलाई पुरस्कृत पनि गरिनेछ ।

चलचित्र महोत्सव २०२१ का लागि ६ जना महिलाको निर्णायक मण्डलले उत्कृष्ट चलचित्रको पुरस्कार घोषणा गर्नेछ । नेपालबाट रम्यता लिम्बू, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब जुरीको रुपमा रहेका छन् । महोत्सवमा आवेदन परेका चलचित्र छनोट समितिले छानेको हो । कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलको नेटवर्कमा कोसाफको आयोजना भएको थियो । सन् २०२१ को संस्करण भने भर्चुअल रुपमा हुँदैछ ।

प्रतिक्रिया