पीएसजीले वाइनाल्डम भित्र्यायो

पेरिस । क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब लिभरपुलका डच मिडफिल्डर जर्जिन्हो वाइनाल्डमलाई अनुबन्ध गर्न सफल भएको छ । पीएसजीले ३० वर्षीय मिडफिल्डरलाई ३ वर्षको लागि अनुबन्ध गर्न सफल भएको हो । पीएसजीले बार्सिलोनाले भन्दा दोब्बर पारिश्रमिक दिदै वाइनाल्डमलाई फ्रि ट्रान्सफरमा भित्र्याएको हो । उनी २०२४ को सिजनको अन्त्यसम्म क्लबमा रहनेछन् । उनको वार्षिक पारिश्रमिक करपछि ८.६ मिलियन पाउन्ड हुने बुझिएको छ ।

वाइनाल्डम अनुबन्धको लागि जर्मन च्याम्पियन बायर्न म्युनिखसँगै बार्सिलोनाले पनि चासो देखाएको थियो । पीएसजीको प्रस्तावअघि वाइनाल्डमले बार्सिलोना जान मौखिक सहमति गरिसकेको खबर सार्वजनिक भएको थियो । पीएसजीले वाइनाल्डमलाई अनुबन्धको घोषणा गरेपनि उनी यो महिनाको अन्त्यपछि मात्रै पीएसजीको आधिकारिक खेलाडी हुनेछन् । लिभरपुलमा उनको सम्झौता यो महिनासँगै सकिदैछ ।
बार्सिलोनामा अनुबन्ध नजिक पुगेका वाइनाल्डमले अन्तिम समयमा पीएसजी जाने निर्णय गरेका थिए । उनी हल्यान्डका आफ्ना पुर्वप्रशिक्षक रोनाल्ड कोम्यानसँग पुनः सँगै हुने आँकलन गरिएपनि उनले अन्तिम समयमा पीएसजी रोज्न पुगे । वाइनाल्डम ५ वर्ष लिभरपुल बसाईमा योर्गेन क्लोपको लागि मुख्य खेलाडी रहँदै आएको थिए।

वाइनाल्डमलाई अनुबन्ध नसकेपछि बार्सिलोना मेम्फिस डिपाए अनुबन्धको तयारीमा जुटेको छ । कोम्यानको नजरमा डिपाए अघिल्लो सिजनदेखि नै रहँदै आएको छ । बार्सिलोनाले यो सिजनका लागि तीन खेलाडी अनुबन्ध गरिसकेको छ । फ्रि ट्रान्सफरमा म्यानचेस्टर सिटीबाट सर्जियो अगुएरो र एरिक गार्सिया अनुबन्ध गरेको बार्सिलोनाले रियल बेटिसबाट इमर्सन रोयललाई अनुबन्ध गरिसकेको छ । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले कोम्यानको प्रशिक्षणमा पहिलो सिजन ला लिगा र च्याम्पियन्स लिग जित्न नसकेपनि उनको सम्झौता नविकरण गरेको छ ।

२०१६–१७ को सिजनमा न्यु क्यासलबाट लिभरपुल आएर पाँच सिजन बिताउँदा वाइनाल्डमले २३७ खेलमा २२ गोल गरेका छन् । उनले यो सिजन लिभरपुलबाट ५१ खेल खेल्दै ३ गोल गरेका छन् । उनले डच टोलीबाट ७४ खेलमा २२ अन्तर्राष्ट्रिय गोल गरेका छन् । वाइनाल्डमले लिभरपुलबाट समान एकपटक च्याम्पियन्स लिग, प्रिमियर लिग, युएफए सुपर कप र फिफा क्लब विश्वकप जितेका छन् ।

प्रतिक्रिया