मत-विमत

उत्पादन लागत बढेकोले पारासिटामोलको अभाव

मोहम्मद सफिउल्लाह २०७८ जेठ ३१ गते ७:४६ मा प्रकाशित

मोहम्मद सफिउल्लाह

कुनै फार्मेसी पसलमा सिटामोल दिनु भन्यो भने अर्कै पारासिटामोल औषधि दिन्छन् । तर सिटामोल त हाम्रो ब्रान्ड हो नि । अहिलेको जेनेरेसनले सिटामोल भनेको पारासिटामोल भन्ने बुझेका छन् भने पहिलेको जेनेरेसनले सिटामोल भनेको नेपाल औषधि लिमिटेडको उत्पादन हो भनेर बुझ्थे ।

बजारमा अहिले पारासिटामोलको अभाव भएको भन्ने विभिन्न खबर सञ्चारमाध्यममा आइरहेका छन् । तर, हामीले हेर्दा अभाव भएको भन्दा पनि अलि कमी भएको देखिन्छ । बजारको मागअनुसार पूर्ति हुन नसकेको कुरा पनि हो । तर, बजारमा कमी नै भइसक्ने अवस्था छैन । दुई÷तीन वटा फार्मेसी पसलमा जाँदाचाहिँ पाउने अवस्था छ । पारासिटामोलको माग बढेको छ । यसका पनि विभिन्न कारणहरू हुन सक्छन् । पारासिटामोल पाइएन, अभाव भयो भन्ने खबर आउने बित्तिकै धेरैले घरमा औषधि सञ्चित पनि गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय बजारमै हाल पारासिटामोलको कच्चा पदार्थको मूल्य वृद्धि भएको छ । मूल्य वृद्धि हुने बित्तिकै संस्थालाई घाटामा ल्याउँछ । पहिले हामीले २ सय ८० भारुमा पाउने मोलिक्युल अहिले साढे आठ सयभन्दा माथि छ ।

यतिबेला मिडियाद्वारा हामीलाई सबैभन्दा धेरै सोधिने प्रश्न हो, ‘नेपाल औषधि लिमिटेडले उत्पादन गर्ने सिटामोल पहिले कति खपत हुन्थ्यो र अहिले कति हुने गरेको छ ? नेपालमा सामान्यतया बर्सेनि पाँच देखि आठ करोड ट्याब्लेट पारासिटामोलको आवश्यकता पर्छ । धेरै वर्षसम्म बन्द भएको नेपाल औषधि लिमिटेडले पारासिटामोलको उत्पादन सुरु गरे पनि बनाउने क्षमता धेरै छैन । एउटा मात्र मेसिन छ । पहिले बजारमा माग पनि धेरै थिएन । यहाँ माग्न आए दिने हो, तर आपैmँले बजारमा लैजाने स्थिति भने थिएन । अहिले हामीले आफ्ना रणनीतिहरू परिवर्तन गरेका छौँ ।

अहिले हामीले सिधै प्रदेश सरकारलाई औषधि पठाउन सुरु गरेका छौँ । सिटामोल बनाउने हाम्रो क्षमता भनेको तीन दिनमा एक ब्याच अर्थात् ३ लाख २० हजार ट्याब्लेट हुन्थ्यो । अहिले तीन दिनमा दुई ब्याच अर्थात् ६ लाख २० हजार ट्याब्लेट उत्पादन गर्छौं । यो हिसाबले एक महिनामा करिब ४० लाख ट्याब्लेट सिटामोल उत्पादन हुन्छ । माग र आवश्यकताअनुसार उत्पादन बढाउन पनि सकिन्छ । विराटनगरमा अहिले सिटामोलको अभाव थियो । हामीले अर्डर भएअनुसार २० लाख ट्याब्लेट पठाइसकेका छौँ । केही बाँकी छ ।

