सडक विस्तारले स्थानीयको बिचल्ली

विकासको नाममा कसैको उठिवास हुँदा कसको पो चित्त बुझ्ला र ? महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ चकवा गाउँकी ७५ वर्षीया एकल महिला सखियादेवी यति बेला घरबारविहीन भएकी छन् । उनको वासस्थान सडक बिस्तारका नाममा डोजर लगाएर भत्काइएपछि उनी अलपत्र परेकी हुन् । घर भत्काइएको उनको पीडा र बिलौना कसैले सुनेन । उनको रोदन सुनिदिने यतिबेला कोही छैन । करिब २० वर्षअघि पति गुमाएकी र सन्तानको कोही नभएकी सखिया विपन्न हुन् । गाउँघरमा सानो तिनो मजदुरी गरेर गुजारा गर्दै आएकी सखिया अहिले आफ्नो थातथलोसमेत गुमाउनुपर्दा दिनरात रुँदै कराउँदै आफ्ना समस्या पोख्दै आएकी छन् । तर, उनको समस्या कसैले सुनेको छैन । खर र माटोले बनेको सखियाको दुईकोठे ओत लाग्ने घरसमेत भत्काइएपछि उनी १२/१५ दिनदेखि घरवासविहीन भएकी छन् । उनको घर सडक बिस्तारका क्रममा भत्काइयो, तर त्यसको विकल्प दिइएन ।

सोही स्थानमा बस्ने रामकृपाल यादव छोरा, बुहारीसहित चारै जनालाई कोरोना संक्रमण भई सबै जना घरमै आइसोलेसनमा बसिरहेका थिए । उनकोे चार कोठे कच्ची घर पनि डोजर लगाएर भत्काइयो । उनीहरूको ओत लाग्ने वास सडकमा परिणत भयो । कोरोनाका कारण समस्यामा रहेको उक्त परिवारका सबै सदस्य बिचल्लीमा परेको छ । बिरामीले थलिएका ९२ वर्षीय बुबालाई झुप्रोबाट उनी बाहिर निकाल्ने त्यहाँबाट निकाल्न बाध्य भएका छन् । देशमा निषेधाज्ञा रहेका कारण घरमा खानपानको समस्या रहेको र त्यसमाथि पनि परिवारका चार जना कोरोना संक्रमित भएको अवस्थामा आफ्नो घर भत्काइदिएको भन्दै रामकृपालले बिलौना गरेका छन् । एकातिर कोरोना संक्रमणका कारण समस्या अर्कोतर्फ वर्षाको बेला घरबारविहीन बन्दा उनको परिवार थप संकटमा परेको छ ।

त्यस्तै अवस्था स्थानीय जितेन्द्र झाको पनि छ । उनको निजी र नम्बरी जग्गाभित्र निर्माण गरेको घर र घरसँगै निर्माण गरेको पक्की शौचालयसमेत डोजर लगाएर भत्काइदिएर सडक निर्माणमा झारिदिँदा उनको सपरिवार पनि समस्यामा परेका छन् । सडक बनेर खुसी हुनुपर्ने स्थानीय घरवास नै उठ्दा घरबारविहीन बनेका कारण चिन्तामा परेका छन् । पितापुर्खाको पालादेखि नै जोतभोग गर्दै आएको सडकभन्दा निक्कैभित्र रहेको आफ्नो नम्बरी जग्गामा बनाएको घर र शौचालयमा डोजर लगाएर भत्काइएपछि घरका सबै सदस्यलाई वास र शौचालयको समस्या भएको जितेन्द्रले बताए । त्यस्तै आफ्नो निजी जग्गामा फर्निचर उद्योग सञ्चालन गरेका स्थानीय कमलेश ठाकुरको उद्योगको एकचौथाई भाग पनि सडक बिस्तारका क्रममा डोजर लगाएर सडकमा विलिन बनाइएको छ । ठाकुराले आफूले किनेको जमिन प्रमाणित गर्न अमिन ल्याएर नाप जाँच गराइदिँदा पनि नमानेको र साबिकको सडकमा पर्याप्त ठाउँ हुँदाहुँदै व्यक्तिगत जग्गामा जबर्जस्ती बल प्रयोग गरी सडक निर्माण गरेको आरोप लगाए ।

