लोकल कुखुरापालनप्रति युवा आकर्षित

धनगढी । स्थानीय जातका कुखुरा लोप हुँदै गएका बेला युवाको स्थानीय जातका कुखुरापालनमा आकर्षण बढ्दै गएको छ । पहिले प्रायःजसो सबैका घरमा पाइने स्थानीय जातका कुखुरा अहिले पाउनै मुस्किल हुन्छ । बजारमा स्थानीय जातका कुखुराको माग पनि बढ्दै गएको छ । माग बढ्दै गएका बेला युवाको स्थानीय जातका कुखुरापालनमा लगाव देखिन्छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–११ घोडसुवाका ४१ वर्षीय रमेश दमाईको बिहानदेखि बेलुकासम्म कुखुराको हेरचाह र स्याहारसुसारमा नै दैनिकी बित्ने गरेको छ । उनी मात्रै होइन उनका घरपरिवारका अन्य सदस्यहरू पनि व्यस्त नै छन् । उनले एक वर्ष अघिदेखि आरएन बाख्रा तथा लोकल कुखुरा फर्म सञ्चानलमा ल्याए । उनले स्थानीय जातका कुखुरापालन गर्दै आएका छन् । पाँच सय स्थानीय जातका चल्ला राखेर कुखुरापालन सुरु गरेको उनले बताए ।

युवा उद्यमी कर्जाअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकबाट पाँच लाख कर्जा र वित्तीय संस्थाबाट दुई लाख कर्जा लिएर स्थानीय जातका कुखुरापालन व्यवसाय सुरु गरेका दमाईले पाँच सय कुखुरापालन क्षमता भएको खोर निर्माण गरेका छन् । खोर निर्माणमा २ लाख ५० हजार खर्च लागेको उनले बताए ।

उनले भने हालसम्म २ सय ५० वटा कुखुरा बिक्री भएका छन् । अहिले पाँच सय प्रतिकिलोका दरले कुखुरा बिक्री हुने गरेको उनले बताए । त्यसबाट भएको आम्दानीले बैंकको किस्ता बुझाउन र घरव्यवहार चलाउन सहज भएको छ उनले भने । मिहिनेत धेरै लाग्ने र आम्दानी पनि राम्रो हुने उनको भनाइ छ । यस व्यवसयाबाट राम्रै आम्दानी हुने भएकोले यो व्यवसाय सुरु गरेको बताउँदै उनले भने दिनभरी आफू पनि काममा व्यस्त भइने घरका अन्य सदस्य पनि व्यस्त हुने आम्दानी पनि हुने ।

बिडम्बना उनको कुखुरा बेच्ने समयमा दोस्रो लहरको कोरोना महामारीले जिल्लामा भएको निषेधाज्ञाका कारण भएको बजार बन्दले गर्दा भनेजस्तो मूल्यमा र थोकमा बेच्न पाएनन् । अझैँ २ सय ५० कुखरा बेच्न बाँकी नै छन् उनले भने सबै कुखुरा बेच्न पाए असारमा चल्ला हाल्ने योजना हो तर कुखुरा बेच्न बाँकी छन् । ‘अब त करिब अढाइ केजी जतिका भइसके दाना पनि धेरै चाहिन्छ निषेधाज्ञामा दाना पाउन पनि समस्या छ पाल्न गाह्रो भएको छ गहुँ, मकै, चामल खुवाएर पालेको छु’, उनले भने ।

अहिले नयाँ चल्ला हाल्न पाएको भए दसैंमा बिक्री गर्न हुन्थ्यो उनले भने निषेधाज्ञामा चल्ला ल्याउन र दाना पाउन पनि समस्या छ । चल्ला बाहिरबाट ल्याउनुपर्ने र समस्या हुने भएकाले उनको ह्याचरी निर्माण गरी चल्ला उत्पादन गर्ने पनि योजना रहेको छ । उनले भने बाहिरबाट चल्ला ल्याउनुभन्दा चल्ला उत्पादन गर्न पाए सहज हुन्थ्यो तर ह्याचरी निर्माणका लागि पैंसा अभाव छ । यस पेसालाई प्राथमिकता दिन सरकारले सर्वसुलभ दाना र कुखुराको चल्ला निकाल्न ह्याचरीका लागि सहयोग गर्नुपर्ने उनको भनाइ छ । युवाहरू बिदेसिनुभन्दा आफ्नै देशमा कृषि पेसा गरेर जीविकोपार्जन गर्न सकिने उनले बताए ।

प्रतिक्रिया