राष्ट्र बैंकको निर्देशन : ग्रहकको चापअनुसार शाखा खोल्नु

काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा संख्या नै तोकर बैंकहरुलाई शाखा खोल्न दिएको निर्देशन खारेज गरेको छ । केन्द्रीय बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई स्वास्थ्यका मापदण्ड पालना गरी ग्राहकको चाप अनुसार शाखा खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले यसअघि जेठ १९ मा सूचना जारी गर्दै वाणिज्य बैंकले काठमाडौं उपत्यकामा ६ शाख विकास बैंकले ४ र वित्त कम्पनीले २ शाखाबाट मात्रै सेवा प्रवाह गर्न निर्देशन दिएको थियो ।

तर, अब ग्राहकको चापलाई मध्यनजर गरी शाखा खोलेर सकेसम्म कम कर्मचारीबाट बैंकिङका सेवा प्रवाह गर्न निर्देशन दिएको छ । आइतबार बसेको काठमाडौं उपत्यकाका ३ ओटै प्रमुख जिल्ला अधिकारीको बैठकले असार १ गतेबाट निषेधाज्ञालाई केही खुलुलो बनाउने निणर्य गरेको थियो । निषेधाज्ञा खुकुलो भएर गतिविधि बढ्ने भए पनि राष्ट्र बैंकले पनि बैंकहरुलाई आवश्यकता अनुसार थप शाखा खोल्ने निर्देशन दिएको हो ।

‘बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखी कार्यालयमा उपस्थित नभई सम्पादन गर्न असम्भव हुने कामका लागि मात्र कार्यालयमा कर्मचारी उपस्थित गराई बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।
कोभिड–१९ को संक्रमण जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी भएका स्थानहमा रहेका केन्द्रीय कार्यालयको हकमा एक तिहाई कर्मचारी तथा शाखा कार्यालयको हकमा सम्भव भएसम्म कम कर्मचारीको उपस्थितिमा न्यूनतम शाखाबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ ।

कर्मचारीको अनावश्यक उपस्थिति रोक्नका लागि सूचना प्रविधिको उच्चतम प्रयोग गरी ‘वर्क फ्रम होम’ तथा रिमोट एक्सिसबाट कार्य सम्पादनलाई जोड दिनसमेत राष्ट्र बैंकले निर्देशन दिएको छ । ‘ग्राहकको चापलाई समेत दृष्टिगत गरी शाखाहरु खोल्ने र यसरी शाखाहरु खोल्दा सकेसम्म न्यूनतम संख्यामा शाखाहरु सञ्चालनमा ल्याई बैकल्पिक शाखा कार्यालयबाट आलोपालो गरी सेवा प्रदान गर्दा बन्द हुने शाखा कार्यालयको मूल ढोका, संस्थाको वेबसाइट तथा समाजिक सन्जाल समेतमा सेवा सम्बन्धी सोधपूछको लागि सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने बैकल्पिक शाखा, शाखा खुला रहने समयसम्बन्धी सूचना दैनिक रुपमा प्रकाशन गनुपर्छ,’ सोमबार राष्ट्र बैंकले जारी गरेको सूचनमा उल्लेख छ । बैंकहरुलाई विद्युतीय कारोबारमा जोड दिन राष्ट्र बैंक्ले निर्देशन दिएको छ ।

प्रतिक्रिया