उनले साविक सडकको बीचबाट दुवैतिर समानरूपमा सडक निर्माण गर्न अनुरोध गरेको तर आफ्नो अनुरोधको बेवास्ता गरेको र आफू अल्पसंख्यक भएकै कारण हेपिएको उनले गुनासो गरे । उनका अनुसार सडक बनाउन पर्याप्तरूपमा सार्वजनिक जग्गा हुँदाहुँदै केही व्यक्तिको स्वार्थ र रिसइबीका कारणे व्यक्तिगत जग्गा हडप्ने काम भएको छ । यस्तै स्थानीय हरिओम यादवको पीडा पनि यस्तै छ । उनले साविक सडकको दुवैपट्टि अझै पनि पर्याप्त जग्गा हुँदाहुँदै व्यक्तिको जबरजस्तीले आफूजस्ता दर्जनौँ अल्पसंख्यक र निमुखा जनताले दुःख पाएको बताए । आफ्नो व्यक्तिगत सम्पत्तिमा सडक बिस्तारको नाममा पाँचदेखि १० फिटसम्म जमिन मिच्दासमेत आफूहरूको उजुरीको सुनुवाइ नभएको यादवले बताए । उनले दुःखेसो पेख्दै भने, ‘सडक बिस्तारका नाममा व्यक्तिगत जमिन मिचिएको विरोध जनाउँदा गाली बेइज्जती र कुटपिट सहनुपरको छ ।’ उनका अनुसार सडक बिस्तारका नाममा बलमिच्याइँ भएको छ ।

महोत्तरीको चकवा गाउँका स्थानीयको पीडा हो यो । चकवा गाउँदेखि छिमेकी गाउँ थरुवाहीसम्मको सडक ढलानका लागि यसरी उनीहरूका वासस्थान भत्काइएको छ । सो सडक विस्तार गर्दै पक्की ढलान गर्ने कार्यक्रम रहेकोले सडक छेउमा रहेका घरटहरा भत्काइएको छ ।
कोरोना महामारीका बेला जिल्लामा गत २२ वैशाखदेखि नै जिल्लाभरि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ र यही समय पारेर सकड विस्तार गर्ने नाममा जथाभावी कैयौँ व्यक्तिलाई घरबारविहीन बनाइएको स्थानीयको गुनासो छ । यसमा स्थानीय निकायले पीडितको गुनासोमा बेवास्ता गरेको गुनासो छ ।

उनीहरूले चकवादेखि थरुवाहीसम्मको पाँच सय मिटर बाटोमा ढलान गर्ने कार्यका लागि जिल्लाको निर्वाचन क्षेत्र नं ३ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य रानीकुमारी तिवारीको २५ लाख रुपैयाँ बजेट सहयोगमा यो सडक निर्माणको काम थालिएको हो । स्थानीय नागेन्द्र यादवको अध्यक्षतामा उपभोक्ता समिति बनाएर गाउँमा सडक विस्तार र ढलान गर्नेकार्य भइरहेको छ । सडक विस्तार र निर्माणका लागि सार्वजनिक भेला गर्नुपर्ने, सबैको सहमति र सहकार्यमा योजना बनाएर सकभर कसैको व्यक्तिगत सम्पति नष्ट नहुने हिसाबमा जानुपर्नेमा यहाँ त्यसो नगरिएको पीडितको गुनासो छ ।

निर्माणाधीन चकवा थरुवाही सडक १८ फिट कायम गरिएको र गाउँमा सो सडक आउजाउ गर्न पर्याप्त रहेको अवस्थामा जबरजस्ती सो सडक विस्तारको काम थालिएको स्थानीय रामकृपाल यादवको गुनासो छ । पीडितले सकड विस्तार नै गर्ने भए साविकको सडकको बीचबाट दुवैतिर समानरूपमा लिएर जाउभन्दा उपभोक्ता समितिले नसुनेको र एकतर्फी पूर्वपट्टिबाट मात्रै लिएर सडक निर्माण गरेको स्थानीय रामबाबु ठाकुरले बताए ।

उपभोक्ता समितिले एकतर्फी (पूर्वपट्टी मात्रै) सडक विस्तार गरेर दर्जनौँ व्यक्तिलाई घरवारविहीन बनाएको छ भने अर्कोतिर एक वर्गलाई सार्वजनिक जग्गा निजी बनाइदिएको स्थानीय कमलेश ठाकुरको आरोप छ । उता स्थानीय उपभोक्ता समितिका सचिव गणेश रायले आफू नक्साको आधारमा सडक निर्माण गर्न लागेको बताए । उनले आफूहरू समाजकै मागअनुसार यस सडकलाई १८ फिटबाट २५ फिट विस्तार गरेर बनाएको र कसैको व्यक्तिगत जग्गा अतिक्रमण नगरेको सबै सार्वजनिक जग्गा नै रहेको दावी गरेका छन् । सो बारेमा एकडारा गाउँपालिकाका अध्यक्ष रामछविला यादवले भने आफूले १७ फिटमा मात्रै ढलान गर्न र कसैको व्यक्तिगत सम्पत्तिमा क्षति नपु¥याउन निर्देशन दिएकोे बताए । यस्तै प्रदेशसभा सदस्य रानीकुमारी तिवारीले भने आफूले जनताको मागअनुसार बजेट ल्याएर दिएको र राम्रो गुणस्तरीय सडक निर्माण गर्न आग्रह गरेको बताइन् ।

प्रतिक्रिया