अर्थबजार

चालु खाता घाटा २ खर्ब ४७ अर्ब

सौर्य अनलाइन २०७८ जेठ ३१ गते २१:१३ मा प्रकाशित

काठमाडौ । चालु आर्थिक बर्षको १० महिने अवधिमा चालु खाता घाटा २ खर्ब ४७ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९६ अर्ब १८ करोडले घाटामा रहेको थियो । आयात क्रमशः बढ्न थालेपछि चालु खाता घाटा उच्च हुने गरेको छ । नेपाल राष्ट्र बैकले सोमबार सार्वजकि गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्वन्धी १० महिने तथ्याकंमा सो कुरा उल्लेख गरिएको छ । चालु खाता घाटाले यथार्थ समयमा मुलुकमा भित्रिएको र बाहिरिएको विदेशी मुद्राको हिसाब देखाउने हुँदा अर्थतन्त्र कति मजबुत छ भन्ने मापन गर्ने गर्छ ।

चालु खाता, पुँजी खाता र वित्तीय खाताले समग्र शोधनान्तरको स्थितिलाई प्रतिबिम्बित गर्छ । पुँजीखातामा भने वैदेशिक लगानी, विदेशी ऋण तथा अनुदान, वाणिज्य बैंकहरूले विदेशी मुद्रामा विदेशमा गरेको लगानी तथा नेपालका बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रले विदेशबाट ल्याएको ऋणसमेत समावेश हुन्छ । पुँजी खाताको दायित्व दीर्घकालीन हुनेहुँदा शोधनान्तर स्थिति बचत भएपनि दीर्घकालको दायित्व समेत त्यसमा समावेश भएको हुन्छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ११.५ प्रतिशतले वृद्धि भई १३ अर्ब ९२ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानीमा १९.२ प्रतिशतले कमी आई १४ अर्ब ८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२० अर्ब ९० करोडले बचतमा रहेको थियो भने अघिल्लो महिनामा ४२ अर्ब ५४ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ करोड ५४ लाखले बचतमा छ ।

राष्ट बैकले सार्वजनिक गरेको तथ्यांक अनुसार १० महिनामा ८ खर्ब ९ अर्ब ८९ करोड रेमिटयान्स आएको देखिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ दशमलब २ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यही अवधिमा ६ खर्ब ८० अर्ब ८४ करोड रेमिट्यान्स आएको थियो । नेपाली मुद्रामा मात्रै नभएर अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशलमव १ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधीमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले घटेको थियो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो । यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४९.० प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

कोभिडको प्रभावबीच पनि नेपालीको प्रमुख रोजगार गन्तव्यहरुको कोभिडलाई नियन्त्रण गर्दै आर्थिक गतविधि चलायमान बनाउने सफल भएको र गैरआवाशीय नेपालीले पनि कोभिडले गर्दा समस्यामा परेका आफन्तलाई रकम पठाउँदा रेमिट्यान्स बढेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । अहिले वैदेशिक रोजगारीमा गएकालाई जिन्सी सामान ल्याउन कडाई भएको छ भने कोभिडपछि वैदेशिक व्यापारमा प्रयोग हुने हुन्डी पनि बैंकिङ प्रणालीमार्फत आउन लागेकोले पनि रेमिट्यान्स बढेको आकलन गरिएको छ ।

वैशाख मसान्त सम्ममा उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत रहेको छ । २०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा घ्यू तथा तेल, मासु तथा माछा, गैर–मदिराजन्य पेय पदार्थ र सुर्तीजन्य पदार्थ उपसमुहको मूल्यवृद्धि क्रमशः २८.२० प्रतिशत, १७.१२ प्रतिशत, ९.८५ प्रतिशत र ९.८४ प्रतिशत रहेको छ ।

यो अवधिमा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मुल्यबृद्धि भएको छ । २०७७ वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ५.७१ प्रतिशत, ६.३५ प्रतिशत, ५.११ प्रतिशत र ५.१९ प्रतिशत मुद्रास्फीति रहेको थियो । यो अवधिमा थोक मुद्रास्फीति ८.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत रहेको थियो । उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.८० प्रतिशत, ८.९८ प्रतिशत र ३.६२ प्रतिशत रहेको छ । निर्माण सामग्रीको थोक मूल्यवृद्धि ८.४४ प्रतिशत रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय