मत-विमत

जनताको शक्ति जनतामाथि नै दुरुपयोग

सौर्य अनलाइन २०७८ जेठ २८ गते ६:२५ मा प्रकाशित

पुनम लामा

रोग र भोगले जनताको मनोदशा बिग्रदो अवस्थामा छ । सामाजिक सञ्जालमा राजनीतिक पृष्ठभूमि धुमलिएको छ । यावत परिघटनाहरूले सुधारिएको संसदीय व्यवस्था नै खराब हो भन्नेलाई सहज बनाइदिएको छ । वर्तमान ओली सरकारको अकर्मण्यता र राजनीतिक दलहरूको जनताप्रतिको उदासीनताले यो व्यवस्था ठीक होइन भन्नेहरूले हिजोको निरंकुशता लाद्ने तानाशाहहरू नै ठीक हो विगतको राजनीतक ब्यवस्था नै ठीक हो भन्नुचाहिँ ठीक होइन ।

कोरोना महामारीको दोस्रो लहर बढ्दै जाँदा मानव जीवनमै गम्भीर संकट सिर्जना भइरहेको छ । डेल्टा, बेटा नामका कोरोनाको विभिन्न प्रजातिको प्रवेशसँगै मृत्युदर र संक्रमणदर बढिरहेको अवस्थामा खोप, औषधि, उपचारको नाममा अक्सिजनको अभाव भएर बिरामी बोक्ने सवारीसाधन नपाएर मृत्युुवरण तीतो यथार्थ हामीसामु रहेको छ । कोभिड–१९ को लहरपछि दोस्रो लहर सुरू हुनु अगावै पर्याप्त समय हुँदाहुँदै पनि महामारीलाई रोक्न कुनै पहलकदमी नगरी अझै जनताको स्वास्थ्यको कुनै वास्ता नगरी सत्ता र कुर्सी बचाउनको निम्ति मात्र ध्यान केन्द्रित गर्नु, पटकपटक प्रतिनिधिसभा विघटन गर्नु, संविधानको धाराहरू आफ्नो अनुकूल व्याख्या गर्नु, खुलेआम कमिसन खोरीलाई पक्षपोषण गर्नु, समीकरणको नाममा सांसद किनबेच गर्ने, शक्ति पृथकीकरणको सिद्धान्तलाई उल्लंघन गर्न खोज्ने राजनीतिक शक्तिको चरम दुरुपयोग गर्ने, जनताको स्वास्थ सामग्रीमा भ्रष्टाचार गर्नेजस्ता वर्तमान राजनीतिक गतिविधिले जनतामा नैराश्यता छाएको छ । रोग र भोगले जनताको मनोदशा बिग्रदो अवस्थामा छ । सामाजिक सञ्जालमा राजनीतिक पृष्ठभूमि धुमलिएको छ ।

यावत परिघटनाहरूले सुधारिएको संसदीय व्यवस्था नै खराब हो भन्नेलाई सहज बनाइदिएको छ । वर्तमान ओली सरकारको अकर्मण्यता र राजनीतिक दलहरूको जनताप्रतिको उदासीनताले यो व्यवस्था ठीक होइन भन्नेहरूले हिजोको निरंकुशता लाद्ने तानाशाहहरू नै ठीक हो विगतको राजनीतिक व्यवस्था नै ठीक हो भन्नुचाहिँ ठीक होइन ।

इतिहासमा हाम्रा अधिकारहरू खोसिएका थिए । जनतालाई सामान्य शिक्षा आर्जन गर्ने, बोल्ने लेख्ने अधिकारहरूसमेत थिएन । मताधिकार र राजनीतिक अधिकारहरू संकुचित पारिएका थिए । नागरिकका सामान्य चेतनाका प्रयास र स्वतन्त्रतालाई पनि शासन विरोधीको नाममा कैद गरिन्थ्यो । फाँसीको सजाय दिइन्थ्यो । महावीर स्कुल मकैको खेतीनामक नामक पुस्तकले घटाएको मकै पर्व, आर्यसमाजको प्रचारप्रसार आदि घटनाहरू जनताको चेतनास्तरमा वृद्धि होला भन्ने हेतु राणाहरूले तितरबितर पारेका थिए । दोस्रो विश्वयुद्ध ताका लडाइँमा गएर फिर्ती भएका सैनिकहरूले स्वतन्त्रता र अधिकारका कुराहरू गर्दा नेपाली जनतालाई त्यो कुनै नौलो चराको नामजस्तै लाग्थ्यो ।

०५८ जेठ १९ गते दरबार हत्याकाण्डको दिन कहीँ कतैबाट नेपाली जनताले पूर्ण र स्पष्ट खबरहरू पाएनन् । जताततै हल्ला फिजिएका थिए । विदेशसम्म आफन्त हुनेले खबर पाएका थिए । सूचना प्रविधिहरू सबै बन्द थियो । टेलिभिजन र रेडियोमा केबल बैराग्य धुन मात्र एकोहोरो ‘ट्वा’ बजिरहेको थियो । आफ्नो देशको अविभावक राजारानीले मृत्युवरण गर्दासम्म नेपाली जनाताले ‘ट्वा’ गरेर बजिरहेको धुन सुन्नेबाहेक अरू खबर पाउने अधिकार नै पाएनन् । अझै पनि यो कानले त्यो धुन बिर्सिएको छैन । यो थियो हाम्रो अविष्मरणीय विगत ।

२००७, ०४६, ०६२÷६३ सालका जनआन्दोलनहरू निरंकुशताविरुद्ध गरिएका ऐतिहासिक आन्दोलनका रूपमा दर्ज भएको छ । यो हो हामीले भुल्न नहुने बिगतहरू । स्वतन्त्रता र समानताका निम्ति, हरण गरिएका हाम्रा अधिकारका निम्ति हामी सडकमा सागरझँै उर्लिएका थियौँ । क्रान्तिको बिगुल फुकेका थियौँ तर आज आएर हामीले पाएका अधिकारको दुरुपयोग भयो भनेर हिजोकै दिनको प्रशंशा गर्नु मुर्खताबाहेक केही होइन । केही राजनीतिक पात्रहरूका सत्ता लिप्सा, उदन्डता र दन्डहीनताले मात्र यो व्यवस्थालाई कारकतत्वको रूपमा व्याख्या गर्न मिल्दैन । बिगतका निरंकुशतालाई फ्याल्न व्यवस्था नै फाल्नुपर्ने थियो किनकी निरंकुश प्रबृत्ति र उनीहरूको व्यवस्थाले उनीहरूसम्म पुग्ने र ती खलपात्रलाई फाल्न सक्ने कुनै धाराहरू पनि संविधान थिएन । अतः त्यस्तो शासन प्रणाली हटाउनका निम्ति संविधान नै परिवर्तन गर्नुपर्ने आवश्यक थियो । वर्तमान अवस्थामा भने व्यवस्था होइन पात्र फालिनु आबश्यक छ र ०७२ सालको नेपालको संविधानमा पनि व्यवस्था गरिएको छ ।

अहिलेको संसदीय शासन व्यवस्थाको शक्ति भनेकै जनताको मत हो । जनताको मत नै ब्रह्मास्त्र हो । तत्कालीन समयमा नेकपा गठबन्धनले झुठमुठको खेती गरी विकासका सपनाहरू बाँडेर स्थायी सरकारको आश्वासन दिई जनतासँग यो ब्रह्मास्त्र प्राप्त गरे । त्यसैले जनताको शक्ति नै यो व्यवस्थाको शक्ति हो । पौराणिक कालमा दानवहरूले ब्रह्मास्त्र प्राप्त गरी देवताहरूमाथि नै अत्याचार गरे जस्तै ओली सरकारले जनताको शक्ति पाएर जनतामाथि नै दुरुपयोग गरेका छन् ।

सही पात्र र प्रवृत्तिले जनताको शक्ति पाएमा देशको उज्ज्वल भविष्य निर्माण गर्न सक्छ भने कुपात्रले शक्ति पाएमा दुरुपयोग गर्छ । त्यसैले कुपात्रलाई सत्तामा पुर्याउँदा केही दुःखको भागिदार हुनु स्वभाविक हो । तर त्यस्तो कुपात्रलाई फेरि सत्तामा आउन नदिन जनताले निर्वाचनमा मत नदिएर जरैबाट उखेल्न सक्छन् । यसरी जनताले आफ्नो शक्तिको बारबार प्रयोग सिद्द गर्न सक्छन् । त्यसैले यस्तो शासन ब्यवस्था कदापि गलत हुन सक्दैन ।

प्रतिनिधिसभालाई भंग गर्दागर्दै पनि सर्वोच्चबाट पुनःस्थापना हुनुले यो संसदीय व्यवस्था सहयोगी होइन केपी ओलीलाई घाँडो भएको छ । संवैधानिक नियम विपरीत बनाएका मन्त्रीहरूको खारेजीले ससंदीय व्यवस्था गलत होइन त्यस्ता नेतालाई बोझ भइरहेको छ । आफ्ना राजनीतिक स्वार्थ पूर्ति गर्न लगाएका तिकडम जति ढाकछोप गर्दा पनि उदांग भएको छ । कोरोना बिरामीको मञ्चन गर्नुपरेको छ । अत ती तमाम दुष्प्रयासहरूलाई यो व्यवस्था खराब लागिरहेको छ । यदि अहिलेको संसदीय व्यवस्थामा ओलीको पदमा जंगबहादुर राणालाई राख्ने हो भने, ओलीले गरेजस्तै संसद् विघटन जंगबहादुरले गर्ने हो भने पनि त्यो सर्वोच्चको ढोकाबाट फिर्ती हुन्थ्यो । किनकी ओलीको निरंकुश कदमलाई न्यायालय ले बिफल बनाइदिएको हो । अत तत्कालीन समयमा जहानियाँ राणा शासनको व्यवस्थाले जंगबहादुर राणाको निरंकुशतालाई सफल बनाइदिएका हुन त्यसरी नै ओली सरकारलाई जहानियाँ राणाशासनको प्रधानमन्त्रीहरू अनि पञ्चायती व्यवस्थाका राजा बनाइदिने हो भने ओलीले गरेका अहिलेका सारा निर्णयहरू हुकुम भई लागू हुने थियो । त्यसैले शासन व्यवस्था सही हुनुपर्छ जनताप्रती उत्तरदायी र कानुन शासन हुनुपर्छ । निरंकुश चेष्ठाहरू पतन भई भुइँमा झर्नेछ ।

