सहयोग माग्दै स्वस्तिमा

काठमाडौं । कोरोनाका कारण लगाइएको निषेधाज्ञाले चलचित्र क्षेत्रमा काम गर्ने प्राविधिक आर्थिक समस्या पर्न थालेका छन् । चलचित्रका काम ठप्प भएपछि कलाकार तथा प्राविधिक समस्यामा पर्न थालेपछि उनीहरुका लागि आर्थिक तथा अन्य सहयोग जुट्न थालेको छ । देश विदेशमा रहेका थुप्रै कलाकारले सहयोग जुटाएका छन् भने कतिले व्यक्तिगत रुपमा समेत सहयोग गरेका छन् । यसैबीच अभिनेत्री स्वस्तिमा खड्काले पनिसहयोग जुटाउन अभियान थालेकी छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले एक भिडियो सेयर गर्दै कोरोना कहरका कारण समस्या झेल्न बाँध्य कलाकार तथा प्राविधिकलाई सक्दो सहयोग गर्न आग्रह गरेकी छन् । उनले लेखेकी छन्, ‘हामी असामान्य परिस्थितिमा छौं । यस्तो बेला सरकारको प्राथमिकतामा चलचित्र उद्योग पर्न सकेको छैन । कोरोनाको मारमा सबैभन्दा बढी मारमा चलचित्रमा काम गर्ने प्राविधिक परेका छन् ।’ उनले दैनिक छाक टार्न समेत समस्यामा रहेका प्राविधिकका बारेमा आएका खबरले आफू निकै भावुक समेत भएको उल्लेख गरेकी छन् ।

अभिनेत्री खड्काले आफूले चिनजानेका व्यक्ति र आफू आबद्ध ब्रान्डलाई समेत प्राविधिकको सहयोगका लागि अपिल गरेकी छन् । साथै उनले चलचित्र प्राविधिकको काम र पारिश्रमिकको विषयलाई समेत उठाएकी छन् । उनले लेखेकी छन्, ‘लकडाउनको समयसम्म सजिलो बनाउन सके प्राविधिकका लागि ठूलो राहत हुने थियो । यो समयमा सहयोग माग्न आफूलाई एकदमै अप्ठेरो लागेको छ । सक्नेले सहयोग गर्न आग्रह गर्दछु ।’

प्रतिक्रिया