प्रतिनिधिसभा विघटन मुद्दाको लागि तोक्यो सर्वोच्च बारले एमीकस क्युरी

काठमाडौं । सर्वोच्च बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा माग गरिएको अदालतको सहयोगी (एमीकस क्युरी) पठाउने निर्णय गरेको छ ।

सर्वोच्च बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमीकस क्युरी पठाउने निर्णय गरेको हो ।

सर्वोच्च बार कार्यसमिति बैठकले उक्त मुद्दामा मागिएको दुई वरिष्ठ अधिवक्तामा घिमिरे र केसीलाई पठाउने निर्णय गरेको कार्यसमितिका वरिष्ठ सदस्य विकास भट्टराइले जानकारी दिए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा नेपाल बार एशोसिएसन र सर्वोच्चबार एशोसिएसनबाट दुई–दुई जना वरिष्ठ अधिवक्ता उपलब्ध गराउन आदेश दिएको थियो । सोही आदेश अनुसार सर्वोच्च बारले एमीकस क्युरीको तय गरेको हो । उक्त विवादमा यही असार ९ गतेबाट नियमित सुनुवाइ हुने तय भएको छ ।

प्रतिक्रिया