कलाकार निशा घिमिरेको उपचारार्थ बैंक खाता सञ्चालन

काठमाडौं । कलाकार निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ । दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देहरादुन गएकी उनी सडक दुर्घटनामा परि गम्भीर घाइते भएकी थिइन् । परिवारको आर्थिक अवस्था कमजोर हुँदा उपचार सम्भव नभएपछि उनको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गइरहेको छ ।

निशाको अवस्थाबारे जानकारी पाएपछि नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले समाजिक सञ्जालमा घिमिरेको तस्बीर सार्वजनिक गरेका थिए । तस्बीरमा निशाको अवस्था दर्दनाकपूर्ण देखेपछि सहयोग गर्नुपर्ने चौतर्फी आवाज उठ्यो । दाहालले राखेको तस्बीरमा नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको नजर पर्यो । चौधरीले निशालाई अस्पतालमा ल्याएर तत्काल निःशुल्क उपचार सुरु गरेकी छन् ।

अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ । निशालाई अस्पतालको उपचार पछि पनि पालनपोषण, हेरचाह र निरन्तर उपचारको जरुरत पर्ने भएकाले आर्थिक सहयोग संकलन थालिएको हो । कलाकारसँग सम्बन्धित विभिन्न संघ संस्थाले अहिले सहयोग गरिरहेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निशाको परिवारलाई रु ५१ हजार सहयोग गरेको छ ।

उनलाई अहिले देश तथा विदेसमेतबाट सहयोग जुटिरहेको छ । उपचारमा थप सहयोगका लागि नवजीवनका अध्यक्ष दाहाल, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला र निशाका बुवा प्रेमप्रसाद घिमिरेको नाममा कृषि विकास बैंकमा खाता खोलिएको छ । ‘निशा घिमिरे संरक्षण कोष’को खाता नम्बर ०२१०४०१८८३००९०१८ रहेको दाहालले जानकारी दिए । सोमबार सो खातामा रु एक लाख ९७ हजार ५५० जम्मा भएको उनले बताए ।

प्रतिक्रिया