अहिले बजारमा सिटामोलको माग अत्यधिक बढेर गयो । अहिले जति माग छ, त्यसलाई थोरै कटौती गरेका छौँ । किनभने हामीसँग जति कच्चा पदार्थ मौज्दात थियो, त्यही अनुसार उत्पादन गर्यौँ । सिटामोलको अर्को कच्चा पदार्थ नआउँदासम्म व्यवस्थापन गर्न काठमाडौं नजिक भएकालाई अलि थोरै कम गर्ने र अलि टाढा भएकालाई सिटामोल दिने गरेका छौँ । जस्तो हुम्ला र जुम्लाजस्ता जिल्लामा सिटामोल पठायौँ । सिन्धुली, जनकपुर, पोखरा पनि पठाएका छौँ ।

अहिले सिटामोल बनाउने हामीसँग एउटा मात्र मेसिन छ । तुरुन्त मेसिनको क्षमता बढाउन सक्ने स्थिति छैन । हामीले सिफ्टहरू मात्र परिवर्तन गर्ने हो । सिटामोल उत्पादनका लागि एउटा मेसिन भए पनि काफी हुन्थ्यो । तर उत्पादन गर्ने क्षमता चाहिँ मेसिनको कम भयो । यो भन्दा धेरै पावरफुल र उत्पादन क्षमता भएको मेसिन भए हामीलाई एउटाले पुग्छ । नयाँ प्रविधिको मात्र आवश्यकता हो । यो प्रक्रियामा पनि हामी गइसकेका छौँ । कुनै मेसिन हामी आफैँले खरिद गरेर हुन्छ या कुनै दातासँग मागेर हुन्छ भन्ने विषयमा हामी छलफल गरिरहेका छौँ ।

बजारमा सिटामोलको अभाव हुन नदिनका लागि सर्वप्रथम त म सबैलाई आग्रह गर्छु, अनावश्यक रूपमा औषधि किनेर नराख्नुहोस् । औषधि हो खानेकुरा होइन । चिकित्सकको परामर्शअनुसार आवश्यक भए मात्र किन्नुहोस् । हामीले जुन दुई करोड सिटामोल उत्पादन गर्ने भनेका थियौँ त्यो अनुसार १० टन कच्चा पदार्थको आवश्यक थियो । त्यसमध्ये साढे ६ टन प्रक्रियामा गइसकेको छ । एक हप्तामा थप कच्चा पदार्थ पनि आउँदैछ । बाँकी एक महिनाभित्र आउने भएकाले सिटामोलको अभाव भोलिका दिनमा हुनेजस्तो देखिँदैन । यो बाहेक अन्य विकल्प भनेको बंगलादेशबाट सिटामोलको रेडिमेड ट्याब्लेट बनाएर ल्याउन पनि सकिन्छ । हामीले सिधै हाम्रो प्याकिङ पठाइदिन्छौँ र हाम्रो नै नाममा रेडिमेट भएर औषधि आउन सक्छ । तर सरकारले यसका लागि सहजीकरण ग¥यो भने मात्र संभव छ ।

अहिलेसम्म हामीले दिएका थियौँ । हामीसँग करिब १२ लाख ट्याब्लेट सिटामोल छ । जसमध्ये ३ लाख २० हजार पोखराका लागि पठाएका छौँ । बाँकी औषधि नागरिकलाई दिन्छौँ । आउँदो हप्ता कच्चा पदार्थ आयो भने सायद अभाव नहोला । नभए दुई÷चार दिन उत्पादनमा ग्याप हुन सक्छ । कच्चा पदार्थ हामीसँग आजको दिनदेखि मौज्दातमा छैन । जति थियो हामीले बनाउने प्रक्रियामा लगिसकेका छौँ । तर, आउँदो साता हामीसँग कच्चा पदार्थ हुन्छ । डेढ टनको कच्चा पदार्थ आउन करिब आठ दिन र ६ टनको कच्चा पदार्थ आउन १५ देखि २० दिन लाग्ने भनिएको छ । एक सातामा कच्चा पदार्थ आयो भने अभाव हुँदैन ।

