पाण्डेको कथासंग्रह ‘जियरा’

काठमाडौं । साहित्यकार नयनराज पाण्डेद्वारा लिखित नयाँ कथा संग्रह ‘जियरा’ बजारमा आएको छ । सोमबारदेखि बजारमा आएको सो पुस्तक यसअघि चैतमै सार्वजनिक गर्ने तयारी भए पनि कोरोना कहरका कारण रोकिएको प्रकाशन गृह फाइनप्रिन्टले जनाएको छ । फाइनप्रिन्टका अनुसार पाठकलाई नयाँ फ्लेबर दिने गरी पाण्डेको नयाँ कृति ‘जियरा’ बजारमा ल्याइएको हो । निषेधाज्ञाका कारण कुनै औपचारिक कार्यक्रम नगरी पुस्तक बजार पठाइएको हो । संग्रहमा १३ वटा लामा कथा समावेश छन् । पाण्डेले पछिल्लो समयमा लेखेका यी कथामा मधेसका विविध आयाम र परिवेशलाई केलाइएको छ ।

पुस्तकका बारेमा साहित्यकार पाण्डे भन्छन्, ‘जति किताब लेखिसके पनि आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा लेखक उत्साहित नै हुन्छ, म पनि उत्साहित छु । यो उत्साहमा पाठकको प्रतिक्रिया बुझ्ने मेरो हुटहुटी पनि मिश्रित छ । मैले एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक र बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले आख्यानको एउटा बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको छु ।’

उनले अनुसार ‘जियरा’ मा रहेका कथा पढ्दा पाठक एकसाथ यथार्थ र स्वप्नमय संसारमा पुग्ने जिकिर गरे । ‘जियरा’ मा पाण्डेले आफ्नै पूर्ववर्ती लेखनपद्धति भत्काउँदै कथावाचनको पृथक र प्रयोगमूलक शैली अपनाएको प्रकाशन संस्थाले जनाएको छ । फाइनप्रिन्टका अजित बरालले जादुयी यथार्थवादी कथाहरूको मानक बनेर संग्रह आएको बताए । उनले संग्रहमा पुँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना रहेको जिकिर गरे । पुस्तकको मूल्य ४७५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया