दुई मिटर अग्ला डिफेन्डर, जो खतरा बन्न सक्छन्

कुवेत । नेपालले सन् २०१९ अक्टोबरमा अष्ट्रेलियाविरुद्ध खेल्दा अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले अघिल्लो दिन नै युवा डिफेन्डर ह्यारी सुटरले डेब्यु गर्ने जनाएका थिए । पत्रकार सम्मेलनमा स्थानीय मिडियाले पनि खेल भन्दा बढी प्रश्न सुटरको आबद्धतालाई लिएर गरेका थिए ।
स्कटल्याण्डका लागि उमेर समूहमा यू–१७ र यू–१९ बाट खेलेका सुटरको जन्म स्कटल्याण्डको एबिरडिनमा भएको थियो । आफ्नो करिअरको सुरुवात स्कटल्याण्डमा गरेपनि अष्ट्रेलियन आमा भएको कारण उनी अष्ट्रेलियाबाट खेल्न पनि पाउने थिए । उनले उमेर समूह खेलेपछि सिनियर टोलीमा अष्ट्रेलियाको प्रतिनीधित्व गर्ने निर्णय लिए ।

सन् २०१६ मा डन्डी युनाइटेडबाट उनी इंग्लिस क्लब स्टोक सिटीमा आबद्ध भए । अघिल्लो सिजनसम्म लोनमा अन्य क्लबबाट खेलिरहेका सुटरले यस सिजन भने स्टोकको सिनियर टोलीमा नै नियमित खेलिरहेका छन् । इंग्ल्यान्डको दोस्रो श्रेणीमा ३८ खेल खेलेका उनले कुल ४३ खेल क्लबका लागि खेले । डेढ वर्षअघि स्कटल्याण्डबाट अष्ट्रेलियाको राष्ट्रिय टोलीमा खेल्ने निर्णय लिएका २ मिटर अग्ला सुटरका लागि नेपालविरुद्ध डेब्यु खेल यादगार रहयो । पहिलो हाफको २३ औं मिनेटमा कर्नरमा हेडरमार्फत गोलको खाता खोलेका सुटरले दोस्रो हाफमा पनि गोल गरे । दोस्रो गोल पनि हेडरमार्फत नै सम्भव भएको थियो । उनको उचाइविरुद्ध नेपालका डिफेन्स निरिह देखिएका थिए ।

नेपालविरुद्ध डेब्यु गरेयता अहिले २२ वर्ष पुगेका सुटरले विश्वकप छनोटअन्तर्गत पछिल्लो दुवै खेलमा गोल गरेका छन् । डेब्यु गरेको ५ दिनपछि नै ताइपेइविरुद्ध भएको खेलमा उनले २ गोल गरे । उक्त खेलमा अष्ट्रेलिया ७–१ ले विजयी भयो । सोमबार कुवेतविरुद्ध ३–० को जितमा पनि सुटरले गोल गरे ।

अग्लो कदका यी डिफेन्डरले अष्ट्रेलियाको लागि नियमित खेल्दै आएका छन् । प्रशिक्षक ग्राहम आर्नोल्डले रक्षात्मक रुपमा मात्र नभएर सेट पिसमा उनको सदुपयोग उत्कृष्ट ढंगले गरेका छन् । ताइपेइ र नेपालविरुद्ध खेलको गोलले पनि त्यसलाई पुष्टि गर्छ । सुटरले राष्ट्रिय टोलीका लागि हालसम्म ३ खेल खेल्दै ५ गोल गरेका छन् । नेपालले शुक्रबार उनी सुरुवाती रोजाइमा खेलेको खण्डमा विशेष रणनीति तयार पार्नुपर्ने देखिन्छ । यसैपनि सेट पिसमा कमजोर सावित हुँदै आएको नेपालका लागि सुटर डिफेन्डर भएपनि गोलको खतरा बन्न सक्छन् ।

प्रतिक्रिया