नेपाल औषधि लिमिटेडले हाल सिटामोल, जीवनजल, स्यानिटाइजर, ग्लिसिरिन र डिस्टिल वाटर उत्पादन गरिरहेको छ । थप १८ वटा औषधिहरू उत्पादन गर्ने योजनामा छाँै । डब्लुएचओको जिएमजीअन्तर्गत पर्ने र सरकारले निःशुल्क उपलब्ध गराउने ७० प्रकारका औषधिहरूमध्ये पहिलो चरणमा १८ वटा औषधि उत्पादन गर्ने योजनामा हो । हेमोडायलासिसका लागि प्रयोग हुने औषधि असार मसान्तसम्म बनाउने हाम्रो तयारी हो । मेसिनहरू खरिद गर्ने प्रक्रियामा छौँ । एजिथ्रोमाइसिन–२५० र ५०० एमजी ट्याब्लेट, सिप्रोफ्लोक्सासिन, फोलिक एसिड, जिंक ट्याब्लेट, अल्बेन्डाजोल, आइरन र फोलिक एसिडलगायत १८ वटा औषधिहरू उत्पादन गर्ने योजनामा छौँ । तर, यसमा औषधि व्यवस्था विभागले पनि केही सहजीकरण गर्नुपर्छ । विभागले सहजीकरण गर्दा नेपाल औषधि लिमिटेडलाई आफ्नो दायित्व पूरा गर्न सजिलो हुन्छ ।

नेपाल औषधि लिमिटेडलाई बजारमा प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत हुन एउटा बलियो योजना त चाहिन्छ । जुन हामीले बनाई पनि सकेका छौँ । पब्लिक र गभरमेन्ट प्रोमोसन दुवै चाहिन्छ । सरकारी स्तरमा हामी गइसकेका छौँ तर जनतामाझ हामी गइसकेका छैनौँ । जस्तो जीवनजल बजारमा नागरिकले माग्ने बित्तिकै हामीले दिने गरेका छौँ । अहिले हाम्रा उत्पादनहरूको प्रोमोट गर्नुपर्ने आवश्यकता छ । कुनै फार्मेसी पसलमा सिटामोल दिनुभन्यो भने अर्कै पारासिटामोल औषधि दिन्छन् । तर सिटामोल त हाम्रो ब्रान्ड हो नि । अहिलेको जेनेरेसनले सिटामोल भनेको पारासिटामोल भन्ने बुझेका छन् भने पहिलेको जेनेरेसनले सिटामोल भनेको नेपाल औषधि लिमिटेडको उत्पादन हो भनेर बुझ्थे ।

सरकारले प्राथमिकता दिनेभन्दा पनि हाम्रो व्यवस्थापनले यसलाई सरकारसमक्ष पु¥याउनुपर्ने देखिन्छ । बंगलादेश फर्मास्युटिकल्सको क्षेत्रमा भारतभन्दा २० वर्ष अगाडि छ । त्यहाँ सरकारको एउटा कम्पनी छ, इसेन्सेयल ड्रग लिमिटेड । सरकारलाई चाहिने सबै औषधि उनीहरूले उपलब्ध गराइरहेका छन् । किनभने उनीहरूको एउटा बलियो योजना छ । कुनै बेला नेपाल औषधि लिमिटेड उत्कृष्ट कम्पनीहरूमध्ये एक थियो । यहाँ थुप्रै मेसिनहरू छन्, जुन अपडेट नभएका कारण बाहिर निस्किँदै गए । तर, हामीले नयाँ मेसिन ल्याउन सकेनौँ । त्यो त सरकारले ल्याएर राखिदिने हैन नि । यहाँको व्यवस्थापनले यहाँको अवस्था सरकारसमक्ष पु¥याउनुपर्छ । मलाई लाग्छ, यस संस्थामा पहिले सही नेतृत्वको अभावमा सरकारबीच संवादको कमी भएको हुन सक्छ । नत्र यो संस्थासँग १ सय ४६ वटा उत्पादनहरू थियो । जसमध्ये टिबीको लागि उपचार हुने औषधिहरू पनि थिए । अहिले हामी पुनः त्यही अवस्थामा फर्किनका लागि तत्कालीन तथा दीर्घकालीन योजनाहरू बनाएका छौँ । (सफिउल्लाह नेपाल औषधि लिमिटेडका महाप्रबन्धक हुन् )

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय