कांग्रेस महाधिवेशन भदौभित्रै

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले भदौभित्रै पार्टीको १४ औँ महाधिवेशन हुने बताएका छन् । कांग्रेस जिल्ला सभापतिहरुद्धारा सोमबार आयोजित ‘कांग्रेसको आसन्न १४ औँ महाधिवेशन वृहत अन्तसंवाद’ कार्यक्रमका वक्ताहरुले पार्टीले बनाएको कार्यतालिकाअनुसार नै १४ औँ महाधिवेशन सम्पन्न हुने बताएका हुन् । कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीभित्र निर्वाचन हुन्छ की हुँदैन भनेर बहसमा पुग्नु दुर्भाग्य भएको बताए । ‘१४ औँ महाधिवेशनबारे पहिल्यै कार्यतालिका बनाएर अगाडि बढेको भए अहिलेको अवस्था आउने थिएन’, उनले भने । वरिष्ठ नेता पौडेलले इतिहास, सिद्धान्त र विचार भएको कांग्रेस अरु दल फुटेमात्र सत्तामा पुग्ने अवस्था आउनु दुःखद भएको बताए ।

देशलाई नेतृत्व गर्ने पार्टीका रुपमा कांग्रेसलाई अगाडि बढाउन पार्टीलाई व्यवस्थित बनाउनु जरुरी रहेको नेता पौडेलले बताए । समयमा भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन गर्न नसक्दा पार्टी चलायमान हुन नसकेको उनको भनाइ थियो । ‘पार्टीको चुनाव गर्नुपर्छ, चुनाव वाध्यता हो, जिल्ला जिल्लामार्फत निर्वाचन गरेर महाधिवेशन सम्पन्न गरौँ, समयमा नै क्रियाशिल सदस्यता विवाद टुङ्ग्याउँ’, नेता पौडेलले भने ।

कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औँ महाधिवेशन संवैधानिक बाध्यता भएकाले भदौमा नै महाधिवेशन हुने बताए । ‘केही जिल्लाबाहेक सबै जिल्लाको क्रियाशिल सदस्यता केन्द्रीय कार्यालयमा आइपुगेकाले अब चाँडो क्रियाशिल सदस्यतालाई अन्तिम रुप दिएर महाधिवेशनमा लाग्नुपर्छ’, उनले भने ।

उपसभापति निधिले साउन ६ गतेदेखि महाधिवेशन प्रारम्भ हुने भएकाले त्यसको तयारीमा जुट्न जिल्ला सभापति र नेताहरुलाई निर्देशन दिए । संविधान र कानुनको पालनामा कांग्रेस गम्भीर रहेको उनको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीलाई थप सुधार ल्याउनका लागि १४ औँ महाधिवेशनलाई विशेष महत्वका साथ हेरिएको बताए ।
‘महाधिवेशनलाई निष्पक्ष, धाँधलीरहित बनाउनका लागि सबै नेता कार्यकर्ताको जिम्मेवारी उत्तिकै रहेको छ’, उनले भने । पार्टीभित्र सधै क्रियाशिल सदस्यतामा किन झगडा हुन्छ ? उनले प्रश्न गरे । पार्टी केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्रको क्रियाशिल सदस्यता विवाद नभएका जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढाउने र विवाद रहेका जिल्लाका सदस्यलाई १५ औँ महाधिवेशनमा भाग लिने गरी टुङ्याउनुपर्ने बताए ।
पार्टीलाई बचाउनका लागि नेता तथा कार्यकर्ता एक भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । केन्द्रीय सदस्य प्रदीप गिरिले समयमा पार्टीको १४ औँ महाधिवेशन सम्पन्न हुनुपर्ने बताए । पार्टीले आफ्नो नीति, सिद्धान्तलाई परिस्थितीअनुसार नयाँ व्याख्या गर्दै लैजानुपर्ने उनको भनाइ थियो । केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीभित्रको विधि र विधानलाई नमान्दा पार्टी अहिलेको अवस्थामा आएको बताए ।

अक्षरशः पार्टीको विधानको पालना गरिएन भने सँधै पार्टी भद्रगोल अवस्थामा पुग्ने उनको भनाइ थियो । एकदुई ठाउँको क्रियाशिल सदस्यता विवादका कारण सिङ्गो पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने नेता थापाले बताए । पूर्वमन्त्री थापाले लोकतन्त्र र संविधानको रक्षा गर्ने प्रमुख जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको बताए ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कम्युनिष्टको विकल्पका रुपमा कांग्रेसलाई उतार्नका लागि समयमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए । पार्टीभित्र विचार, सङ्गठन र नेतृत्व राम्रो हुनुपर्ने उनको भनाइ थियो । वरिष्ठ अधिवक्ताद्धय हरिहर दाहाल र यदुनाथ खनालले संविधानले कुनैपनि राजनीतिक दलको निर्वाचन पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने स्पष्ट व्यवस्था गरेकाले कांग्रेसले तोकिएकै समयमा १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए । उनीहरुले आगामी महाधिवेशनले संविधानअनुसार पार्टीको विधान बनाउनेबारे गम्भीर छलफल हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा पार्टीका काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, रोल्पाका सभापति अमरसिंह पुन, ईलामका सभापति हिमालय कर्माचार्य, धादिङका सभापति रमेशप्रसाद धमला, पूर्व सांसद प्रकाश शर्मा पौडेललगायतले पार्टीलाई चलायमान र बलियो बनाउन तोकिएको समयमा महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया