उपाधिसँगै न्युजिल्यान्ड शीर्ष स्थानमा

लण्डन । न्युजिल्यान्डले इंग्ल्यान्डलाई दोस्रो टेष्ट खेलमा ८ विकेटले पराजित गर्दै आइसिसी विश्व टेष्ट वरियतामा शीर्ष स्थानमा उक्लिएको छ । यो जितसँगै न्युजिल्यान्डले दुई टेष्ट सिरिज १–० ले जितेको छ । जितको लागि ३८ रनको सामान्य लक्ष्य पाएको न्युजिल्यान्डले १०.५ ओभरमा पूरा गर्यो । कप्तान तथा ओपनर टम लाथम २३ रनमा अविजित रहे । डेवन कन्वे ३ र विल यंग ८ रनमा आउट भए । इंग्ल्यान्डका स्टुअर्ट ब्रोर्ड र ओली स्टोनले १–१ विकेट लिए । दोस्रो इनिङमा घरेलु टोली इंग्ल्यान्डले खराब ब्याटिङ गर्दै ४१.१ ओभरमा १ सय २२ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा ८५ रनले पछि परेको इंग्ल्यान्डले समग्रमा ३७ रनले अग्रता लिएको थियो ।

इंग्ल्यान्डका मार्कवुडले सर्वाधिक २९ रनको योगदान दिए । ओली पोप २३, ज्याक क्रली १७, ओली स्टोन १५, कप्तान जो रुट ११ रनमा आउट भए । अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेनरी र वाग्ररले ३–३ विकेट लिए । स्पिनर अजाज पटेलले र ट्रेन्ट बोल्टले २–२ विकेट लिए । पहिलो इनिङमा न्युजिल्यान्ड ११९.१ ओभरमा ३ सय ८८ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका विल यंगले २ सय ४ बलमा ११ चौका सहित सर्वाधिक सर्वाधिक ८२ रनको योगदान दिए । पहिलो खेलमा दोहोरो शतक प्रहार गरेका डेभन कन्वेले १ सय ४३ बलमा १२ चौका सहित ८० रन बनाए । अनुभवी ब्याट्सम्यान रस टेलरले १ सय ३९ बलमा ११ चौका सहित ८० रनको इनिङ खेलेपछि न्युजिल्यान्डले बलियो अग्रता लिएको थियो ।

हेनरी निकोलस २१, टम ब्लेन्डल ३४ र अजाज पटेल २० रनमा आउट भए । इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले सर्वाधिक ४ विकेट लिए । मार्कवुड र ओली स्टोनले २–२ विकेट लिए । त्यसअघि बर्मिंघममा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले पहिलो इनिङमा १ सय १ ओभरमा ३ सय ३ रनमा अल आउट भएको थियो । तल्लोक्रमका ब्याट्सम्यान ड्यानियल लरेन्स १ सय २४ बलमा १३ चौका सहित ८१ रनमा अविजित रहे । मार्कवुड ४१ रनको योगदान दिए । इंग्ल्यान्डलाई ओपनर रोरी बर्न्स र डोमिनिक सिब्लले पहिलो विकेटका लागि ३० ओभरमा ७२ रनको संयमित साझेदारी गरेका थिए । तीव्र गतिका बलर म्याट हेनरीले सिब्लेलाई ३५ रनमा टम ब्लन्डेलबाट क्याच गराउँदै पहिलो विकेटको साझेदारी तोडेका थिए ।

निल वाग्ररले ज्याक क्रलीलाई शून्यमा क्याच आउट गराए । कप्तान जो रुट पनि धेरै समय क्रिजमा विताउन सकेनन् । म्याट हेनरीले रुटलाई चार रनमा क्याच आउट गराए । इंग्ल्यान्डको इनिङ सम्हालेका रोरी बन्सलाई ट्रेन्ट बोल्टले लाथमबाट ८१ रनमा क्याच आउट गराए । रोरी बर्न्सले १ सय ८७ बल खेल्दै १० चौका प्रहार गरे । ओली पोप १९, जेम्स ब्रेसी शून्य र ओली स्टोन २० रनमा आउट भए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक ४ विकेट लिए । म्याट हेनरीले ३, अजाज पटेलले २ विकेट लिए । दुई टेष्ट सिरिज अन्तर्गत पहिलो खेल बराबरीमा सकिएको थियो । अव न्युजिल्यान्ड र भारतबीच आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल खेल आगमी शुक्रबार देखि सुरु हुने छ । न्युजिल्यान्डले भारतलाई पछि पार्दै टेष्ट वरियतामा शीर्ष स्थानमा उक्लिएको छ । भारत दोस्रो, अष्ट्रेलिया तेस्रो इंग्ल्यान्ड चौथो स्थानमा छन् ।

प्रतिक्रिया