जापानको फराकिलो जित

टोकियो । फरवार्ड एडु ओनाइवुले को ह्याट्रिक मद्दतमा जापानले फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को छनोट खेलमा फराकिलो जित निकालेको छ । सुइटा सिटी फुटबल स्टेडियम सइटा जापानमा मंगलबार साँझ भएको खेलमा जापानले किर्गिस्तानमाथि ५–१ को फराकिलो जित निकालेको हो । जापानको फराकिलो जितमा एडु ओनाइवुले ह्याट्रिक पुरा गर्दा सो सासाकी र ताकुमा एसानोले समान एक गोल गरे । किर्गिस्तानका मिर्लान मुरजाइचले एक गोल फर्काए ।

जे लिग क्लब योकोहामा एफ मारिनोसका २५ वर्षीय फरवार्डले खेलको ३३ मिनेटभित्र नै ह्याट्रिक पुरा गरेका थिए । उनले ७ मिनेटको अन्तरमा ह्याट्रिक पुरा गरेका थिए । २७औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका एडु ओनाइवुले ३१ र ३३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । ४५औं मिनेटमा मिर्लान मुरजाइभले पेनाल्टी मार्फत गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।

त्यसपछि जापानका लागि ७३औं मिनेटमा सो सासाकी र ७७औं मिनेटमा ताकुमा एसानोले गोल गर्दै जापानलाई फराकिलो जित दिलाए । यो जितसँगै समूह ‘एफ’ मा रहेको जापानले ८ खेलबाट ८ जित निकाल्दै २४ अंक जोडेर एसियन कपको लागि छनोट हुन सफल भएको छ । दोस्रो स्थानमा रहेको ताजिकिस्तानले १३ अंक जोड्यो ।

यही समूहको अर्काे खेलमा म्यानमारलाई हराएको ताजिकिस्तानले छनोट हुने सम्भावना बलियो बनाउादा अन्य टोली किर्गिस्तान, मंगोलिया र म्यानमारले प्ले अफबाट एसियन कपको लागि छनोट खेल्नुपर्ने भएको छ । मंगलबार साँझ नै ताजिकिस्तानले म्यानमारलाई ४–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया