वेस्टइन्डिजको खराब ब्याटिङ

वेष्टइन्डिज । वेस्ट इन्डिजले दक्षिण अफ्रिका विरुद्ध पहिलो टेष्ट खेलमा खराब ब्याटिङ गरेको छ । घरेलु टोली वेस्ट इन्डिजले ड्यारेन स्यामी नेशनल स्टेडियममा टस जितेर ब्याटिङ गर्दै पहिलो इनिङमा ४०.५ ओभरमा ९७ रनमा अल आउट भयो । दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्किया र लुन्गी एनगिडीको उत्कृष्ट बलिङ सामू कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । वेस्टइन्डिजका जेसन होल्डरले ४१ बलमा ३ चौका सहित सर्वाधिक २० रन जोड्न सके । ओपनर क्रेग ब्रेथवेट र शाई होपले १५–१५ रन बनाए । यी दुबै ब्याट्सम्यानलाई एनरिच नोर्कियाले बोल्ड आउट गरेका थिए । नक्रुमाह बोनरलाई कागिसो रबाडाले क्विन्टन डी ककबाट क्याच गराए ।

काइल मेयर्स र जर्मेन व्लयाकवुडलाई नोर्कियाले एक एक रनमा क्याच आउट गराएपछि वेस्ट इन्डिज धरापमा परेको थियो । त्यसपछि एनगिडीले वेस्टइन्डिजको ब्याटिङ ध्वस्त पारे । तल्लोक्रमका रहकिम कर्नवालले १३ रन बनाउन बाहेक अन्यले दोस्रो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिका एनरिच नोर्कियाले ११ ओभरमा ३ मेडन सहित ३५ रन खर्चेर ४ विकेट लिए । लुन्गी एनगिडीले १३.५ ओभरमा ७ मेडन सहित १९ रन खर्चेर ५ विकेट लिए ।

पहिलो इनिङ थालेको दक्षिण अफ्रिकाले ४३ ओभरमा ४ विकेटको क्षतिमा १ सय २८ रन बनाउँदा पहिलो दिनको खेल सकिएको छ । युवा ओपनर एडेन माक्ररम १ सय १० बलमा ७ चौका सहित ६० रन बनाउँदै क्याच आउट भए । ओपनर तथा कप्तान डिएन एल्गरले खाता खोल्न सकेनन् । किगन पिटरसन १९ र काइल भेरिने ६ रनमा आउट भए । क्विन्टन डी कक ६ र रास्सी भान डर डुसेन ३४ रनमा अविजित छन् । वेस्ट इन्डिजका युवा तीव्र गतिका बलर जयडेन सेल्सले डेब्यू खेलमै ३ विकेट लिएका छन् ।

प्रतिक्रिया