औषधि व्यवसायीमाथि गोली चलाएको आरोपमा तीन जना पक्राउ

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–५ का औषधि व्यवसायीमाथि गोली चलाएको आरोपमा प्रहरीले आफ्नै दाजु र भतिजोसहित तीन जनालाई पक्राउ गरेका छन् । मिर्चैया नपा–६ मुख्य चोकमै सिद्दी मेडिकल हल चलाएर बसेका ४० वर्षीय रामसागर साफीलाई पसलमै गत २२ गते गोली प्रहार गरेको आरोपमा प्रहरीले उनकै दाजु मिर्चैया–६ का ४२ वर्षीय सूर्यदेव साफी, भतिजो २३ वर्षिय रोहित साफी र गोलबजार नपा–११ बलकावाका ४५ वर्षीय मो. मुस्तकिम फकिरलाई प्रहरीले पक्राउ गरेका हुन् ।

सम्पत्तिको विवादका कारण आफ्नै दाइ सूर्यदेवले भाडाका आपराधिक समूहको प्रयोग गरी ज्यान मार्ने उद्देश्यले गोली चलाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हिराबहादुर पाण्डेले जानकारी दिए । प्रहरीले आपसी विवाद तथा आर्थिक किचलोका कारण घटना भएको बताइएको छ । प्रहरीले घटनाको हप्ता दिनभित्रै उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । उनीहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिने बताइएको छ ।

फरार रहेका अन्य व्यक्तिहरूलाई इलाका प्रहरी कार्यलाय मिर्चैयाबाट खोजतलास गर्ने कार्य तथा थप अनुसन्धान भइरहेको बताइएको छ । आपराधिक समूहले चलाएको गोली साफीको दाँया खुट्टा र हातमा लागेको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाभन्दा लगभग ५० मिटरको दुरीमा गोली चलेको थियो ।

प्रतिक्रिया