इतिहासमा निरंकुश प्रवृत्ती त बारम्बार जन्मियो आज पनि जन्मियो, भोलि पनि नजन्मिएला भन्न सकिन्न त्यसलाई अंकुश लगाउने अधिकार हिजो कसैसँग थिएन तर आज त्यस्तो निरंकुशतालाई अंकुश लगाउने व्यवस्था हामीले पाएका छौँ । जनतामा निहित यस्तो अधिकार हिजो हामीसँग नहँुदा धेरै क्षतिहरू भोग्नुपरेको थियो । हजारौँ सहिदहरूले बलिदानी दिएका थिए । लाखौँ जनताहरू घरबारबिहीन भएका छन् । युद्धका चपेटामा परेर कैयौँ नागरिकहरू अंगभंग भएका छन् । विकासका गतिहरू रोकिएका छन् । आन्दोलनका डोबहरू अझै आलै छन् । फेरि एकपल्ट यस्तो विध्वंस सहन सक्ने हैसियत नेपाल आमासँग छैन । विकासका निम्ति आर्थिक, सामाजिक सांस्कृतिक क्रान्ति गर्न आवश्यक छ ।
अन्योल भविष्य उदासीन मन उत्पादनविहीन समय नक्कली ऊर्जाले परिणाम नपाएका आफ्नो जीवन वास्तविक खलनायक चिन्न नसकेका आफ्नो कुभलो हुने हजाराँै परिस्थिति र खाडलहरू आफैँ खनिरहेका छौँ ।

क्रान्तिले छिटो परिणाम ल्याउँछ भनेर क्रान्तिलाई नै एकमात्र बिकल्प ठान्न हुन्न । क्रान्ति सही बखत पहिलाएर मात्र होमिनुपर्छ । यद्यपि युवा विद्रोहको मिसायल हो । विचार र कर्मको अग्रगामी नेतृत्व हो । सकारात्मक ऊर्जाको भबिष्यतिर उन्मुख नतिजामुखी परिणाम हो । सामाजिक विकास र परिवर्तनको मुहान हो । अतः युवाले भ्रमको पछि लागेर होइन घटना र सत्यतथ्यको संयोजन गरेर भ्रमको जालोलाई फाट्न सक्नुपर्छ । आफू र समाजलाई उम्काउन सक्ने सामथ्र्य राख्नुपर्छ ।

विगतमा केही अभिष्ठहरू पूरा नभएकाहरूले सुधारिएको संसदीय व्यवस्थामाथि प्रहार गरिरहेको छ यसको हेक्का राख्नुपर्छ । वर्तमान राजनीति वृत्तमा राजनीतिक नैराश्यता मात्र होइन न्यायालयको प्रतिरक्षात्मक भूमिका, लोकतन्त्रको संवैधानिक अभ्यास, विधि विधान विपरीत जाँदाका कठिनता र विफलताका अवस्थाहरू हेर्न देख्न र बहस गर्न पाइरहेका छौँ । यी सबै कुरालाई विशेष गरी हामी युवाहरूले उपलब्धिको रूपमा पनि लिनुपर्छ । राज्यले युवाबाट नै परिवर्तनको अपेक्षा गरेको हुन्छ । परिवर्तन र विकाश युवाबाटै सम्भब छ । युवाले समयअनुकूल आपूmलाई प्रष्टाउनुपर्छ । विकासको युगमा विकासको कुरा गर्नुपर्छ । विधिविधान घेराभित्र रहनुपर्छ । शैक्षिक क्रान्तिबाट देशको आर्थिक, सामजिक भौगोलिक, राजनीतिक विकास गर्नुपर्छ । विश्वविद्यालयको शिक्षालाई राज्यको उत्पादनसँग जोड्नुपर्छ । हाम्रो पालामा ल्याएका आयोजनाहरू हाम्रै पालामा उपभोग गर्न पाउनुपर्छ । युवा श्रम र समय राज्यको सम्पत्ति हो समाज विकासको सूचक हो । अतः कुनै राजनीतिक नेताको झोले कर्यकर्ता भएर होइन विचारको राजनीति गरेर आफ्नो युगको नेतृत्व आफैँ गर्नुपर्छ ।

(लेखक : नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवं युवा सजगता अभियान वागमती प्रदेशका संयोजक हुन्)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय